बैठकमा भारतीय प्रतिनिधिहरू अनुपस्थित भएपछि कोशी नहर र सडक विस्तारका विषयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तय भएको छलफल स्थगित गरिएको छ।
What you should know
राजविराज — सप्तरीका सयौँ विपन्न परिवार उठीबास हुने जोखिम बढेपछि भारतले पश्चिमी कोशी नहरको स्तरोन्नति तथा सडक विस्तार गर्ने कार्य स्थानीयले रोकेका छन् ।
विपन्न परिवार विस्थापित हुने गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बुधबार दिउँसो सम्बन्धित स्थानीय तहका प्रमुख तथा भारतीय पक्षका प्रतिनिधिलाई छलफलका लागि बोलाएका थिए ।
तर योजना कार्यान्वयन गरिरहेको भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको पश्चिमी कोशी नहर प्रमण्डल कुनौलीका कार्यपालक अभियन्ताको कार्यालय तथा निर्माण कम्पनीका प्रतिनिधि बैठकमा उपस्थित नभएपछि छलफल स्थगित भएको थियो ।
बैठकमा भारतीय पक्ष उपस्थित नहुँदा बिहीबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीको नेतृत्वमा स्थानीयले सोही नगरपालिका–१ भारदह क्षेत्रमा भइरहेको नहर स्तरोन्नति तथा सडक विस्तार कार्य रोकेका हुन् ।
नगर प्रमुख माझीका अनुसार भारतीय पक्षले कति क्षेत्रसम्म, कस्तो प्रकारको काम गर्ने भन्नेबारे स्थानीय तहलाई कुनै जानकारी नदिई एकपक्षीय रूपमा काम अघि बढाएको छ ।
'हामीलाई जानकारीसमेत नदिई काम थालिएको छ,' उनले भने, 'अहिले भइरहेको कामअनुसार हाम्रो नगरपालिकामा मात्रै नहरको उत्तरतर्फ बसोबास गर्ने करिब दुई सय विपन्न परिवार उठीबास हुने अवस्था आएको छ । उनीहरूको तत्काल व्यवस्थापन गर्न नगरपालिकासँग बजेटसमेत छैन ।'
उनले नहर स्तरोन्नति र सडक विस्तारको काम पारदर्शी रूपमा हुनुपर्ने र कोशी सम्झौताअनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
नहर स्तरोन्नति तथा त्यससँगै भइरहेको सडक विस्तारका कारण हनुमाननगर कंकालिनीसँगै डाक्नेश्वरी र राजविराज नगरपालिका तथा महादेवा, छिन्नमस्ता, विष्णुपुर, राजगढ र तिलाठी कोइलाडी गाउँपालिकाका सयौँ विपन्न परिवार विस्थापित हुने जोखिममा परेका छन् ।
