यसअघिका सरकार र नेताले देशमाथि गरेको अन्यायका अगाडि आफूमाथि भएको अन्याय केही पनि नभएको रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।
भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी नै रहेको बताएका छन् ।
तुलसीपुर उच्च अदालतको आदेशबमोजिम शुक्रबार साँझ जिल्ला अदालत रूपन्देहीबाट कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएपछि सम्बोधन गर्दै उनले समर्थकसमक्ष हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।
‘मैले अझै लड्न बाँकी छ, मेरा लागि लड्ने कुरा गरेको होइन,’ उनले भने, ‘तपाईं र यो देशको न्यायका लागि लड्न बाँकी छ भनेको हुँ ।’ यसअघिका सरकार र नेताले देशमाथि गरेको अन्यायका अगाडि आफूमाथि भएको अन्याय केही पनि नभएको उनले बताए । ‘यिनीहरुको हिसाब गर्नु छ,’ उनले भने, ‘त्यो हिसाब गरेपछि लामो बोलौंला ।’ मुलुकले चाँडै न्याय पाउने आशा गरेको पनि उनले बताए ।
प्रहरीको गाडीमा जिल्ला अदालत प्रवेश गरेका उनी निजी गाडीमा बाहिरिएका थिए । उनलाई अदालतको गेटबाट मुख्य सडकसम्म समर्थकले नाराबाजी गर्दै पुर्याएका थिए । ‘सबैको जय हो, मैले बोल्ने समय आउँदैछ,’ उनले भने, ‘केही समय धर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ ।’
