प्रहरी भन्छ- 'कहिल्यै नाम नसुनिएको समूहले गरेको पत्रका आधारमा विद्यालय बन्द भए ।'
What you should know
काठमाडौँ — अज्ञात पार्टीको विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक हडतालका कारण सोमबार काठमाडौं उपत्यकाका केही शिक्षण संस्थाका बालबालिका पढाइबाट वञ्चित भए ।
जनपक्षीय विद्यार्थी युनियन, नेपालका नाममा उपत्यकाव्यापी शैक्षिक हडताल भन्दै प्रेषित पत्र पाएपछि शैक्षिक संस्थाहरूले विद्यालय बन्द गरेका हुन् ।
कतिपय विद्यालयले अघिल्लो दिनमै विद्यालय बन्द हुने जानकारी दिएका थिए भने केहीले सोमबार बिहान विद्यार्थी र अभिभावकलाई खबर गरेका थिए । कतिपय विद्यार्थी भने बन्दको हल्लापछि विद्यालय पुगेर फर्केका थिए । विद्यार्थी युनियनले उपत्यकाका शैक्षिक संस्थाहरूमा शैक्षिक हडतालसम्बन्धी पत्र पठाएको थियो । ‘जनविरोधी शिक्षा प्रणाली, व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीविरुद्ध सही जनपक्षीय शक्तिहरूको संगठित विद्रोह हो,’ पत्रमा भनिएको छ, ‘स्वतन्त्रताले बन्धनका विरुद्ध, जनपक्षीय लोकतन्त्रले बुर्जुवा निरंकुशताका विरुद्ध, सर्वहारा वर्गले साम्राज्यवादी पुँजीवादका विरुद्ध विद्रोह गर्नु अपरिहार्य छ ।’
उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले कहिल्यै नाम नसुनिएको समूहले गरेको पत्रका आधारमा विद्यालय बन्द गरेको थाहा पाएको बताए । ‘प्रहरी मिराज ढुंगाना र लघुवित्त समूहले घोषणा गरेको प्रदर्शनमा केन्द्रित भएर परिचालित छ, सबै स्कुलहरू खोल्न सक्ने गरी सुरक्षा वातावरण थियो,’ उनले भने, ‘तर, विद्यालय बन्द गरिएपछि त्यसबारे बुझ्ने काम भइरहेको छ ।’
निजी तथा आवासीय विद्यालय संगठन, नेपालका एक पदाधिकारीले केही व्यक्ति चन्दा माग्न आएको तर नदिएपछि हडताल गरेको दाबी गरे । ‘प्रहरी प्रशासनलाई शान्तिसुरक्षा मिलाएर विद्यालय खुलाउने वातावरण बनाउन सहयोगका लागि आग्रह गरेका थियौं,’ उनले भने, ‘छिटपुट प्रभाव पर्यो ।’ काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले विद्यालयहरूले कस्तो सूचना पठाए र किन बन्द गरे भन्ने आफूलाई जानकारी नभएको बताए । ‘विद्यालयले के गर्यो भन्ने विषयमा जानकारी भएन तर सुरक्षा व्यवस्थामा कुनै कमी छैन,’ उनले भने ।
जनपक्षीय विद्यार्थी युनियन, नेपालका अध्यक्ष सुनिता बुढाथोकीका नाममा विद्यालयहरूमा पत्र पुगेको थियो । बुढाथोकीले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक र नेपाली नागरिकले यही निर्वाचनदेखि मतदान गर्न पाउने व्यवस्था गरियोस् भनेर हडताल गरेको बताइन् । ‘संविधानमा उल्लेख गरिएअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा होस् भनेर दबाब दिन पनि हडताल गरेको हो,’ उनले भनिन्, ‘हाम्रो हडतालको कार्यक्रम सफल भएको छ ।’ जनपक्षीय युनियन कस्तोखाले संस्था हो ? भन्ने प्रश्नमा उनले यो नेकपा जनपक्षीय पार्टीको विद्यार्थी संगठन भएको बताइन् । यो पार्टी निर्वाचन आयोगमा हालसम्म दर्ता भएको देखिँदैन । उनका अनुसार पार्टीका अध्यक्ष महेन्द्र मल्ल छन् । उनी पूर्वमाओवादी हुन् ।
