करेन्टले मर्‍यो ‘पाहुना’ चिल, जालमा बेरियो घडियाल

चितवनको पश्चिम क्षेत्रमा महत्वपूर्ण पन्छी ‘स्टेप इगल’ मृत भेटिँदा पूर्वी क्षेत्रमा दुर्लभ घडियाल गोही माछा मार्ने जालमा बेरिएको अवस्थामा फेला पर्‍यो । पानीमा पौडिने र आकाशमा कावा खाने यी जीव मानवीय क्रियाकलाप र विकासका पूर्वाधारको चपेटामा परेका हुन् ।

पुस ४, २०८२

रमेशकुमार पौडेल

'Guest' chile dies from electrocution, gharial gets caught in net

What you should know

चितवन — गोमायु महाचिल अर्थात ‘स्टेप इगल’ हेर्दा ठूलो त हुन्छ नै यो नेपालसम्म आउन लामो यात्रा तय गर्छ । इजिप्टको राष्ट्रिय पन्छी ‘स्टेप इगल’को चित्र त्यहाँको झण्डामा पनि छ । कजाकिस्तानको राष्ट्रिय झण्डामा पनि यसको चित्र हुन्छ ।

यो चिल हिउँद लागेपछि हिमाल नाँघेर मंगोलियाबाट नेपाल आउँछ । तर यस्तो चरा बिहीबार चितवनमा मृत फेला पर्‍यो ।

चितवनको पश्चिम क्षेत्रमा महत्वपूर्ण पन्छी मृत भेटिँदा पूर्वी क्षेत्रमा दुर्लभ घडियाल गोही माछा मार्ने जालमा बेरिएको अवस्थामा फेला पर्‍यो । पानीमा पौडिने र आकाशमा कावा खाने यी जीव मान्छेका क्रियाकलाप र विकासका पूर्वाधारको चपेटामा परेका हुन् । राप्ती काका नामले परिचित संरक्षणकर्मी पहिटानीका अपिल घिमिरेले बिहीबार बिहान साढे ९ बजेतिर ‘स्टेप इगल’लाई मृत फेला पारे ।

भरतपुर महानगरपालिका–१३ ब्रहृमपुरी भित्री बाटो छेउको बिजुलीको तारमा करेन्ट लागेर ‘स्टेप इगल’ मरेको उनले बताए । ‘डाङ्ग्रे चरा तारमै झुण्डिएको थियो । त्यसैको तल मरेको चिल फेला परेको हो । यसको खुट्टा नराम्ररी जलेको हुँदा यसलाई पनि करेन्ट लागेको प्रष्ट देखिन्छ,’ घिमिरेले भने । नेपाल पन्छविद् संघका अध्यक्ष हठन चौधरीले यो चरा घट्दो क्रममा भहेकाले संवेदनशील सूचीमा रहेको बताए ।

हठनका अनुसार ‘स्टेप इगल’ मंगोलियाबाट नेपाल आउँछ । ‘हिउँद सुरु हुन लाग्दा अक्टोबरदेखि यो नेपाल आउन थाल्छ । अप्रिलसम्म यहीँ बस्छ र अनि फर्कन्छ,’ उनले भने । यो कालीगण्डकी उपत्यका हुँदै नेपालको तल्लो भेग झर्ने उनले बताए । ‘बिजुलीको नाङ्गो तार चराका लागि निकै खतरनाक छ । स्टेप इगल यसअघि यसरी तारमा परेको थाहा थिएन । तर गिद्धहरु निकै परेका छन्,’ हठनले भने ।

त्यसैले विद्युत आयोजनाहरुलाई यो कुरा ख्याल राख्न बारम्बार आग्रह गरेको उनको भनाइ छ । ‘हामीले आइइई इआईएमा यो कुरालाई राख्न भनेका छौं । सकेसम्म नाङ्गो तार नराख्ने, राख्न परे चराहरुले थाहा पाउने संकेतहरु प्रष्टसँग राख्न भनेका छौं । बिजुलीको तारले चरालाई धेरै नै संकट दिएको छ,’ हठनले भने । यो चरा नेपालमा सात हजार मिटर उचाइँसम्म पनि भेटिएको उनले बताए । 

'Guest' chile dies from electrocution, gharial gets caught in net

गोयायु महाचिल विश्वका लागि नेपालबाटै पहिचान भएको चरा रहेको हठनले सुनाए । बेलायतका प्रकृतिविद् ब्रायन हडसनले सन् १८३३ मा नेपालबाटै विश्वका लागि नयाँ प्रजातिको चरा ‘स्टेप इगल’ पहिचान गरेको अर्का चराविद् कृष्णप्रसाद भुषालले आफ्नो लेखमा उल्लेख गरेका छन् । यसको बैज्ञानिक नाम ‘एक्युला निपालेन्सिस’ हो । यस्तो चरा करेन्टमा परेर मर्नु दुखद भएको संरक्षणकर्मी अपिल घिमिरेले बताए । मृत गोमायु महाचिल अध्ययनका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयका विकास पुरीले जिम्मा लिएका छन् ।

बिहीबार नै चितवन राष्ट्रिय निकुञ्जको टोलीले रत्ननगर नगरपालिका–८ चित्रसारी पुलनजिक बुढी राप्ती खोलाबाट तियारी जालमा बेरिएको घडियाल गोहीको उद्धार गरेको छ । तियारी जालले माछा मार्न नपाइने भए पनि यस्तो जालको प्रयोग कायमै रहेको र घडियाल जस्ता दुर्लभ जीवलाई समस्यामा पारेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले बताए ।

घडियाल गोही सफा बग्ने पानीमा माछा मात्रै खाने जीव हो । यो निकै दुर्लभ र अति संकटापन्न अवस्थामा रहेको छ । चितवनमा गत वर्ष भएको सर्वेक्षणमा राप्ती र यसका सहायक बुढी राप्ती, ढुङ्ग्रे जस्ता खोलाहरुमा २०६ र नारायणी नदी क्षेत्रमा १४६ गरेर कुल ३५२ घडियाल गोही भेटिएका थिए । यो वर्ष पनि घडियाल अनुगमन सुरु भएको छ ।  

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully