बेइजिङमा आयोजित विचार गोष्ठीमा विज्ञहरूले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षे यात्रालाई उच्चस्तरीय भ्रमण, सहकार्य र आपसी सम्मानका दृष्टिले समीक्षा गरे ।
What you should know
बेइजिङ — नेपाल र चीन सम्बद्ध विज्ञहरूले विगत ७० वर्षदेखि आपसी सम्बन्ध समस्यारहित र सम्मानयुक्त रहेको निष्कर्ष निकालेका छन् ।
यो वर्ष सन् २०२५ नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको सन्दर्भमा वर्षको अन्तिम महिना डिसेम्बरमा बेइजिङमा विज्ञहरूले प्राचीनकालदेखि औपचारिक दौत्य सम्बन्धयताको दुई देशबीचको सम्बन्धलाई आपसी सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेप, समानता, जनस्तरीय सम्बन्ध, व्यवहारिक सहयोग, लगानी तथा व्यापार, उच्चस्तरीय भ्रमण, क्षेत्रीय मामिलालगायतका कोणबाट समीक्षा गरेका थिए ।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज (सीआईआईएस)का उपाध्यक्ष लिउ छिङले पछिल्लो समयमा उच्चस्तरीय राजनीतिक भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको भन्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवधिमा भएका सहमतिहरूको कार्यान्वयन गर्न चीन प्रतिबद्ध रहेको बताए ।
बीआरआईको गुणस्तरीय निर्माणका लागि नेपालसँगै मिलेर काम गर्न इच्छुक रहेको भन्दै उनले वृद्धिका लागि अझै नयाँ अवसरहरू रहेको चर्चा गरे । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदारका रूपमा चीनले नेपालसँग सीमापार कनेक्टिभिटीमार्फत् साझा फाइदाको अवधारणा अघि सारेको उनले बताए ।
नेपाली राजदूतावासकी कार्यवाहक राजदूत रोशन खनालले नेपालले एक चीन सिद्धान्तको पालना गर्दै आएको बताउँदै पछिल्लो समय दुवै देशबाट भएका उच्चस्तरीय राजनीतिक भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताइन् ।
गत सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि आपसी सम्बन्धको नयाँ चरण सुरु भएको उनको धारणा थियो । खनालले प्रमुख व्यापारिक साझेदारका रूपमा चीनले नेपाली वस्तुका लागि निःशुल्क भन्सार सुविधा दिएको भन्दै चीनले नेपाल भमण वर्ष २०२५ मनाइरहेको बताइन् । भगिनी सहर सम्बन्ध, कन्फुसियस कक्षाको सञ्चालनलगायतका कारण आपसी संस्कृति बुझाइको दायरा फराकिलो भएको सुनाउँदै उनले पर्यावरणको क्षेत्रमा सहकार्यका सम्भावना औंल्याइन् ।
हपेइ युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसअन्तर्गत नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिनले आपसी सम्बन्धको सारांश निकाल्दै सार्वभौमिकता तथा भौगोलिक अक्षुण्णताको सम्मान, उच्चस्तरीय राजनीतिक भ्रमणले निर्देशित द्विपक्षीय सम्बन्ध, व्यवहारिक सहयोगले दुबै देशका जनताका लागि निम्त्याएको फाइदा, जनस्तरीय आदानप्रदानले बढाएको आपसी बुझाई, क्षेत्रीय शान्ति तथा स्थिरताका लागि सहकार्य, एकअर्काप्रति समानताका आधारमा व्यवहार र आन्तरिक मामिलामा अहस्तक्षेप लगायतका कारणले चीन नेपाल सम्बन्ध सन्तुलित रहेको टिप्पणी गरे ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि चिनियाँ राजदूत छन सोङसँगको भेटमा नेपाली भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने बताएबाट नेपालले सधैँ नै एक चीन सिद्धान्तमा समान व्यवहार गर्दै आएको प्रस्ट पारेकी थिइन् । साथै उनले नेपालमा आमनिर्वाचन भएर आउने नयाँ सरकारले छिट्टै नै स्थिरता र विकासलाई गति दिने विश्वास प्रकट गरे ।
मंगलबार नेपाली दूतावास तथा सीआईआईएसको संयुक्त आयोजनामा 'नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवः दृष्टिकोण तथा प्रतिबिम्ब' विषयक विचार गोष्ठीमा नेपालस्थित परराष्ट्र मामिला जानकारहरूले भर्चुअल माध्यमबाट दृष्टिकोण राखेका थिए ।
चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, थाइल्यान्डका लागि पूर्व नेपाली राजदूत एवं नीति अनुसन्धान प्रतिष्ठानका सिनियर रिसर्च फेलो खग अधिकारी, त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीलगायतले नेपाल चीन सम्बन्धको विगत र वर्तमान केलाउँदै भविष्यमा आपसी सहकार्यका अनेक सम्भाव्यता औंल्याए ।
इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको नेपाल अध्ययन केन्द्रका अनुसन्धाता सरोज गौतमले 'नेपाल चीन व्यवहारिक सहयोगः अर्थतन्त्र, व्यापार, लगानी तथा जनस्तरीय आदानप्रदान' विषयक प्रस्तुति दिए । यस्तै गोष्ठीमा सीआईआईएसअन्तर्गत अन्तर्राष्ट्रिय रणनीति अध्ययनका लागि सहायक रिसर्च फेलो याङ छाओयुए र सिनियर रिसर्च फेलो थाङ छिफाङ, चाइनिज एकेडेमी अफ सोसल साइन्सकी अन्तर्राष्ट्रिय रणनीति प्रतिष्ठानकी एसोसियटेड रिसर्चर याङ स्याओफिङलगायतले नेपाल चीन आगामी भविष्यका विविध आयामबारे विवेचना गरे ।
