सेलिब्रिटी र जनप्रतिनिधिको नाममा 'स्क्याम' : आफन्त ठगिँदै, पैसा फिर्ता पाउनै कठिन

कलाकार, इन्फ्लुएन्सर र सर्वसाधारणको नाम/फोटो दुरुपयोग गरी नजिकका व्यक्तिलाई फसाउने ठगहरूको सक्रियता बढ्दो छ ।

पुस ११, २०८२

समर्पण श्री

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money back

What you should know

काठमाडौँ — पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ गत मंसिर २५ गते कलेजमा विद्यार्थीहरूलाई पढाइरहेकी थिइन् । अचानक उनको नम्बरमा एक नातेदार दाइको फोन आयो । 

कलब्याक गर्नासाथ दाइले सोधिहाले, ‘अनि कुन हस्पिटलमा हो त ?’ उनले बुझिनन् । 

प्रतिप्रश्न गरिन्, ‘के कुन हस्पिटल दाइ ?’ 

‘ममी हस्पिटलाइज्ड भएको भनेको होइन ?’ दाइको यो कुराले सदीक्षा चकित भइन् । उनले ‘होइन’ भनिन् । दाइले अनौठो मान्दै भने, ‘तिमीले मलाई भाइबरमा त्यही टेक्स्ट गरेकी थियौ त, मैले ३० हजार पठाएको थिएँ नि ।’ 

सुरुमा त सदीक्षाले मेसो नै पाइनन् । किनकि उनले ती दाइसँग कहिल्यै भाइबरमा कुरा गरेकी थिइनन् । फोन कि ह्वाट्सएपमा बोल्थिन् । 

‘मलाई स्क्रिनसट पठाउनु त,’ सदीक्षाले मागिन् । 

उताबाट आएको स्क्रिनसट देखेर उनी छाँगाबाट खसेझैं भइन् । भाइबरमा उनको नाम र फोटो राखेर अपरिचित नम्बरबाट दाइसँग पैसा मागिएको रहेछ । ‘उहाँलाई आमा हस्पिटलमा हुनुहुन्छ भन्दै अत्याएर पैसा पठाउन लगाइएछ । दाइले आत्तिँदै ३० हजार पठाउनुभएछ । केही समयपछि मलाई खासमा ५० हजारै चाहिएको हो, थप २० हजार पनि पठाइदिनु न भनेपछि उहाँले मलाई फोन गर्नुभएछ,’ सदीक्षा घटनाको बेलीविस्तार लगाउँछिन् । 

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money backपछिल्लो समय सर्वसाधारण मात्र होइन, कलाकार तथा सेलिब्रिटीहरूको नाम र फोटो प्रयोग गरेर ठगी गर्ने क्रम बढिरहेको छ । उनीहरूले सामाजिक सञ्जालमार्फत स्क्रिनसट सेयर गर्दै 'स्क्याम' बढिरहेको जानकारी गराइरहेका छन् ।

अब त जनप्रतिनिधिसमेत ठगीको निसानामा पर्न थालेका छन् । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको तस्बिर र नाम दुरुपयोग पैसा मागेको उनैले सार्वजनिक गरेकी छन् ।

सुनिताको नाम र तस्बिर प्रयोग गरिएको ह्वाट्सएप आईडी (९७००४४५३७५) बाट उनको चिनजानका व्यक्तिलाई पटकपटक मेसेज र फोन गरेर स्क्यामरले पैसा मागेका थिए । आफू भ्याली बाहिर भएकाले पैसा पठाउन उक्त आईडीबाट आग्रह आउँछ । तर सुनिताका चिनजानका व्यक्तिले यो स्क्याम हो भन्ने थाहा पाइसकेका हुन्छन् । उनले बरु उल्टै सोध्छन्, ‘साइबर क्राइम भनेको थाहा छ कि छैन तपाईंलाई ?’

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money back

साइबर ब्युरोका अधिकारी भन्छन्- '१० प्रतिशत अपराधी मात्रै समातिने सम्भावना हुन्छ, बाँकी ९० प्रतिशत समातिन कठिन छ ।'यो घटनापछि उपमेयर सुनिताले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई सचेत रहन आग्रह गरेकी छन् । ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन । कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस्,’ उनले आग्रह गरेकी छन् । 'यस विषयमा मैले कानुनी प्रक्रिया अघि बढाइसकेको छु र नेपाल प्रहरी तथा सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको छु,' उनले उल्लेख गरेकी छन् ।

