जाडोसँगै जलनका घटना बढे

जाडो मौसम सुरु भएसँगै, काठमाडौं उपत्यकाका बर्न अस्पतालहरूमा बिरामीको संख्या बढेको छ । तर, आईसीयुमा बेड संख्या सिमित भएकाले बिरामीलाई समयमै उपचार गर्न अफ्टेरो भएको चिकित्सकहरूले बताएका छन् ।

पुस १०, २०८२

अर्जुन पौडेल

Burns increase with winter

What you should know

काठमाडौँ — कीर्तिपुर अस्पतालको रूपमा चिनिने नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टरले बुधबार आफ्नो बर्न युनिटमा आठ शय्या विस्तार गर्ने निर्णय गरेको छ । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) का ११ शय्यासहित सबै ३५ शय्याहरू गम्भीर रूपमा जलेका बिरामीहरूले भरिएपछि यस्तो निर्णय गरिएको हो ।

'आगजनी पीडितहरू हरेक घण्टा आइरहन्छन्,' अस्पतालका वरिष्ठ सल्लाहकार डा. शंकरमान राईले भने, 'तर, हामीले जनरल बेडको संख्या बढाएझैं सघन उपचार कक्षका शय्याहरू सजिलै बिस्तार गर्न सक्दैनौं ।'

जाडो मौसम सुरु भएसँगै, काठमाडौं उपत्यकाका बर्न अस्पतालहरूमा बिरामीको संख्या बढेको छ । तराईका धेरै जिल्लाहरूमा जारी शीतलहरका कारण पनि यस्ता बिरामीको संख्या बढैको हो । तर, आईसीयुमा बेड संख्या सिमित भएकाले बिरामीलाई समयमै उपचार गर्न अफ्टेरो भएको चिकित्सकहरूले बताएका छन् ।

 'हामीसँग सामान्य वार्डहरूमा थोरै शय्याहरू खाली छन्, तर सघन उपचार कक्षमा कुनै पनि शय्याहरू उपलब्ध छैनन्,' वीर अस्पतालका प्रमुख सल्लाहकार प्लास्टिक सर्जन डा. पियुष दाहालले भने । 'आगोले जलेर मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ, तर शय्याको क्षमता त्यही गतिमा बढिरहेको छैन।'

चिकित्सकहरुले अत्यधिक चिसोको समयमा पनि आगोको नजिक नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले गरिबहरुलाई दाउराको साटो न्यानो कपडा वितरण गर्नुपर्ने सुझाव पनि उनीहरुले दिए ।

 'यदि हामीले आगोबाट टाढा रह्यौं भने जल्ने जोखिम कम हुन्छ,' कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. ईश्वर लोहानीले भने । 'हामीले आफूलाई न्यानो बनाउने क्रममा पार्दा सावधानी अपनाउनु पर्छ । बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल राख्नु पर्छ । उनीहरुलाई आगोबाट टाढा सार्नु पर्छ ।'

यसैबीच, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा तापक्रम अझै घट्न सक्ने बताएको छ। तराईमा जारी शीतलहरको अवस्था आगामी केही दिनसम्म जारी रहने जनाएको छ महाशाखाले जनाएको छ । 

'मंगलबारको तुलनामा, आज [बुधबार] धनगढीमा दृश्यतामा सुधार आएको छ,' महाशाखाका मौसमविद् बिनु महर्जनले भने। 'तर यी अवस्थाहरू आगामी केही दिनसम्म रहनेछन्।'

स्वास्थ्य विज्ञहरूले आगोलाई हल्का रूपमा नलिन जनतालाई चेतावनी दिएका छन् ।पूर्ववर्ती सरकारले जलन पीडितहरूलाई नि:शुल्क हेरचाह प्रदान गर्ने बताएका थियो । त्यसका लागि तोकिएका अस्पतालहरूलाई उपचार खर्च फिर्ता गर्ने वाचा गरिएको थियो । तर धेरैजसो स्वास्थ्य संस्थाहरूले क्षतिपूर्ति नपाएको र बिरामीहरू महँगो उपचार शुल्क तिर्न बाध्य भएको गुनासो गरेका छन्।

जलेको चोटपटकको निःशुल्क उपचारका लागि तोकिएका अस्पतालहरूमा बागमती प्रदेशको कीर्तिपुर अस्पताल, कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल; गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल; र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल छन् ।

स्वास्थ्य मन्त्रालयको अनुमान अनुसार प्रत्येक वर्ष देशभरि ५५,००० मानिसहरू जलेर घाइते हुन्छन्।

एउटा अध्ययनअनुसार नेपालमा वर्षेनी ४०,००० भन्दा बढी मानिसहरू (सामान्य वा गम्भीर) आगजनीले घाइते हुन्छन् । त्यसमध्ये, १,५०० देखि २,००० जनाको मृत्यु हुने गरेको छ ।

अर्जुन पौडेल अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Link copied successfully