सर्वपक्षीय बैठकमा सरकारले माग्यो तीन विषयमा सुझाव, 'नाे भाेट'देखि प्रवासमा रहेकाहरूकाे मतदानसम्म

यी विषय सम्बोधनका लागि सरकारले निर्वाचनसँग सम्बन्धित चारवटा ऐन संशोधनको तयारी गरेको छ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

In an all-party meeting, the government sought suggestions on three issues, from 'No Vote' to voting for those living abroad

काठमाडौँ — सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बाेलाएकाे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयले तीनवटा विषयमा सुझाव मागेको हो । सरकारले विदेशमा रहेका नेपालीलाई मतदानकाे अधिकार दिनेबारे, अन्तर निर्वाचन क्षेत्र मतदान र नो भोटको प्रावधानबारे दल र नागरिक समाजसहितसँग सुझाव माग गरेको हो ।

यी तीन विषयलाई सम्बोधन गर्ने गरी सरकारले निर्वाचनसँग सम्बन्धित चारवटा ऐन संशोधन गर्न लागेको पनि जानकारी गराइएको छ । गृह मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेकाले त्यसमा सुधार गर्न सुझाव माग गरेको हो ।

विधेयकमा विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, विदेशस्थित नेपाली नियोगलाई मतदान स्थलको रुपमा प्रयोग गर्न सकिने विषय समावेश भएका छन्  । नेपालमै रहेका तर आफ्नो नाम रहेको मतदान केन्द्र वा मतदान स्थल पुग्न नसकेकालाई अर्को निर्वाचन क्षेत्रबाट समेत मतदान गर्न सकिने प्रावधान पनि विधेयकको मस्यौदामा छ । 

यसका साथै निर्वाचनमा उम्मेदवार रहेका कुनै पनि व्यक्तिलाई मत दिन्न भन्ने विषयसमेत मतपत्रमा राखिने सम्बन्धी नो भोटको प्रावधान लागू गर्ने विषय  पनि विधेयकमा समेटिएको छ । 

यसअघि नीति अध्ययन प्रतिष्ठानले पनि विदेशमा रहेका नेपालीहरुलाई मतदानकाे अधिकार दिने बारे अध्ययन गरेको थियो ।  प्रतिष्ठानले तयार पारेको अध्ययन सरकारलाई बुझाएको थियो ।

कान्तिपुर

Link copied successfully