मंगलबार मात्रै अभिनेत्री स्वस्तिमा खड्काले पनि सामाजिक सञ्जाल फेसबुकमा स्क्रिनसट सेयर गर्दै लेखिन्, ‘सावधान...! मेरो नामको दुरुपयोग गर्दै नजिकका साथीहरूलाई ह्वाट्सएप, भाइबरमा पैसा माग्दै गरेको भेटिएको हुनाले त्यस्ता म्यासेजहरूमा नझुक्किनुहुन सबैमा जानकारी गराउन चाहन्छु ।’ 

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money backउनको नाम र फोटो प्रयोग गरिएको भाइबरबाट स्वस्तिमाका साथीलाई आफू सुटिङको क्रममा बाहिर भएको भन्दै ३० हजार हालिदिन आग्रह गरिएको थियो । तर स्वस्तिमाको साथी स्क्यामका बारेमा सचेत भएका कारण पठाएनन् । त्यसपछि स्वस्तिमालाई ती साथीले स्क्रिनसटचाहिँ पठाए । ‘मलाई यसअघि नै धेरै साथीले यो ठगी धन्दाबारे भनिसकेका थिए । म त प्रिपियर नै थिएँ । अब त यो धेरैतिर थाहा पाइसक्नुभयो । त्यसकारण मेरा साथीहरूले पनि पत्याएनन्,’ उनले भनिन् ।

सदीक्षाका परिचित व्यक्ति भने यो ठगीमा परे । उनले कसरी स्क्यामरले उनका नजिकका मानिसको नम्बर थाहा पाए भनेर खोजी गरिन् । ‘एकजना दाइको बिजनेस थियो । उहाँको बिजनेस प्रोमोट गर्न नम्बर सेयर गर्दै राखेको थिएँ,’ उनले भनिन्, ‘मैले ज–जसको पोस्टर सेयर गरेको छु उनीहरूलाई मेसेज गरिएको छ ।’

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money backकन्टेन्ट  क्रिएटर मिस्टर फुडीको पनि सोही अनुभव छ । उनले हालसालै काम गरेको ब्रान्डको सञ्चालकसँग फुडीकै नाम र फोटो प्रयोग गरिएको ह्वाट्एसप र भाइबर आइडिबाट मेसेज गरिएको रहेछ । ‘हामीले भर्खरै तपाईंहरूको प्रोमोट गरेका थियौं । राम्रो भएको थियो । मलाई पैसा चाहिएको थियो, लोन दिनुहुन्छ ?’ पत्यार नलाग्ने मेसेज आएपछि उताबाट मिस्टर फुडीलाई नै फोन आयो । आफ्नो नाम र तस्बिर प्रयोग गरेर स्क्याम भइरहेको थाहा पाएपछि उनले एक हप्ताअघि सामाजिक सञ्जालमा स्क्रिनसटसहित हाले । ‘अरु साथीहरूले पनि मलाई यही नम्बरबाट आएको भन्नुभएको थियो । पछि त्यो नम्बर चेक गर्न खोज्दा अर्कै क्रिएटरको नाम भएको छ । त्यो नामबाट काम भएन भने नाम र फोटो चेज्न गर्ने रहेछ,’ मिस्टर फुडीले भने । 

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money backयही घटना अभिनेत्री केकी अधिकारीमाथि पनि दोहोरियो । एकपटक अभिनेत्री मिथिला शर्माकै नम्बरबाट उनलाई स्क्याम गर्न खोजिएको थियो । मिथिलासँग सोध्दा ह्याक गरिएको थाहा भयो । केही दिनअघि केकीको फोटो र नाम प्रयोग गरेर उनले हालसालै सहकार्य गरेको व्यक्तिलाई पैसा मागियो । ‘सम्बन्धित साथीले केस दर्ता गर्नु भन्नुभयो । म सुटिङमा व्यस्त भएर गर्न पाइनँ । मेरै नम्बर प्रयोग भएको छ कि हेर्दा नाम र तस्बिर प्रयोग गरिएको रहेछ । यस्तो ठगी गर्ने ठूलो गिरोह रहेछ,’ उनले भनिन् ।

इन्फ्लुएन्सर ओसिन सिटौलाको पनि ह्वाट्सएप नै ह्याक गरिएइको थियो । ओसिनकै ह्वाट्सएप आईडीबाट उनको साथीलाई ह्याकरले मेसेजमा पैसा पठाउन भनियो । पैसा हाल्न पठाइएको क्युआर नेपाली नै थियो । ‘कसरी ह्याकरले उनीहरूको नजिकको मान्छे वा साथीको नम्बर पत्ता लगाउँछ ? यो ठूलो प्रश्न हो । उसलाई थाहा नहुने गरी उसको सिस्टम ह्याक भएको छ,’ ओसिन भन्छिन् ।

