धरानमा ४ महिनामा २ करोड १३ लाख ठगी

प्रविधिको तीव्र विकास, स्मार्टफोनको सहज पहुँच, बेरोजगारी र सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवाहरू ‘सजिलो कमाइ’को भ्रममा ठगको चंगुलमा फस्दै ।

पुस ६, २०८२

एलिना राई

20.13 crore fraud in Dharan in 4 months

What you should know

धरान — धरानमा पछिल्लो समय अनलाइन ठगीले गम्भीर रूप लिँदै गएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का ४ महिनामै २ करोड १३ लाख रुपैयाँभन्दा बढी रकम अनलाइन तथा बैंकिङ माध्यमबाट ठगिएको तथ्याङ्कले यस समस्याको भयावह अवस्था देखाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार बैंकिङ कसुर र अनलाइन ठगी दुवैमा उजुरीको संख्या बढ्दो क्रममा छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा बैंकिङ कसुरअन्तर्गत १२ जनाले उजुरी दर्ता गराएका छन् । ती उजुरीअनुसार १ करोड ५८ लाख रुपैयाँ ठगी भएको छ । त्यस्तै अनलाइन ठगीसम्बन्धी ६० वटा उजुरी दर्ता भएका छन्, जसबाट ५५ लाख रुपैयाँ ठगी भएको प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिए । उनका अनुसार हालसम्म ७ लाख रुपैयाँ मात्र पीडितलाई फिर्ता गरिएको छ भने बाँकी रकमको हकमा अनुसन्धान भइरहेको र सम्बन्धित बैंकहरूसँग पत्राचार गरिएको उनले बताए ।

गत आर्थिक वर्ष २०८१/८२ मा अनलाइन ठगीका १ सय १७ उजुरी दर्ता हुँदा १ करोड २५ लाख ७० हजार ९ सय रुपैयाँ ठगी भएको थियो । त्यस्तै बैंकिङ कसुरमा ४१ मुद्दा दर्ता हुँदा ८ करोड २५ लाख १९ हजार ३ सय ८१ रुपैयाँ ठगी भएको इलाका प्रहरी कार्यलय धरानको तथ्याङ्कले देखाएको छ । उक्त वर्षमा १ करोड ४९ लाख रुपैयाँ मात्र फिर्ता हुन सकेको प्रहरीले जनाएको छ । अनलाइन ठगीका पीडितहरूका अनुभवले ठगहरूले प्रयोग गर्ने तरिका क्रमशः परिष्कृत बन्दै गएको देखाउँछ । 

धरान–१५ निवासी रवि यादव टेलिग्राम एपमार्फत अनलाइन टेन्डरको काम गर्ने प्रस्तावमा परे । वाट्सएपमा अपरिचित नम्बरबाट एउटा लिंक आयो । के–कसो रहेछ भनेर खोल्दा सिधै टेलिग्राम एपमा एलिन्ना (एएलएलआइएनएनए) नामको आईडीमा पुग्छ । उक्त आईडीबाट अनलाइनमा घरमै बसेर थोरै लगानीमा पैसा कमाउन चाहनु हुन्छ भने टेन्डर हाल्नूस्, लगानीको एक सय प्रतिशत पूरा भएपछि लगानीसहित थप कमिसन आउने प्रलोभन देखाइन्छ ।

यादवले काम गर्न सहमत भएपछि उक्त आईडीको मानिसले १० हजार लगानी लगाउनु पर्ने बताउँछ । उनले तत्काल पैसा पठाउँछन् । ई–सेवा खातामा लगानी र कमिसनसहित २५ सय प्राप्त हुन्छ । उताबाट अर्को 'टास्क’ खेल्ने भए ५० हजार पठाउन भनिन्छ । अर्को टास्क पनि पूरा गरेपछि उनको खातामा ५ हजार आउँछ । अर्को टास्क खेल्ने भए १ लाख पठाउन भनिन्छ । ती व्यक्तिले पठाएको एनआईसी एसिया बैंकको खातामा पैसा पठाउँछन् । त्यसपछि उनको खातामा १० हजार कमिसन आउँछ । 

त्यसपछि त्यो व्यक्तिले २ लाख पठाउन भन्छ । उनले १ लाख पठाउँछन् । तर जवाफ आउँछ- ‘टास्क कम्प्लिट भएन, फेरि १ लाख पठाए अगाडि पठाएको रकम र कमिसनसमेत गरेर धेरै पैसा आउँछ ।’ यसरी पटक-पटक टास्क पूरा नभएको भनिन्छ र उनले फेरि ५ लाखसम्म पठाउँछन् । उताबाट फेरि ‘अब ५ पाँच लाख पठाउनूस्, सबै लगानीसहित फिर्ता आउँछ’ भनेर प्रलोभन देखाइन्छ । 

यसरी कमिसन बढ्ने आश्वासन दिँदै विभिन्न व्यक्तिका बैंक खातामा उनले ८ पटकमा विभिन्न नाम गरेका बेग्लाबेग्लै मान्छेको नाममा रहेको बैंक खातामा १० लाख रुपैयाँ पठाइसकेका हुन्छन् । अनलाइन ठगीबारे जानकारी हुँदाहुँदै पनि सुरुमा रकम फिर्ता आएकाले विश्वासमा परेर १० लाख रुपैयाँ गुमाउन पुगेको उनको भनाइ छ ।

यसैगरी धरान–१२ निवासी रामप्रसाद खनाल फेसबुक प्रयोग गर्दै गर्दा नबिल बैंकको लोगो प्रयोग गरिएको नक्कली एपमा ‘रकम जित्न सकिने’ सूचना देख्छन् । उक्त लिंक क्लिक गर्दा बैंकबाट आएको जस्तो देखिने ओटीपी नम्बर एपमार्फत मागिएको थियो । ओटीपी नम्बर टाइप गरी पठाएलगत्तै उनको नबिल बैंक खाताबाट ३ लाख रुपैयाँ कटौती भएको उनले बताए । पछि मात्र उक्त पेज र एप नक्कली भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको उनले जानकारी दिए ।

यस्तै वैदेशिक रोजगारीको लोभ पनि अनलाइन ठगीको अर्को माध्यम बनेको छ । धरान–१७ निवासी मीनबहादुर राई फेसबुकमा क्यानाडाका लागि तीन हजार कामदार मागिएको विज्ञापन देखेर सम्पर्कमा पुगे । सुरुमा २० हजार रुपैयाँ लाग्ने भन्दै नागरिकता, पासपोर्ट, फोटोसहितका कागजात पठाउन लगाइयो । त्यसपछि मेडिकल, भिसा प्रक्रिया र टिकट खर्च भन्दै क्रमशः रकम मागिँदै जाँदा ८ लाख ८१ हजार रुपैयाँ पठाइसकेको अवस्थामा अझै रकम माग्न थालेपछि आफू ठगिएको महसुस भएको उनले बताए ।

उता धरान–११ का सुरज विश्वकर्मा टेलिग्राममार्फत ६ लाख ६४ हजार रुपैयाँ ठगीमा परे । उनको हकमा ठगी झनै जटिल बन्यो । ह्व‍वट्स एपमा लगानी  सुरुमा आएको केही रकम आफूजस्तै अर्का पीडितले उनको खातामा पठाएको खुलेपछि ती व्यक्तिले उल्टै सुरजको खाताविरुद्ध उजुरी दिएका थिए । यसरी पीडित नै कानुनी झन्झटमा पर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

प्रहरीका अनुसार यस्ता घटना प्रतिनिधि मात्र हुन् । स–सानो रकममा ठगिएका धेरै पीडित उजुरी नगरी चुप लाग्ने गरेका छन् । प्रहरी नायब उपरीक्षक राईका अनुसार आफू धरान आएको केही महिनामा मात्र ३१ वटा ठगीसम्बन्धी उजुरी दर्ता भएको बताए । तीमध्ये चारवटा मात्र फर्स्योट भएका छन् भने बाँकी उजुरीमा बैंकमार्फत रकम रोक्का तथा प्राविधिक अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रविधिको तीव्र विकास, स्मार्टफोनको सहज पहुँच, बेरोजगारी र सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवाहरू ‘सजिलो कमाइ’को भ्रममा पर्ने गरेको उनको भनाइ छ । प्रहरी नायब उपरीक्षक राईका अनुसार धेरै सामाजिक सञ्जाल प्लेटफार्म नेपालबाहिर होस्ट भएकाले अनुसन्धान र नियन्त्रण प्रक्रिया जटिल बनेको छ । 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully