हेटौँडाको मुख्य बजार अस्तव्यस्त छ भने सडक विस्तारका क्रममा साढे आठ दशकदेखि व्यापार गर्दै आएका व्यवसायी विस्थापित बनेका छन् ।
What you should know
हेटौँडा — गत मंसिर २० गते बिहान झिसमिसेमा डोजर चलाउँदा हेटौँडाको मुख्य बजारमा कपडा पसल सञ्चालन गर्दै आएका अनिल अग्रवालको पसल भत्कियो ।
साढे आठ दशकदेखि कपडाको व्यापार गर्दै आएका अग्रवालको पसल मात्रै भत्किएन, पसल र परिवार नै विस्थापित हुन पर्यो ।
बाबुबाजेको पालादेखि नै कपडा पसल सञ्चालन गर्दै आएका अग्रवाल अहिले हेटौँडा उपमहानगरपालिका–४, कान्ति लोकपथको आडैमा रहेको घरको दोस्रो तलामा दोकान चलाइरहेका छन् ।
अग्रवालका हजुरबुवा सोहनलालले हालको बुद्ध चोक नजिकै १९९७ सालमा कतरे छाप्रोमा कपडा पसल सुरु गरेका थिए । व्यापार फस्टाउँदै गयो । कतरे छाप्रोलाई अनिलका बुबा ईश्वरचन्द्रले भत्काए, पक्की बनाए र त्यहीँ ‘भव्य’ कपडा पसल चलाउन थाले । हेटौँडामा उनको पसललाई सबैले चिन्ने नाम थियो- तीनपुस्ते अग्रवालको कपडा दुकान ।
मंसिर १९ गते बेलुकासम्म सोही घरमा अनिलले कारोबार गरे । पसल बन्द गरेर जाँदासम्म पनि उनलाई लागेको थिएन कि आजको कारोबार नै यो घरबाट गरिने अन्तिम कारोबार हो भन्ने । भयो यस्तै । शनिबार झिसमिसेमै डोजर चल्यो । छिनमै सामान असरल्ल भए । उनले भने, ‘बिहान उठ्न नपाउँदै डोजर चल्यो । क्षणभरमै के के भयो भयो । के भएको हो, अब के गर्ने भन्ने सोच्नै सकिएन ।’
अनिल अग्रवाल मात्र होइन, हेटौँडा बजारमा छ दशकदेखि किराना पसल सञ्चालन गर्दै आएका दिलबहादुर श्रेष्ठ पनि मंसिर २० गतेदेखि बिहानै विस्थापित भए । उनी अहिले हेटौँडा उपमहानगरपालिका–४, पारिजात रोडमा कोठा भाडामा लिएर पसल सञ्चालन गरिरहेका छन् । उनको पुरानो पसल हेटौँडा बजार वरिपरि नै थियो ।
हेटौँडा बजार क्षेत्रमा सडक विस्तारका क्रममा डिभिजन सडक कार्यालयले सडक सीमा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै गत महिनाको २० गते संरचना भत्काएको थियो । यसका कारण अनिल अग्रवाल र दिलबहादुर श्रेष्ठ मात्र होइन, सात सयभन्दा बढी पसले विस्थापित भए ।
अधिकांश पसलेले हेटौँडा बजारका भित्री सडकमा कोठा भाडामा लिएर व्यवसायलाई निरन्तरता दिइरहेका छन् । केही व्यापारीले भने भत्काइएका घरका सामग्री सडक पेटीमै राखेर बिक्री गरिरहेका छन् । कोही पसलका सामान टकटक्याएर ‘सेकेन्ड ह्यान्ड’मा बेचेर पुर्ख्यौली पेसालाई सधैँका लागि बिदा गर्न चाहन्छन् ।
सडक विस्तारका क्रममा हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेका दुई ठूला लजसहितका होटल पनि भत्काइएका छन् । सडक सीमा मिचेर निर्माण गरिएको भन्दै हेटौँडाका सबैभन्दा पुराना निलम लज र सीमा होटल एन्ड लज भत्काइएका हुन् ।
घर भत्किएसँगै अहिले हेटौँडाको भित्री सडकमा रहेका खाली भएका सटर र कोठाहरू भरिएका छन् । सटर र कोठा खोज्नेहरू बढेका छन् । मंसिर २० गतेसम्म खाली रहेका ती भवनहरू मुख्य बजारका संरचना भत्किएपछि एकाएक भरिन थालेका छन् ।
अस्तव्यस्त बजार
बजारका घर भत्किएको १९ दिन भयो । सडक डिभिजन कार्यालय हेटौँडा घर भत्काएसँगै मौन छ । कार्यालयले घर भत्काएपछि हेटौँडाको मुख्य बजार क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । भग्नावशेष छरपस्ट छ । तार लत्रिएका छन् । बिजुलीका पोल कुनै लडेका छन्, कुनै बांगिएका छन् । मुख्य बजारमा विद्युत् आपूर्ति नहुँदा अन्धकार छ । जोखिम पनि उत्तिकै बढेको छ ।
