समूहकी अध्यक्ष भन्छिन् – यो जनपक्षीय पार्टीको भ्रातृ संगठन हो
What you should know
काठमाडौँ — अज्ञात पार्टीको विद्यार्थी संगठनका नाममा उपत्यकाका शैक्षिक संस्थाहरूमा गएको एउटा पत्रका कारण सोमबार विद्यालयहरू बन्द भएका छन् । जनपक्षीय विद्यार्थी युनियन, नेपालको नाममा उपत्यकाव्यापी शैक्षिक हड्ताल भन्दै प्रेषित पत्र पाएपछि शैक्षिक संस्थाहरूले विद्यालय बन्द गरेका हुन् ।
‘जनविरोधी शिक्षा प्रणाली, व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीविरुद्ध सही जनपक्षीय शक्तिहरुको संगठित विद्रोह हो,’ पत्रमा भनिएको छ, ‘स्वतन्त्रताले बन्धनका विरुद्ध, जनपक्षीय लोकतन्त्रले बुर्जुवा निरंकुशताका विरुद्ध, सर्वहारा वर्गले साम्राज्यवादी पुँजीवादकाविरुद्ध विद्रोह गर्नु अपरिहार्य छ ।’
उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले यो कहिल्यै नाम नसुनिएको समूहले गरेको पत्रका आधारमा स्कुलहरूले बन्द गरेको थाहा पाएको बताए । ‘आज प्रहरी मिराज ढुंगाना र लघुवित्त समूहले घोषणा गरेको प्रदर्शनमा केन्द्रित भएर परिचलित छ, सबै स्कुलहरू खोल्न सक्नेगरी सुरक्षा वातावरण थियो,’ उनले कान्तिपुरसँग भने, ‘तर, बन्द गरिएपछि त्यसबारे बुझ्ने काम भइरहेको छ ।’
निजी तथा आवासीय विद्यालय संगठन, नेपालका एक पदाधिकारीले चाहिँ केही व्यक्तिहरु चन्दा माग्न आएको तर, नदिएपछि हड्ताल गरेको दाबी गरे । ‘प्रहरी प्रशासनलाई शान्ति सुरक्षा मिलाएर विद्यालय खुलाउने वातावरण बनाउन सहयोगका लागि आग्रह गरेका छौं,’ उनले भने, ‘आज छिटपुट प्रभाव परेको छ ।’
काठमाडौं प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले विद्यालयहरूले कस्तो सूचना पठाए र किन बन्द गरे भन्ने आफूलाई जानकारी नभएको बताए । ‘विद्यालयले के गर्यो भन्ने विषयमा जानकारी भएन, तर सुरक्षा व्यवस्थामा कुनै कमी छैन,’ उनले भने ।
कसले गर्यो बन्द आह्वान ?
जनपक्षीय विद्यार्थी युनियन, नेपालका अध्यक्ष सुनिता बुढाथोकीका नाममा विद्यालयहरूमा पत्र पुगेको थियो । उनै बुढाथोकीले कान्तिपुरसँग कुरा गर्दै आफूहरूले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक र नेपाली नागरिकले यही निर्वाचनदेखि मतदान गर्न पाउने व्यवस्था गरियोस् भनेर हड्ताल गरेको बताइन् ।
‘संविधानमा उल्लेख गरिएअनुसार माध्यमिक तहसम्म निःशूल्क शिक्षा होस् भनेर दबाब दिन पनि यो हड्ताल हो,’ उनले भनिन्, ‘आजको हाम्रो हड्तालको कार्यक्रम सफल पनि भएको छ ।’ जनपक्षीय युनियन कस्तो खाले संस्था हो ? भन्ने प्रश्नमा उनले यो नेकपा जनपक्षीय पार्टीको विद्यार्थी संगठन भएको बताइन् । यो पार्टी निर्वाचन आयोगमा हालसम्म दर्ता भएको देखिँदैन । उनका अनुसार, पार्टीका अध्यक्ष महेन्द्र मल्ल छन् । उनी पूर्वमाओवादी हुन् ।
यस्ता छन् उनीहरूले अघि सारेका माग
