‘म्यारिज ब्युरो’ सञ्चालन गर्ने चिनियाँ नागरिक पक्राउ

वैवाहिक भिसामा नेपालमा बस्दै आएका उनले काठमाडौंका विभिन्न स्थानमा 'म्यारिज ब्युरो' खोलेर नेपाली महिलालाई चीन पठाउने गरेकोसमेत अनुसन्धानबाट खुलेको छ ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Chinese national arrested for running 'marriage bureau'

काठमाडौँ — काठमाडौंमा घर भाडामा लिएर म्यारिज ब्युरो खोल्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अध्यागन विभागले चिनियाँ नागरिक चिहाओ लिउलाई शुक्रबार महाराजगन्जको एक घरबाट पक्राउ गरेको हो ।

वैवाहिक भिसामा नेपालमा बस्दै आएका उनले काठमाडौंका विभिन्न स्थानमा 'म्यारिज ब्युरो' खोलेर नेपाली महिलालाई चीन पठाउने गरेको समेत अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका लिउले नेपाली महिलालाई चिनियाँ नागरिकसँग विवाह गराउने गरेको समेत खुलेको छ । 

नेपाली महिलाबाट रकम असुलेर चिनियाँसँग विवाह गराइदिने र त्यसका लागि ठूलो सञ्जाल काठमाडौंमा बिस्तार गर्ने काममा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अध्यागन विभागका निर्देशन टीकाराम ढकालले पक्राउ परेका चिनियाँ नागरिकमाथि अनुसन्धान भइरहेको बताए ।

यसअघि गत कात्तिक २८ मा पनि विभागले सोह्रखुट्टेको एक घरमा छापा मारी चार चिनियाँ नागरिकहरु–  रुइजेङ अलान वाङ, लिउ युफान, रुई सियाओ र चाय यान बोलाई पक्राउ गरेको थियो। म्यारिज ब्युरो सञ्चालनमा संलग्न उनीहरुलाई विभागले नै जनही ५० हजार रुपैयाँ जरिवाना असुल गरी ३ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको थियो

कान्तिपुर

Link copied successfully