मन्त्री निवास नभएपछि नयाँ वनमन्त्रीको बास चिडियाखानामा : ओलीकै पालाका मन्त्रीले ३ महिनापछि पनि गर्दै छन् नियुक्ति

जेन–जी आन्दोलनबाट विस्थापित तत्कालीन सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय पुगे, आफू अहिले पनि अध्यक्ष रहेको भन्दै सदस्य सचिव नियुक्त गरेर हिँडे, पुनर्नियुक्ति पाएका नरेश सुवेदीले चिडियाखानामा बस्ने बन्दोबस्त गरिदिएकाले नयाँ वनमन्त्रीले पनि यो नियुक्तिलाई समर्थन गरेका छन्।

पुस ४, २०८२

दुर्गा दुलाल

New Forest Minister to live in zoo after no ministerial residence: Oli-era minister still making appointments after 3 months

What you should know

काठमाडौँ — जेन–जी आन्दोलनपछि २४ भदौमा केपी शर्मा ओली सरकार ढले पनि तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी भने अहिले पनि सोही हैसियतमा ‘राजकाज’ चलाइरहेका छन् । वनमन्त्रीका हैसियतमा त्यतिबेला राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष बनेका शाहीले अहिले पनि आफू सो पदमा कायम रहेको दाबी गर्दै बिहीबार कोषको सदस्य सचिव पदमा नरेश सुवेदीलाई नियुक्ति दिएका छन् ।

कांग्रेस र एमालेको सरकार बन्दा ३१ असार २०८१ मा शाही कांग्रेसको कोटाबाट वन तथा वातावरणमन्त्री बनेका थिए । तर जेन–जी आन्दोलनसँगै ओली सरकार ढलेपछि २७ भदौमा सुशीला कार्की प्रधानमन्त्री बनेकी हुन् । तर आफू मन्त्री नरहे पनि कोषको अध्यक्षमा यथावत् रहेको भन्दै बिहीबार सदस्य सचिवमा सुवेदीलाई नियुक्ति दिएका हुन् । 

२ पुसमा सदस्य सचिव सुवेदीको कार्यकाल सकिएको भोलिपल्टै उनलाई थप अर्को कार्यकालका लागि नियुक्ति गरिएको हो । सदस्य सचिवका रूपमा नियुक्ति पाएका सुवेदीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् । 

पूर्वमन्त्री शाहीले आफू मन्त्री पदबाट हटिसके पनि ऐनले अध्यक्ष कायमै राखेकाले सोही हैसियतमा नियुक्ति दिएको दाबी गरे । ‘मन्त्रीबाट हटेपछि स्वतः उक्त हैसियतमा पाएको पदबाट पनि मुक्त हुनुपर्ने हैन र ?’ भन्ने प्रश्नमा भने उनले ‘कुनै पनि प्रतिक्रिया नदिने’ भन्दै बोल्न अस्वीकार गरे ।

सरकारको संस्थागत नेतृत्व रहेको कोषमा अध्यक्षको जिम्मेवारी र अधिकार वनमन्त्री माधव चौलागाईंको हो । तर कोषको वेबसाइटमा अहिले पनि शाहीलाई नै अध्यक्ष राखिएको छ । 

‘मन्त्री गुमाएपछि शाही नै कसरी अध्यक्ष ?’ भनेर कान्तिपुरले सोध्दा कोषकी प्रवक्ता रचना शाहले कोषका संरक्षक (प्रधानमन्त्री) ले नयाँ व्यक्तिलाई मनोनयन नगरेको र वन मन्त्रालयमा पनि नयाँ मन्त्री नरहेको अवस्थामा शाही नै अध्यक्ष रहेको प्रतिक्रिया दिइन् । तर अहिले नयाँ मन्त्री आइसकेको स्मरण गराउँदा उनले टिप्पणी गर्न चाहिनन् । सरकारले कसैलाई अध्यक्ष तोकेर पठाएमा आफूले संशोधन गर्ने उनले बताइन् ।

New Forest Minister to live in zoo after no ministerial residence: Oli-era minister still making appointments after 3 monthsकोषमा राजतन्त्रमा राजाले अध्यक्ष मनोनीत गर्थे । गणतन्त्रसँगै वनमन्त्री अध्यक्ष मनोनीत हुँदै आएका छन् । यद्यपि, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमा वनमन्त्री प्रेमबहादुर आलेलाई अध्यक्षको जिम्मेवारी नदिई कृष्णप्रसाद ओलीलाई अध्यक्ष बनाएका थिए । त्यसबाहेक हरेक पटक वनमन्त्री नै कोषको अध्यक्ष रहँदै आएका छन् । 

सञ्चालक समिति बैठकको अध्यक्षता अध्यक्षले गर्ने भए पनि प्रशासनिक कार्यकारी भूमिका सदस्य सचिवको रहन्छ । करिब डेढ अर्ब बजेट रहेको कोषले अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षण क्षेत्र र ललितपुरस्थित सदर चिडियाखाना सञ्चालन गर्दै आएको छ । 

कोषका अध्यक्षले सदस्य सचिव मनोनीत गर्ने व्यवस्था राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ मा छ । सदस्य सचिवको कार्यकाल ५ वर्षको हुन्छ । सुवेदीले यसअघि गत साउनमा मात्र शाहीलाई ‘सबै खर्च कोषबाट व्यहोर्ने गरी कार्यक्रम मिलाएर नर्वे घुमाएको’ भनी विवादसमेत भएको थियो । 

वन तथा वातावरणमन्त्री माधव चौलागाईं भने सुवेदीको नियुक्तिबारे सुन्नमा आए पनि आफ्नो अधिकार क्षेत्र नभएकोले चासो नदिएको बताउँछन् । ‘मैले आउने बित्तिकै चासो दिने कुरा पनि भएन, यसअघि भएकै मानिसलाई पुनः नियुक्ति दिइएको भन्ने बुझ्नमा आएको छ, थप औपचारिक जानकारी पाएको छैन,’ उनले कान्तिपुरसँग भने । 

अहिले पुनः नियुक्ति पाएका सदस्य सचिव सुवेदीले नयाँ मन्त्री चौलागाईंलाई चिडियाखानामा बस्ने बन्दोबस्त मिलाएकाले उनको नियुक्तिप्रति मौन बसेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । आफू मन्त्री भएपछि जाउलाखेलको चिडियाखानामा बसिरहेको मन्त्रीले पनि पुष्टि गरे । ‘अहिले मन्त्री निवास जलेको छ, बस्ने प्रबन्ध अन्त छैन, त्यसैले साथीहरूले प्रबन्ध गरेअनुसार चिडियाखानाको आवासमा बसेको हुँ, नयाँ बस्ने ठाउँको प्रबन्ध हुँदैछ’, उनले भने । 

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालसहितका मन्त्रीहरू आफ्नै घरमा बस्दै आएका छन् । घर नभए डेरामा बस्न मिल्ने अभ्यास भए पनि मन्त्री चौलागाईं भने मन्त्रालयले प्रबन्ध गरिदिएकाले अहिले चिडियाखानामा बस्न स्वीकार गरेको बताउँछन् ।

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully