तोकिएको मितिमा चुनाव हुनेमा कुनै द्विविधा छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

निर्वाचनको विकल्प निर्वाचन नै हो भन्दै उनले अब नयाँ जनप्रतिनिधि संसद्‌मा पठाउन सबैलाई जुट्न आग्रह गरे ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

There is no doubt that the election will be held on the scheduled date: Acting Chief Election Commissioner Bhandari

काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचनको तयारीमा धेरै अगाडि बढिसकेको र तोकिएको मितिमा चुनाव हुनेमा कुनै द्विविधा नरहेको बताएका छन् ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन हुँदैन कि भन्ने आशंका नपाल्न आग्रह गरेका छन् । 'निर्वाचन हुन्छ कि हुँदैन यो बहसबाट आयोग अगाडि बढिसक्यो । निर्वाचन हुँदैन भन्ने शब्द हाम्रो डिक्सनरीबाट हटिसक्यो । चुनाव हुन्छ,' उनले भने, 'आयोग निष्ठा र अठोटका साथ अघि बढेको छ । धेरै तयारी गरिसक्यौं ।'

कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ नभनेकाले धेरैको सहभागितामा चुनाव हुने उनले उल्लेख गरे ।

निर्वाचनको विकल्प निर्वाचन नै हो भन्दै उनले अब नयाँ जनप्रतिनिधि संसद्‌मा पठाउन सबैलाई जुट्न आग्रह गरे । निर्वाचनको कार्यतालिकामा कुनै हेरफेरसमेत नहुने उनले बताए । १३ र १४ पुसमा दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाउनुपर्ने उनले बताए ।

निर्वाचन आयोग कुनैपनि विषयमा कठोर नभएको तर २१ फागुनको चुनाव प्रभावित हुनेगरी कुनै कार्य नगर्ने उनले बताए । त्यही भएर चुनावको कार्यलिका हेरफेर नहुने उनले बताए ।

कान्तिपुर

Link copied successfully