‘इराकीको घरमा काम गरेर छोरालाई अम्रिकामा पढाइरहेकी छु’

‘बिदा लिएर नेपाल फर्कियो भने फेरि इराक आउन मिल्दैन, सेटिङ मिलाउनुपर्छ। सेटिङ मिल्छ भन्ने ग्यारेन्टी छैन । फर्किन पाउने भए एक महिनाको छुट्टी लिएर जानु हुन्थ्यो ।’

पुस ८, २०८२

होम कार्की

'I am working in an Iraqi household and educating my son in America'

What you should know

काठमाडौँ — दुई दशकदेखि प्रतिबन्ध लगाइएको इराकको राजधानी बग्दाददेखि स्वशासित राज्य कुर्दिस्तानमा काम गर्ने नेपालीको संख्या ३० हजार पुगिसकेको छ । गैरआवासीय नेपाली संघ इराकका अनुसार ८५ प्रतिशत महिला श्रमिक छन् ।

उनीहरूको पहिलो ध्यानमा कमाइमा केन्द्रीत छ। बिदा लिएर घर आउन त मिल्छ, तर श्रम स्वीकृति नभएका कारण फेरि फर्किएर इराक जान मिल्दैन। त्यहीकारण उनीहरू घर परिवार र देशबाट अलग्गै भएर काम गर्न बाध्य छन्। 

इराकको स्वशासित राज्य कुर्दिस्तानको सुलेमानीमा एक इराकीको घरमा काम गरिरहेकी ताप्लेजुङकी ३५ वर्षीया मिना मगर भन्छिन्- ‘बिदा लिएर नेपाल फर्कियो भने फेरि इराक आउन मिल्दैन, सेटिङ मिलाउनुपर्छ। सेटिङ मिल्छ भन्ने ग्यारेन्टी छैन । फर्किन पाउने भए एक महिनाको छुट्टी लिएर जानु हुन्थ्यो ।’ 

उनले त्यहाँ काम गर्न थालेको १२ वर्ष भइसक्यो । एकचोटि नेपाल गएर आउँदा सेटिङ मिलाउन निकै कठिन पर्छ । 'मलाई सेटिङ मिलाएर यता आउन एक महिना नै लाग्यो । नेपाल जाँदै–फर्कन मन लाग्छ । बाउआमा भेट्न रहर लाग्छ । बाउआमा बुढाबुढी भइसकेका छन् । तर केही कमाएरै जानुपर्‍यो,' उनको भनाइ छ।

उनका अनुसार इराकमा सुरक्षा छैन भन्ने गलत हो । उनी भन्छिन्, 'मैले आफ्नै दिदीको छोरी ल्याएकी छु । नराम्रो भए आफ्नै दिदीको छोरी किन ल्याउँथे ? हामीले यहाँ कमाइराखेका छौँ । खाइराखेका छौँ । रमाइराखेका छौँ । हामीलाई पुगिराखेको छ । बाउआमालाई पालिराखेकी छु । मैले पासपोर्ट सकिएपछि फेरि इराकबाट नवीकरण गरेको हो ।'

उनी दिनहुँ बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्छिन्। 'बेलुका उनीहरू खाना खाँदैनन् । म काम गर्ने परिवारमा सबैको बिहे भइसकेको छ । छोराको बिहे भयो, छोरीको बिहे भयो । बिहे गरेपछि परिवारसँगै बस्दैनन्,' उनी सुनाउँछिन्। 

उनको कमाइ पनि राम्रै छ। सुरुवातमा उनको तलब ३०० डलर थियो। अहिले ७ सय डलर पुगेको छ। भन्छिन्- म आउँदा इराक भनेको ठाउँ नै थाहा थिएन । नामै थाहा थिएन । इराक हो भनेर यहाँ आएपछि थाहा पाएँ । अहिले बुझ्ने भएकी छु । मलाई छोरीजस्तै गर्छन् । मैले पनि बाआमाजस्तै गर्छु । उनीहरूको माया लाग्छ । मलाई नेपाल गएर बाआमा भेटेर आऊ भन्छन् ।' 

उनका एक जना १९ वर्षीय छोरा छन्। छोरालाई अमेरिका पढ्न पठाएकी छन्। 'मैले यहाँ दुख गर्छु। तर छोरालाई अम्रिकामा पढाइरहेको छु। मेरो श्रीमान छैन । बाआमा धेरै कमजोर र बिरामी छन् । काठमाडौँमा ल्याएर राखेकी छु,' उनी भन्छिन्, 'यो सबै म यहाँ बसेर काम गरिरहेकै कारण मात्रै हो।'

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully