प्रभु बैंकका सीईओ शेरचन हाजिरी जमानतमा छुटे

सरकारी वकिलले आवश्यक प्रमाण नपुगेको भन्दै शेरचनलाई हिरासतमा नराख्न आदेश दिएपछि सीआईबीले उनलाई छुटाएको पुष्टि गरेको छ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Prabhu Bank CEO Sherchan released on bail

काठमाडौँ — प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा छुटेका छन् । इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखाउँदै छाड्ने निर्णय सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको हो ।

सरकारी वकिलको निर्णयपछि शेरचन हिरासतमुक्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले बताए । उनले भने, ‘हामीले बयानसहितका काम अझै बाँकी रहेकाले म्याद थप गर्नका लागि लगेका थियौँ, तर सरकारी वकिलको निर्णयपछि उहाँ छुट्नु भएको छ ।’

विशेष सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख मोहनकुमार बस्यालले अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएको बताए । ‘अहिलेलाई ती प्रमाणहरू प्राप्त नभएकाले बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने देखियो,’ उनले भने, ‘स्वास्थ्यसम्बन्धी कारण समेत भएकाले म्याद थप गर्न नपठाइएको हो ।’

शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले १४ मंसिरमा विजुलीबजारस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully