फ्रन्टका कार्य अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउने उद्देश्यले सल्लाहकार परिषद् गठन गरिएको जेन–जी फ्रन्टले बताएको छ ।
काठमाडौँ — नेपाल जेन–जी फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ ।
फ्रन्टले आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टका कार्य अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउने उद्देश्यले सल्लाहकार परिषद् गठन गरिएको जानकारी दिएको छ । परिषद्मा डाक्टर रामजी राम, साधना राई, डाक्टर मीना पौडेल, आशुतोष तिवारी, मिलन पाण्डे, प्रगति राई, नवीन प्राचीन, दिव्येश गिरि, अनन्त अर्याल, रमेश पौड्याल, सस्मित पोखरेल, प्रमेश श्रेष्ठ र सरोज गौतम रहेका छन् ।
फ्रन्टले जेन–जी विद्रोहपछिको सङ्क्रमणकालीन समयबाट लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउने माध्यम भनेको सरकार र जेन–जीबीच भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधिसभाको चुनाव समयमै गराउने नै रहेको जनाएको छ ।
यसका लागि विभिन्न बहुपक्षीय सरोकारवाला संवाद र जनजागरण सभाजस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको पनि फ्रन्टले जनाएको छ ।
