सुधन गुरुङले भनेझैं जेनजी-सरकार सम्झौतामा राष्ट्रपति कार्यालयले हस्ताक्षर गर्नुपर्छ ?

राष्ट्रपतिका कानुनी सल्लाहकार भन्छन्- 'राष्ट्रपतिले कानुन र संविधानभन्दा बाहिर गएर सरकारले विभिन्न पक्षसँग गरेका सम्झौता जारी गर्न मिल्दैन ।'

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Should the President's Office sign the Genji-government agreement, as Sudhan Gurung said?

काठमाडौँ — जेन-जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङले आइतबार 'महत्वपूर्ण सूचना' भन्दै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गरे ।

जसमा उनले जेन–जी र सरकारबीचको सम्झौता प्रधानमन्त्री सुशीला कार्कीबाट हस्ताक्षर भई राजपत्रमा प्रकाशित भइसक्दा पनि राष्ट्रपति रामचन्द्र पौडेलबाट हस्ताक्षर नभएको आरोप लगाएका छन् । उनले हस्ताक्षर गर्न राष्ट्रपतिले आनाकानी गरेको तर्क गरेका छन् ।

गुरुङले 'जेन–जी र सरकारबीचको सम्झौताअनुसार भ्रष्टाचारी तथा हत्यारामाथि छानबिन र कारबाही अघि बढ्न नसकेको, बरु भदौ २३/२४ का घटनालाई आधार बनाएर झुटा र अभद्र मुद्दामा फसाई जेन-जीका कार्यकर्ता तथा पीडित पक्षलाई पक्राउ गरिएको' आरोप लगाएका छन् । उनले मुद्दा र धरौटीका कारण रिहाइ हुन नसकेका पीडित पक्षका परिवारलाई अबदेखि रिहाइसम्बन्धी विषयमा सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल तथा उनका स्वकीय सचिवलाई सम्पर्क गर्न भनेका छन् । उनले गृहमन्त्री अर्याल, उनका स्वकीय सचिव धीरज जोशी र गृहसचिव रामेश्वर दंगालको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

के सुधनले भनेजस्तो राष्ट्रपति कार्यालयले जेन-जी र सरकारबीच भएको सम्झौतामा हस्ताक्षर नगरेको हो ?

हामीले यही प्रश्न राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरलाई सोध्यौँ । उनले राष्ट्रपतिले कानुन र संविधानभन्दा बाहिर गएर सरकारले विभिन्न पक्षसँग गरेका सम्झौताहरू जारी गर्ने नमिल्ने बताए । उनले भने, ‘राष्ट्रपतिले विधेयक र कानुन जारी गर्ने हो ।’

जेन-जी सरकार सम्झौताको मस्यौदा निर्माणमा कानुनविद्को रूपमा क्रियाशील संविधानविद् एवं वरिष्ठ अधिवक्ता राजु चापागाईंले जेन-जी र सरकारबीच भएको सम्झौतामा राष्ट्रपतिले हस्ताक्षर गर्न नपर्ने बताए । उनले राजपत्रमा प्रकाशित भएपछि त्यो सरकारको आधिकारिक दस्ताबेज भइसकेको बताउँदै भने, ‘आधिकारिक दस्ताबेज भएपछि राष्ट्रपतिकै भइहाल्यो नि ।’

२५ मंसिरमा जेन-जी आन्दोलनका प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौता भएको थियो । जसलाई भोलिपल्टै अर्थात् २६ मंसिरमा बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो ।

जेन-जी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन-जी (सुधन गुरुङ समूह) र जेन-जी फ्रन्ट (रक्षा बम समूह) लगायत समूहसँग सरकारले सम्झौता गरेको थियो । सम्झौतामा संविधान सुधार आयोग गठनदेखि निर्वाचन प्रणाली सुधारसम्मका विषय उल्लेख छन् । यद्यपि, संविधान र निर्वाचन प्रणालीसँग जोडिएका अधिकांश सम्झौता संसद्मा छलफल भएर कानुन बन्नुपर्ने देखिन्छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully