१० पुसमा हुने दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्म सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिँदै
What you should know
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा २७ पदक र पुरस्कार वितरण हुने भएको छ । स्नातकदेखि विद्यावारिधिसम्म सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पदक र पुरस्कार प्रदान गरिने त्रिविले जनाएको छ ।
१० पुसमा दशरथ रंगाशालामा ४२ हजार विद्यार्थी तथा अभिभावकको उपस्थितिमा त्रिविले ५१औं दीक्षान्त समारोह गर्न लागेको जनाएको छ । उपकुलपति दीपक अर्यालका अनुसार समारोहमा नोबेल पुस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुनेछन् । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
व्यवस्थापन संकाय एमफिलमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विशाल जोशीले ‘त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक’ प्राप्त गर्ने भएका छन् । उनी ३.९४ जीपीए प्राप्त गरेर सर्वप्रथम भएका थिए । एमबीएममा ३.९३ जीपीए ल्याई सर्वप्रथम हुने रक्षा कटुवालले ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ पाउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एमएस्सी वातावरण विज्ञानमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने निरु बस्नेतले ‘मदन–विद्या वातावरण विज्ञान पदक र पुरस्कार’ पाउने भएकी छन् । उनले ३.९२ जीपीए प्राप्त गरेकी थिइन् ।
एमए अंग्रेजी साहित्यमा ३.९१ जीपीएसहित सर्वप्रथम हुने आग्या अवालेले ‘नरेन्द्रमणि आचार्य दीक्षित पदक’ प्राप्त गर्दै छिन् । उनले ‘डा.मोहनप्रसाद लाखे पुरस्कार’ पनि प्राप्त गर्ने कार्यालयले जनाएको छ । छात्र सुनिल पुडासैनीले ‘नेपाल बैंक सरदार गुञ्जमान सिं स्वर्ण पदक’ प्राप्त गर्ने भएका छन् । उनले एमबीएस परीक्षामा ३.८२ जीपीए ल्याएका थिए । सरस्वती क्याम्पसकी समिता महर्जनले एमबीएस परीक्षामा महिलाहरूमध्येबाट प्रथम भएर ‘रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार’ प्राप्त गर्ने भएकी छन् । उनले ३.७९ जीपीए ल्याएकी थिइन् ।
त्यस्तै ‘बडाकाजी मरिचमान सिं पदक’ राजनीतिकशास्त्र एमएमा सर्वप्रथम प्रतिभा पौडेलले प्राप्त गर्ने भएकी छन् । ३.७९ जीपीए ल्याएकी उनले ‘ललित चन्द पुरस्कार’ समेत पाउने त्रिविले जनाएको छ । बुटवल बहुमुखी क्याम्पसका छात्र कमल पौडेलले भने तीन वटा पदक तथा पुरस्कार प्राप्त गर्ने भएका छन् ।
एमए अर्थशास्त्रमा सर्वोत्कृष्ट नतिजा ल्याएका उनले ‘तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार’ प्राप्त गर्नेछन् । उनले ३.७७ जीपीए ल्याएका थिए । काठमाडौं कलेज अफ साइन्स एन्ड टेक्नोलोजी कालीमाटीका रवीन्द्र पण्डितले ३.७६ जीपीए प्राप्त गरेका थिए । एमएस्सी माइक्रोबायोलोजीमा सर्वप्रथम उनले ‘रुद्रकुमारी घिमिरे स्मृति पदक’ पाउनेछन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा ३.७९ जीपीए प्राप्त गर्ने सुजन लामिछानेले ‘डा. दुबसु क्षेत्री स्वर्ण पदक’ पाउनेछन् । पुस्तकालय विज्ञान विषयमा ३.७३ जीपीएसहित सर्वप्रथम रस्मिता कार्कीले ‘शान्ति नारायण मिश्र पदक’ पाउँदै छिन् । पत्रकारिता तथा आमसञ्चार एमए तहमा ३.७३ जीपीए ल्याउने अनुशा रोकाले ‘नारायण शान्ति मिश्र पदक’ प्राप्त गर्दै छिन् ।
कृषि स्नातकोत्तरमा ८८.३३ प्रतिशत अंक ल्याउने श्रृष्टि पोखरेलले ‘गोविन्द रिजाल प्राज्ञिक उत्कृष्ट पदक’ प्राप्त गर्ने त्रिविको सूचीमा उल्लेख छ । त्यस्तै एमए समाजशास्त्रका सर्वप्रथम छात्र सौरभ कोइरालाले ‘सुमन रिजाल पदक’ पाउनेछन् । उनले ३.७० जीपीए ल्याएका थिए । आर्यान भट्टराई भाषा विज्ञान एमए तहमा ३.६३ जीपीए ल्याएर सर्वप्रथम भएका थिए । उनले ‘रामविक्रम, शान्ता सिजापति पदक’ पाउनेछन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार स्नातक तहतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने ८ जना छात्रछात्राले पदक र पुरस्कार पाउनेछन् । ‘भाइस चान्सलर पदक’ फुर्वा शेर्पाले प्राप्त गर्नेछन् । स्नातक तहमा ३.९८ जीपीए ल्याएका शेर्पाले ‘भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक’ समेत पाउनेछन् । उनले व्यापार प्रशासन (बीबीए) विषय पढेका थिए । होटल म्यानेज्मेन्टमा स्नातक तह सर्वप्रथम उबेन्द्रकुमार तामाङले ‘प्रितम चित्रकार पुरस्कार’ पाउँदै छन् । उनले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल क्यानेज्मेन्टबाट ३.९८ जीपीए ल्याएका थिए ।
बीएलएलबी सर्वप्रथम नेपाल ल क्याम्पसकी भावना अधिकारीले ‘लोकराज ज्ञवाली पदक र पुरस्कार’ प्राप्त गर्दै छिन् । उनले ३.८० जीपीए ल्याएकी थिइन् । सिभिल इन्जिनियरिङमा ८६.०५ प्रतिशत अंक ल्याउने गौरव भुसालले ‘शिवराज पन्त स्मृति पुरस्कार’ पाउनेछन् । बीबीएसमा मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाबाट ८०.२५ प्रतिशत अंक ल्याउने अन्वेश पोखरेलले ‘नेपाल बैंक छत्रबहादुर पदक’ प्राप्त गर्ने भएका छन् ।
बीएस्सी माइक्रोबायोलोजीमा ८४ प्रतिशत अंक ल्याउने सेन्ट जेभियर्स कलेज माइतीघरकी अग्रनी पौडेलले ‘टीकाबल्लभ डिलकुमारी घिमिरे स्मृति पदक’ पाउने त्रिविले जनाएको छ । चारवर्षे बीए कार्यक्रममा महिलामध्येबाट सर्वप्रथम के एन्ड के इन्टरनेसनल कलेज बानेश्वरकी छात्रा सुभाषी कार्कीले ‘ज्ञानप्रसाद पुरस्कार’ प्राप्त गर्ने भएकी छन् । उनले ८४.३५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । उनीहरूलाई दीक्षान्त समारोह स्थलबाट पदक र पुरस्कार वितरण गरिनेछ । उनीहरूको सूची शनिबारको गोरखापत्रमा प्रकाशित गरिएको छ ।
