महाप्रजापति गौतमीको पाइला पछ्याउँदै १३ मुलुकका भिक्षुणी

शाक्यवंशीय महारानी प्रजापति गौतमी भिक्षुणी बन्न अनेकन दुःखकष्ट झेल्दै राजप्रासाद तिलौराकोट कपिलवस्तुबाट भारतको बैशाली पुगेको प्राचीन पदमार्ग पछ्याउँदै एक सय जना भिक्षुणीहरु हिँडेका छन् ।

पुस ७, २०८२

मनोज पौडेल

Nuns from 13 countries following in the footsteps of Mahaprajapati Gautami

What you should know

पश्चिम नवलपरासी — भिक्षुणीको समूह काेही नदी तर्न डुंगा चढ्ने तयारी थिए, कसैले डुंगा चढेर नदी पार थिए । तराईको कठ्याङ्ग्रिँदो चिसोमा उनीहरू घुम्न र सयर गर्न भने डुंगा चढेका हैनन् । करिब २ हजार ६ सय १६ वर्षअघि शाक्यवंशीय महारानी महाप्रजापति गौतमीले गरेको यात्राको पाइला पछ्याउँदै उनीहरू अनोमाघाट (नारायणी नदी) तर्दै गरेको दृश्य हो यो ।

शाक्यवंशीय महारानी प्रजापति गौतमी भिक्षुणी बन्न अनेकन् दुःखकष्ट झेल्दै राजप्रासाद तिलौराकोट कपिलवस्तुबाट भारतको बैशाली पुगेको प्राचीन पदमार्ग पछ्याउँदै एक सय जना भिक्षुणीहरू हिँडेका छन् ।

‘महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल’ नाम दिएर १३ देशका भिक्षुणीहरू हिँडेका हुन् । उनीहरू धूलाम्ये बाटो, खेतखलो र नदीखोला तर्दै यात्रा गरिरहेका छन् । तीन दिन नेपाली भूभागको यात्रा सकेर उनीहरू भारतमा यात्रारत छन् । नयाँ पर्यटन ‘प्रडक्ट’का रूपमा विकास गरी आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न नेपाल र भारतका पर्यटन उद्यमीले यो पहल थालेका हुन् । 

गत बुधबार शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको ठाउँ तिलौराकोटमा पूजाआजा गरी यात्रा सुरु गरिएको थियो । तिलौराकोटमै २४ जना महिला १० दिनका लागि प्रबज्जया (भिक्षुणी) बनेर यात्रामा सहभागी भए । बिहीबार बिहान ६ बजे कुहिरोकै बीचमा तिलौराकोटस्थित पूर्वीद्वारबाट यात्रा थालिएको थियो । तिलौराकोट, निग्रोधाराम हुँदै लुम्बिनी, रामग्राम र अनोमाघाट (सुस्ता) पुगेको भारतीय अध्येता तथा ‘महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल’ कार्यक्रमका कोअर्डिनेटर दीपक आनन्दले बताए । अनोमाघाटमा भिक्षुणीले नदी तरेका थिए । त्यसपछि टोली सुनौली फर्किएर शनिबार भारत प्रवेश गरेको थियो । 

भारतमा बाल्मिकीनगर, नन्दनगढ, लौरिया अरेराज, केसरिया हुँदै यात्रा बैशाली पुगेर बुधबार सकिनेछ । ३ सय किलोमिटरको यात्रा एक साता लगाएर पुस ९ गते सकिनेछ । यात्रामा नेपाल, भारत, थाइल्याण्ड, अमेरिका, क्यानाडा, भियतनाम, कम्बोडिया, श्रीलंका, सिंगापुर र अस्ट्रेलिया लगायतका १३ मुलुकका भिक्षुणी सहभागी छन् ।

Nuns from 13 countries following in the footsteps of Mahaprajapati Gautami

भिक्षुणीहरू दैनिक ५/७ किलोमिटर पैदल र त्यसपछि बसमा हिँडेर यात्रा पूरा गर्ने कार्यक्रमका कोअर्डिनेटर आनन्दले बताए । कार्यक्रम नेपाल र भारतका ६५ र अन्य मुलुकका ३५ जना भिक्षुणी सहभागी छन् । ‘महारानी प्रजापति गौतमी भिक्षुणी बन्न कति दुःखकष्ट गर्नु भएको रहेछ भन्ने अनुभूति गराउन कार्यक्रम गरिएको हो,’ कोअर्डिनेटर आनन्दले भने, ‘अहिले त सवारीसाधन छन् । त्यतिखेर पैदलबाहेक विकल्प थिएन । कसरी हिँडेर पुगे होलान् भन्ने अनुभूति गराउनु थियो ।’ 

हिँड्दा भएको दुःखकष्टसँगै शान्तिको अनुभूतिले जीवनमा नयाँ ऊर्जा थपिएको कम्बोडियन भिक्षुणी धम्म अनुसार्यले बताइन् । ‘यात्राका बारेमा सुनेर सहभागी हुन कम्बोडियाबाट आएँ,’ उनले भनिन्, ‘महारानी प्रजापतिको चरण परेको ठाउँलाई स्पर्श गर्दै यात्रा गर्दा गज्जबको पुण्य संचय गरेँ । जुन जीवनका लागि सधैं अविस्मरणीय रह्यो ।’ 

Nuns from 13 countries following in the footsteps of Mahaprajapati Gautami

यो ट्रेलका बारेमा ८ वर्षदेखि अध्ययन गरिरहेका भारतीय अध्येता दीपक आनन्दले बताए । ‘नेपाल र भारतका कतिपय ठाउँमा पैदलै घुमेँ । धेरै तथ्य पत्ता लगाएँ,’ उनले भने, ‘यो ट्रेलका बारेमा भन्दा धेरैले प्रशंसा गरे । नयाँ केही गरेको हाेइन, दुई देशको सम्पदा जोड्ने काम गरेको हुँ ।’ अहिले नेपाल– भारत दुवै देशको संयुक्त जीवन्त हेरिटेज बनेको देख्दा खुसी लागेको उनले बताए । यो यात्रा सम्पन्न गर्न अमेरिकाकी प्रतिष्ठित भिक्षुणी तथालोका महाथेरीको सहयोगले पनि उत्तिकै बल पुगेको उनले बताए । 

लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेसनल भारतको संयोजनमा युनाइटेड थेराबाद भिक्षुणी संघ इन्टरनेसनल, नव नालन्दा महाविहार, नालान्दा विश्वविद्यालय र नेपालको बुद्ध सर्किट्स डटकमले कार्यक्रम आयोजना गरेका हुन् । धेरैले बिर्सिएको बुद्धकी माताको चरण पछ्याउन पाउँदा भाग्यमानी भएको अस्ट्रेलियाबाट आएकी भिक्षुणी शान्ताचारीले बताइन् । ‘उनको यो महान र बलिदानीपूर्ण कामका लागि महारानी प्रजापतिको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यसैले बुद्धलाई जन्म दिने माटोका नेपाली सधैं खुसी र आनन्दमा बस्छन्,’ उनले भनिन्, ‘महिला मुक्तिका लागि प्रजापतिले करिब ५ सय माइल खाली खुट्टा हिँडेर अनेक दुखकष्ट सहँदै पाइतालामा फोरा पारेर भिक्षुणी भइन् । जसका कारण आफू अहिले भिक्षुणी हुन पाएँ ।’ 

Nuns from 13 countries following in the footsteps of Mahaprajapati Gautami

महाराजा शुद्धोदनको मृत्युपछि बिरत्तिएर महारानी प्रजापति भिक्षुणी बन्न खोजेकी थिइन् । गौतमबुद्ध ज्ञान प्राप्त गरेर दुई पटक कपिलवस्तु आउँदा उनले भिक्षुणी बनाउन आग्रह गरेकी थिइन् । तर, बुद्धले इन्कार गरे । बुद्धले बुद्धत्व प्राप्त गरेको ६/७ वर्षपछि उनी र यशोधरासहित ५ सय शाक्य महिला भिक्षुणी बन्न हिँडेर बैशाली पुगेका थिए । महिलाको दु:ख, पीडा, फाँटेका कपडा र उनीहरूको कमजोर शारीरिक अवस्था देखेर बुद्धका प्रमुख शिष्य आनन्दले बुद्धसँग परामर्श गरे । त्यसपछि बुद्धले भिक्षुणी संघ स्थापना गर्न स्विकृति प्रदान गरे । अनि ५ सय शाक्य महिला भिक्षुणी बनेको बौद्ध साहित्यमा उल्लेख भएको वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बताए । ‘यो प्रेरणामूलक र नौलो आध्यात्मिक पर्यटन प्रडक्ट हो,’ उनले भने, ‘यसबाट विश्वका धेरै आमालाई आकर्षित गर्न सकिन्छ । नयाँ अद्वितीय पर्यटनको गन्तव्य बन्छ ।’ 

Nuns from 13 countries following in the footsteps of Mahaprajapati Gautami

ईसापूर्व छैटौं शताब्दीमा महाप्रजापति गौतमीले गरेको यात्रा यो ऐतिहासिक र सन्देशमूलक थियो । त्यही यात्रा ब्यूताउन आफूले लामो समय अध्ययन, अनुसन्धान गरेर अहिले कार्यक्रम गर्न पाउँदा शान्ति पर्यटनमा नयाँ आयाम थपिएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाडेकाँजीले बताए । यो यात्राले दुई देशीय ‘हेरिटेज’ पर्यटनमा कोसेढुंगा थप्ने उनले बताए ।  

बैशाली तत्कालीन अवस्थामा भज्जी राज्यको राजधानीका रूपमा रहेको थियो । त्यहाँ बस्ने लिच्छवि जाति बुद्धको अनुयायी र भक्त थिए । लिच्छविले बुद्धलाई दुईवटा विहार बनाइदिएका थिए । बुद्धले अन्तिमसहित दुई वटा वर्षाबास बैशालीमा बसेका थिए । त्यही भएर बैशाली शान्तिका अनुयायीका लागि श्रद्धा र आस्थाको स्थल मानिन्छ । 

मनोज पौडेल

Link copied successfully