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money backकन्टेन्ट क्रिएटरहरू लेमी तामाङ, एकता तन्डुकार, अभिनेत्री वर्षा राउतलगायत अन्य कलाकार तथा इन्फ्लुएन्सरहरूले पनि अहिले यही समस्या भोगिरहेका छन् ।

उजुरी गरे पनि फिर्ता हुन्न पैसा

सदीक्षाका अनुसार धेरै साथीहरूलाई एउटै नम्बर (९७००२३५८५९) बाट स्क्याम गरिएको छ । उनले त साइबर ब्युरोमा उजुरी पनि गरिन् । तर सोमबार ब्युरोबाट आएको फोनले सदीक्षालाई  निराश बनायो । ब्युरोका अधिकारीले भने, ‘हुनेवाला केही छैन । तपाईंले आफैं भाइबरको हेल्प डेस्कमा कल गर्नुस् न ।’ 

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money backउनले एनसेललाई पनि यसबारे जानकारी गराइन् । एनसेलबाट पनि प्रहरीको रिपोर्टबिना केही गर्न नसक्ने जवाफ आयो । उनले घटनापछि ईसेवालाई पनि सम्पर्क गरिन् । ‘ईसेवाले तुरुन्त रिप्लाई गर्‍यो । २४ घण्टासम्म पैसा ब्लक गरायो पनि । तर त्यसपछि फिर्ता पठाउन कारबाही गर्न प्रहरी रिपोर्ट नै चाहिने रहेछ,’ उनले भनिन्, ‘तर हाम्रो साइबर ब्युरोबाट केही हुँदैन ।’

मिस्टर फुडी त उजुरी गर्नै गएनन् । कारण यसअघि साथीले उजुरी गर्दा प्रहरीबाट कुनै रेस्पोन्स नै नआएको उनको भनाइ छ । ओसिनकै पनि एकजना साथीले साइबर ब्यूरोमा उजुरी गरेका थिए । ‘५० हजार मात्र फिर्ता आयो । प्रहरीले नबिल बैंकलाई कल गरेर त्यहाँको अकाउन्ट सिज गरेछ । तर बाँकी फिर्ता आउन सकेन,’ उनले भनिन् । 

सचेत हुनुको विकल्प छैन : साइबर ब्युरो

नेपाल प्रहरीको साइबर ब्युरो प्रवक्ता एसपी दीपक अवस्थीका अनुसार चालु आर्थिक वर्षमा मात्र ब्युरोमा करिब ४ हजार ठगीका केस आएका छन् । उनी यसमा कलाकारदेखि सर्वसाधारण सचेत हुनुपर्ने बताउँछन् । अवस्थीका अनुसार १० प्रतिशत अपराधी मात्रै समातिने सम्भावना हुन्छ । बाँकी ९० प्रतिशत समातिन कठिन छ । 

'Scam' in the name of celebrities and public representatives: Relatives are being cheated, it is difficult to get the money back

उनी स्रोत अभाव औंल्याउँदै भन्छन्, ‘हाम्रो बैंकसँग फुल टेक्निकल इन्टिग्रेसन छैन । नेपाल युरोप वा अमेरिका पनि होइन । हाम्रो इन्फ्रास्ट्रक्चर, अन्तर्राष्ट्रिय डेटा एक्सचेन्ज कमजोर छ । त्यो कुरा आम जनताले पनि बुझ्नुपर्छ । खालि प्रहरीलाई दोष दिएर मात्र हुँदैन ।’ त्यसकारण उनी हामी आफैं सचेत हुनुको विकल्प नभएको बताउँछन् । 

ठगी गर्नेले आफ्नो नभई अरुको खाता प्रयोग गर्ने भएकाले पत्ता लगाउन गाह्रो हुने उनको भनाइ छ । 'जुन नम्बर, सामाजिक सञ्जाल प्रयोग गरिएको हुन्छ, त्यो अकाउन्ट उसैको नहुन सक्छ । ह्याक भएको नम्बरबाट अपराध हुन्छ । पीडितले ‘मैले चलाएकै होइन’ भन्छ । तर टेक्निकली त्यो प्रमाणित गर्न सजिलो छैन,’ उनले भने । 

उनका अनुसार अनावश्यक रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने, हरेक ठाउँमा नम्बर, इमेल, पहिचान खुलाउनु नै समस्याको कारण हो । ‘धेरैले लाखौं पैसा गुमाएका छन् । त्यो पैसा सजिलै आएको होइन, धेरै मेहनतको फल हो । त्यसकारण सुरुमा त आफू जोगिनु नै उत्तम हो,’ उनी आग्रह गर्छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully