जेन–जी प्रदर्शनमा जलेको ओलीको जन्मघर युवा संघले पुरानै शैलीमा बनाउँदै

गत भदौ २४ मा प्रदर्शनकारीको आगजनीमा नष्ट भएको आठराई गाउँपालिका–५ स्थित इवा गाउँमा रहेको एमाले अध्यक्ष केपी ओलीको पुर्ख्यौली घर युवा संघकाे अगुवाईमा पुरानै शैलीमा निर्माण भइरहेकाे छ ।

पुस १०, २०८२

विनोद घिमिरे

Youth Association is rebuilding Oli's birthplace, which was burned down during the Gen-G protests, in its original style.

What you should know

धनकुटा — जेन–जी प्रदर्शनका क्रममा जलेर नष्ट भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको तेह्रथुमस्थित पुर्ख्यौर्ली घर पुरानै शैलीमा बनाउन लागिएको छ ।

आठराई गाउँपालिका–५ स्थित इवा गाउँमा रहेको अध्यक्ष ओलीको पुर्ख्यौली घर गत भदौ २४ मा प्रदर्शनकारीको आगजनीमा नष्ट भएको थियो । अहिले जलेको घरको भग्नावशेष हटाएर सोही ठाउँमा नयाँ घर बनाइरहेको एमाले तेह्रथुमका अध्यक्ष शिवप्रसाद ढुंगानाले जानकारी दिए । 

अध्यक्ष ओलीको मौखिक स्वीकृतीपछि युवासंघ नेपाल, एमाले जिल्ला र गाउँकमिटिको व्यवस्थापन तथा रेखदेखमा पुरानै शैलीमा ओलीका लागि नयाँ घर बनाउन लागिएको उनले बताए । नयाँ घरमा सिकुवा, बरण्डा, भान्छा र सुत्ने–बस्ने कोठा बनाइने ढुंगानाले बताए । ढुंगामाटो र काठ प्रयोग गरेर पुरानै डिजाइनमा खरको छाना लगाइने उनले सुनाए ।  ‘अध्यक्षज्यूका लागि पुरानै स्वरुप र आकारप्रकारमा नयाँ घर बनाउँदै छौं,’ ढुंगानाले भने, ‘अध्यक्षज्यूको घर केवल ढुङ्गामाटोबाट बनेको प्रतिमा मात्रै थिएन, इतिहास र राजनीतिको धरोहर थियो, पहिलेको नासिए पनि इतिहास जोगाइराख्न नयाँ  घर बनाउने टुंगोमा पुगेका हौं ।’

ओलीका लागि घर बनिरहेको जग्गा राधिका ट्रष्टको नाममा रहेको एमाले तेह्रथुमका उपाध्यक्ष तथा छथर गाउँपालिकाका अध्यक्ष सन्तबीर लिम्बुले जानकारी दिए । घर बनाउने खर्च युवा संघ नेपालले जुटाइरहेको लिम्बुले बताए । ‘घर बनाउन ५/७ लाख रुपैयाँ खर्च हुन्छ, त्यो रकम युवा संघ केन्द्रले पार्टीका सदस्य, साथीभाइ र शुभेच्छुकको साथ सहयोगले जुटाइरहेको छ, त्यो स्वेच्छाले भइरहेको छ ।’ 

घर बनाउन स्थानीय सिकर्मी, डकर्मीलाई ठेक्का दिएर एक तला निर्माण भइसकेको छ । छानामा लाउने खर, अन्य काठपात र बाँसजस्ता सामग्री जुटाउन भने श्रमदान गरिने लिम्बुले बताए । ‘खर काट्न हामी आफै जान्छौं, मिलेर बोक्छौं–ओसार्छौं, छानो लाएर चिटिक्क बनाउँछौ ।’ 

बर्खाअघिनै घर निर्माण पूरा गर्ने लक्ष्य रहेको लिम्बुले बताए । निर्माण सकिएपछि अध्यक्ष ओलीलाई नयाँ घरमा आमन्त्रण गरिने लिम्बुको भनाई छ । ‘अहिले बाहिर हिँड्ने अवस्था छैन्, घर बनाइ सकेर निमन्त्रणा गर्छौं, उहाँ पक्कै आउानुहुनेछ ।’ इवागाउँ तेह्रथुम सदरमुकाम म्याङलुङबाट करिब ७० तथा मध्यपहाडी राजमार्गबाट अढाई किलोमिटरको दुरीमा पर्छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully