ह्विलचेयरदेखि दीक्षान्तसम्म

गोरखाका राज श्रेष्ठले शारीरिक अपांगताका बाबजुद त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र नेपाली साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।

पुस १०, २०८२

विवेक पोख्रेल

From wheelchair to convocation

What you should know

काठमाडौँ — स्नातकदेखि विद्यावारिधिसम्मका उपाधि हासिल गरेका विद्यार्थीको भीडले बिहीबार दशरथ रंगशाला भरिएको थियो । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा सहभागी हुन देशभरबाट विद्यार्थीहरू परिवार र आफन्तसहित आएका थिए । त्यही भीडभाडबीच २७ वर्षीय राज श्रेष्ठ भने ह्विलचेयरमा देखिन्थे ।

उनीको ह्विलचेयरमा धकेल्दै थिए उनकी आमा राममाया श्रेष्ठ र भाउजू दिलु श्रेष्ठले । दीक्षान्त समारोहस्थलमा पुगेपछि आमाले छोरालाई गाउन लगाइदिइन् ।

गहभरि खुसीका आँसुसहित उनले आशिर्वाद दिइन्। ‘विगतका सबै दुःख आजको दिनले बिर्साइदियो,’ आमा राममायाले भनिन्, ‘मेरो छोरा हिँड्डुल गर्न सक्दैन । तर उसले आज हासिल गरेको सफलता मेरो जीवनकै सबैभन्दा ठूलो गर्व हो ।’ 

From wheelchair to convocationगोरखाको सहिद लखन गाउँपालिकाका स्थायी बासिन्दा राज श्रेष्ठ हाल कीर्तिपुरमा बस्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत जन–प्रशासन क्याम्पसबाट जनप्रशासनमा स्नातकोत्तर तह उत्तीर्ण गरेपछि दीक्षित हुन आएका थिए ।  यसअघि उनले आरआर क्याम्पसबाट नेपाली साहित्यमा पनि स्नातकोत्तर गरेका थिए ।

श्रेष्ठ ५ वर्षको हुँदा विद्यालय जाँदै गर्दा लडेर खुट्टामा गम्भीर चोट लागेको बताउँछन् । ‘ स्कुल जाने क्रममा लडेँ, खुट्टामा ठूलो चोट लाग्यो । त्यही समयबाट म अपांग भए । शरीरको हड्डी कमजोर भयो । त्यतिबेला पढेन भने के गरेर खाने भन्ने चिन्ता सधैँ हुन्थ्यो,’ श्रेष्ठले भने, ‘ मलाई सरहरूले पनि भन्नु हुन्थो अरु त हलो जोतेर पनि खान्छन् । तँ के गर्छस् ? पढेनस् भने भनेर भन्नु हुन्थ्यो त्यसले पनि मलाई पढाइको महत्त्व बुझायो ।’

शारीरिक अवस्थाका कारण विद्यालय र कलेज नियमित जान नसक्दा स्वअध्ययनलाई नै मुख्य आधार बनाएको उनी बताउँछन् । ‘अपाङ्गताका कारण बाहिरी समाजसँग पनि घुलमिल गर्न गाह्रो भयो । साथीहरू पनि सीमित थिएँ,’ उनले भने, ‘ अरु काम पनि हुन्थेन । साथीहरू पनि नभएपछि किताब हेर्ने पढ्नेबाहेक अरु काम पनि भएन । किताब नै मेरो साथी बन्यो । आफैंलाई सक्षम बनाउन पढाइलाई सधैँ प्राथमिकतामा राखेँ ।’ 

साहित्यमा रुचि राख्ने श्रेष्ठले यसअघि केही सरकारी संस्थानमा काम गरेको अनुभव पनि छ ।

From wheelchair to convocationउनी पाँच दाजुभाइमध्ये कान्छा हुन् । आमा राममायाका अनुसार गाउँका चिप्ला बाटो र उकालो–ओरालोका कारण उनका तीन छोरा छुट्टाछुट्टै समयमा दुर्घटनामा परेका थिए । तीमध्ये एक छोराको ज्यान समेत घुमाए । ‘दुई छोरा अहिले पनि ह्विलचेयरमै छन्,’ उनले भनिन्, ‘ म किसान हुँ  । श्रीमान् शिक्षक भएकाले पनि हो कि ? सबै छोराले पढाइलाई जोड  दिए ।’

आज दीक्षान्त समारोहमा आइपुग्दा एकदमै खुसी लागेको पनि उनको भनाइ छ । ‘अहिलेको सुखले हस्पिटलको त्यो बेलाको दु:ख र हुर्काउँदाको संघर्ष बिर्साएको छ ।’

From wheelchair to convocationदीक्षित हुँदाको खुसी त एकातिर छ, अर्कोतिर राजको दु:खेसो पनि छ । ‘ह्विलचेयर प्रयोग गर्ने मात्र होइन, दृष्टिविहीन विद्यार्थीका लागि पनि यहाँ सहज छैन,’ उनले प्रश्न गर्दै भने, ‘हाम्रो विश्वविद्यालयले अपाङ्ग विद्यार्थी छन् भन्ने नसोचेको हो कि ? थाहा नपाएको हो ?’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully