प्रधानमन्त्री कार्कीसहित देउवा, ओली र दाहालसँग छलफल गर्दै राष्ट्रपति पौडेल

छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल उपस्थित हुनेछन् ।

पुस ८, २०८२

कुलचन्द्र न्यौपाने

President Poudel holding discussions with Prime Minister Karki, Deuba, Oli, and Dahal

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार ३ बजेदेखि छलफल सुरु हुनेछ । छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल उपस्थित हुनेछन् ।

शीतल निवास स्रोतका अनुसार उक्त छलफल निर्वाचनको वातावरण बनाउने दिशामा नै केन्द्रित हुने भएको छ । 

राष्ट्रपति पौडेलले यसअघि अन्तरिम सरकार बन्ने र बनाउने क्रममा प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । तर देउवा र ओलीसँग भने भेटवार्ता भएको छैन । तत्कालीन सरकारका प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेर सरकारले निर्वाचनको वातावरण बनाउन नसकिरहेको भन्दै कांग्रेस र एमालेबाट सरकारको आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन् ।

प्रतिनिधिसभा पुन:स्थापनाका लागि कांग्रेस र एमालेले छुट्टाछुट्टै रिट समेत दायर गरेका छन् । दुई दलबाट बहुमत सांसदहरूको हस्ताक्षरसहित मंगलबार नै पूरक निवेदन दिने तयारी कांग्रेसले गरिरहेको पृष्ठभूमिमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले शीतल निवासमा देउवा, ओली र दाहालसँग निर्वाचनको वातवरण बनाउने विषयमा छलफल गर्न लागेका हुन ।

कुलचन्द्र न्यौपाने

Link copied successfully