घरको अगाडिको भाग डोजर लगाएर भत्काइएपछि पछाडि जग्गा र घर भएका व्यक्तिहरूले आफैँ संरचना भत्काइरहेका छन् । भत्काउने क्रममा हालसम्म पाँच जना मजदुर घाइते भएका छन् ।
पीडितहरूको पक्षबाट सर्वोच्च अदालतमा मुद्दा परेपछि दुवै पक्षलाई बोलाउने प्रक्रिया सुरु भएको छ । तर कहिले हेर्न नमिल्ने न्यायाधीशको बेन्च, कहिले समय अभावका कारण मुद्दा लम्बिएको लम्बियै छ । सर्वोच्च अदालतले पुस १३ गतेका लागि पेसी तोकेको छ ।
मुद्दा किनारा नलागेसम्म सडक डिभिजन कार्यालय हेटौँडा चुपचाप बसेको छ । कार्यालयका अनुसार कानुनी जटिलताका कारण सडक विस्तार तथा व्यवस्थापनको काम अघि बढाउन नसकिएको हो ।
सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश नआएसम्म कार्यालय ‘हात बाँधेर बस्न’ बाध्य भएको बताए । मानवीय आधारमा घाइते श्रमिकलाई सहयोग गर्न खोजे पनि कानुनी बाधा रहेको उनको भनाइ छ ।
‘अहिले हामीलाई सडक विस्तारको काममा मात्र होइन, भत्किएका संरचनामा मेसिन प्रयोग गर्नसमेत सक्ने अवस्था छैन,’ उनले भने, ‘कसैले आपत् परेर मेसिन मागे पनि पठाउन सक्ने कानुनी अवस्था छैन । हामी सर्वोच्चको आदेश कुर्दै छौं ।’
सडक दायाँ–बायाँका संरचना हटाउने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । हेटौँडा बजार क्षेत्रमा ‘सडक अतिक्रमण गरी बनाइएका संरचना’ भत्काउने भन्दै सूचना सार्वजनिक भएपछि त्यसविरुद्ध १६ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिटमाथि सुनुवाइ गर्दै १९ मंसिरमा सर्वोच्चले ‘सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नू, राख्न लगाउनू’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेर २६ मंसिरमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो । अदालतको आदेश नसुनेको र पत्र पनि नआएको भन्दै डिभिजन सडक कार्यालयले संरचना भत्काएको थियो ।
हेटौँडाको सडक विस्तारसम्बन्धी मुद्दालाई अग्रिम सूचीमा राखी छिटो किनारा लगाउन सडक विभाग, स्थानीय प्रशासन र घर भत्किएका पीडितहरूले माग गरेका छन् ।
सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर २० गते बिहान झिसमिसेमै एक दर्जन डोजर प्रयोग गरी रातोमाटेदेखि चौकीटोलको लोकप्रिय होटलसम्म तथा बुद्ध चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्म करिब पाँच सय घर भत्काएको थियो ।
भत्काइएका घरहरूमध्ये अधिकांशको अन्यत्र घर रहेको र केहीले भत्काइएको घरको पछाडि पहिले नै नयाँ भवन निर्माण गरिसकेको अवस्था छ ।
२०११ सालपछि बस्ती बस्न थालेको हेटौँडा ७१ वर्षसम्म देशकै प्रमुख सहरका रूपमा विकसित भयो । तत्कालीन मध्यमाञ्चल क्षेत्रको सदरमुकाम रहेको हेटौँडा अहिले बागमती प्रदेशको राजधानी पनि हो ।
एसियन हाइवे निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य बजार क्षेत्रका घर टहरा र संरचना हटाएर मंसिर २० गतेदेखि सडक विस्तारको काम सुरु गरेको थियो । तर अदालतको आदेश कुर्दै काम रोकिएको छ ।
सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म ६.३ किमी सडक खाली गराउनुपर्नेछ । त्यस्तै बुद्ध चोकदेखि सामरी पुलसम्मको ३.२ किमी सडक त्रिभुवन राजपथभित्र पर्छ । यिनै दुई राजमार्गभित्रको ९.५ किमी क्षेत्रमा रहेका घर टहरा हटाएर सडक चौडा पार्न लागिएको छ । विभागका अनुसार २५ गज दायाँतर्फ २ सय ३४ र २५ गज बायाँतर्फ २ सय ९७ वटा घर टहरा थिए । ती सबै भत्काइसकिएको छ ।
