राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक प्रतिनिधिबीचको बैठकमा जेन-जी प्रतिनिधि भावना राउतले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ अन्तरजिल्ला भोट हाल्ने व्यवस्था गर्नुपर्ने माग राखेकी हुन् ।
काठमाडौँ — प्रतिनिधिसभाको फागुन २१ का लागि तोकिएको निर्वाचनमा अन्तरजिल्ला भोट गर्ने व्यवस्था हुन्छ कि हुँदैन भनेर जेन-जी प्रतिनिधि भावना राउतले सरकार र निर्वाचन आयोगसँग प्रश्न गरेकी छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक प्रतिनिधिबीचको बैठकमा राउतले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ अन्तरजिल्ला भोट हाल्ने व्यवस्था गर्नुपर्ने माग राखेकी हुन् ।
अन्तरजिल्ला भोट हाल्ने कानुनी व्यवस्था गरेर कार्यान्वयन गर्नका लागि लामो समयदेखि जेन-जीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला भोटिङको माग गरिएको राउतको भनाइ छ । 'सरकार र निर्वाचन आयोगले भनिदिनुपर्यो प्रत्यक्ष र समानुपातिकमा अन्तरजिल्ला भोट गर्ने व्यवस्था हुन्छ कि हुँदैन ? अन्तरजिल्ला प्रत्यक्ष र समानुपातिकको सम्भव छ कि छैन भनिदनुस्,' उनले भनिन्, 'म १६ वर्षको हुँदाखेरि मतदाता परिचयपत्र बनाएको हो तर अहिलेसम्म मतदान गर्न पाएको छैन । म काठमाडौंमा काम गर्छु । झापा मेरो घर हो । मैले चुनावका लागि १० हजार तिरेर झापा जाने अवस्था सरकारले बनाएको छैन । मेरो मताधिरका नखोसिदिनुस् ।'
विगतमा पनि अन्तरजिल्ला भोटिङको व्यवस्था भएको स्मरण गराउँदै राउतले भनिन्, 'यो पटक पनि अन्तरजिल्ला मतदान नहुने हो भने सहिद र घाइतेको अपमान हुन्छ । यो नहुने हो भने सरकारले हात उठाइदिनुस् । तपाईंहरूको प्राथमिकता निर्वाचन होइन भन्ने स्पष्ट हुन्छ ।'
