छाया सेन्टरस्थित वाल्डो क्यासिनोमा चुम्बकीय तास र आँखा लेन्स प्रयोग गरी ठगी गर्ने मुख्य योजनाकारसहित ६ जना पक्राउ परेका छन्।
What you should know
काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले क्यासिनो खेलको इभेन्ट आयोजना गरेर ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौं घुमाउने, खाने बस्ने सुविधा मात्र होइन उनीहरूलाई प्लेनको टिकट पनि उपलब्ध गराइएको पाइएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अनुसार चिप्स जडान गरिएको तास प्रयोग गरेर आँखामा ‘आइलेन्स’ लगाएर उनीहरूले ठगेका थिए ।
पक्राउ पर्नेमा सुरेश महर्जन, दिनेश वर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् । क्यासिनो सञ्चालकसहित मोनु भन्ने निरज कुमार, विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, हिराशेखर मल्ली पुरी, कमल खरबन्दा मुकेश भने प्रहरीको फरार सूचीमा रहेको भट्टराईले जानकारी दिए ।
यीमध्ये भारतका सुरेश महाजन मुख्य योजनाकार हुन् । उनले नेपालका विनोद भन्ने जनार्दन उप्रेतीसँग सहकार्य गरेर यो इभेन्ट गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । ५७ वर्षका महाजनले महाकाया समूहबाट नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा इभेन्ट सञ्चालन गरिरहेका छन् ।
विनोद भन्ने जनार्दन उप्रेतीले भने २ वर्षदेखि इभेन्ट सञ्चालन गर्दै आएका थिए । उनले यस इभेन्टका लागि क्यासिनोमा टेबल बुकिङ, विभिन्न होटेलमा कोठा बुकिङका लागि समन्वय गरेका थिए । ‘काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोमा डिसेम्बर ११ देखि १४ सम्म इभेन्टको नै आयोजना गरेर भारतबाट मानिसहरू ल्याइएको रहेछ,’ भट्टराईले भने,‘आँखामा लगाउने लेन्स र चुम्बकीय तास (म्याग्नेट कार्ड) उनीहरूले दिल्लीबाट नै ल्याएका रहेछन् ।’
ठगी गर्ने टिमले लेन्स लगाएका एक खेलाडी र तास बाँड्ने एक जना आफ्नो तर्फबाट प्रत्येक टेबलमा राखेका थिए । क्यासिनोमा जितेको रकमको ९० प्रतिशत सञ्चालक र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरेर सहमति भएको थियो । प्रहरीले उनीहरूबाट पैसा, एटीएम, चुम्बकीय तास, आँखामा लगाउने लेन्ससहित त्यसमा प्रयोग हुने केमिकल, हवाई टिकट, राहदानी र भारतिय कार्डसमेत बरामद गरेको थियो ।
प्रहरीले यसलाई स्क्याम गरेर ठगी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा दफा २४९ को ठगी गर्न नहुने कसूरमा मुद्दा दर्ता गरिएको एसएसपी रमेश थापाले बताए ।
