सडक पर्खिरहेका रुकुम पूर्वका बस्तीमा बिरामीलाई पनि काँधकै भर

रुकुम पूर्वका गाउँमा सडक नहुँदा उपभोग्य सामान आफैंले वा घोडा, खच्चडमा बोकाएर ल्याउनुपर्ने बाध्यतासँगै दुःख–बिरामी पर्दा पनि मान्छेकै काँधको भर हुन्छ ।

पुस ४, २०८२

महेश केसी

Even the sick are supported by the people in the slums of Rukum East, waiting for the road.

What you should know

रुकुम पूर्व — पुथउत्तरगंगा गाउँपालिका–८ चारगाउँका ६५ वर्षीय जितबहादुर खत्रीले बारीभरि लटरम्म फलेका सुन्तला मुस्किलले किलोको ५० रुपैयाँमा बेचिरहेका छन् ।

यहीँ मूल्यमा पनि सजिलै बिक्री हुन मुस्किल हुने गरेको छ । करिब ७ रोपनी क्षेत्रफलमा सुन्तला रोपेका उनले फल बजार पुर्‍याउन घोडा–खच्चड खोज्नुपर्छ । ढुवानीकै खर्च महंगो भएर उनलाई लगानी उठाउनै मुस्किल हुने गरेको छ । 

खत्रीको बारीमा सिजन अनुसार सुन्तला, कागती, केरा र स्याउलगायत फलफूल उत्पादन भइरहेका हुन्छन् । तर गाडीमा राखेर बजारसम्म पुर्‍याउन नसकेको गुनासो उनीसँग छ । भन्छन्, ‘रहरले खेती गरिएको छ । राम्रो फल्छ । तर सबै उत्पादन सस्तोमा पनि मुस्किलले बिक्री हुन्छ, बाँकी रहेको यसै खेर जान्छ । गाडी आउने भए बजारसम्म पुर्‍याउन सकिन्थ्यो, बोकेरै लैजान त सकिन्न ।’ 

Even the sick are supported by the people in the slums of Rukum East, waiting for the road.

सडकको पहुँच नपुगेका रुकुम पूर्वका गाउँबस्तीमा एकातिर स्थानीय उत्पादनले बजार पाउन सकेको छैन भने अर्कोतिर सर्वसाधारणलाई आवतजावतका लागि पनि मुस्किल हुने गरेको छ । जिल्लाको कुल ३ वटा पालिकाअन्तर्गत भूमे गाउँपालिकामा मात्रै सबै वडामा सडकको पहुँच छ । बाँकी दुई वटा पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाका केही वडामा भने सडक नपुग्दा स्थानीयलाई सास्ती छ । 

पुथाउत्तरगंगाका जम्मा १४ वटा वडामध्ये ७ वटा वडामा मात्रै सडक सुविधा पुगेको छ । त्यस्तै सिस्ने गाउँपालिका–१ र २ मा पनि सडक नपुग्दा सर्वसाधारणको दैनिकी कष्टकर छ । सडक नहुँदा दैनिक उपभोग्य सामान आफैंले वा घोडा, खच्चडमा बोकाएर ल्याउनुपर्ने बाध्यता सँगै दुःख–बिरामी पर्दा पनि मान्छेकै काँधको भर हुन्छ ।

‘यहाँको उत्पादनले वर्षभरि खान पुग्दैन । चामल किन्नुपर्छ अनि नुन, तेल र कपडा–लत्ता पनि सदरमुकाम रुकुमकोटबाट बोकेरै ल्याउनुपर्छ,’ सिस्ने–१ सिस्ने गाउँका धनबहादुर बुढा भन्छन्, ‘प्रत्येक चुनावमा भोट माग्न आउनेले बाटो बनाउँछौं, मोटर पुर्‍याउँछौं त भन्छन् । तर त्यो मोटरबाटो त परको कुरा ती नेता नै अर्को चुनाव नभएसम्म फर्केर आउँदैनन् ।’

Even the sick are supported by the people in the slums of Rukum East, waiting for the road.

संघीयतापछि आफूहरूले लेख्ने ठेगाना मात्रै फेरिएको भन्दै सिस्नेकै अर्की स्थानीय रमाकुमारी बुढाले आफूहरूले विकास र सहजताको अनुभूति गर्न नपाएको दुःखेसो गरिन् । ‘केही हुँदै नभएको त होइन, गोरेटो र केही झोलुंगे पुल त बनेका छन् । तर यतिले मात्रै हाम्रो दुःख पार लाग्दैन,’ उनले भनिन् । 

पुथाउत्तरगंगा–२ पेल्मासम्म सडकको ट्रयाक खोल्न नै बाँकी छ भने वडा–१ मैकोटस्थित सानीभेरी नदीमा पुल नहुँदा पानीको बहाब बढ्दा प्राय: गाडी जान मुस्किल पर्छ । त्यस्तै वडा–३ रन्मा, वडा–४ अर्जल, वडा–७ र ८ चारगाउँ तथा वडा–९ खारबाङसम्म जाने सडकको ट्रयाक जसोतसो खोलिए पनि सवारी चल्ने अवस्था छैन । 

सानीभेरी नदीका करिब आधा दर्जन ठाउँमा मोटरेबल पुल नहुँदा सडक निर्माणले गति लिन नसकेको हो । सडक सुविधा नपुगेका वडाहरुमा जसोतसो डोजर पुर्‍याएर ट्रयाकसम्म खनिए पनि सवारीसाधन आवतजावत गर्न नसक्दा स्थानीयका दुःख जहाँको त्यहीँ छन् ।

Even the sick are supported by the people in the slums of Rukum East, waiting for the road.

चारगाउँकी स्थानीय राजकुमारी सेनले आफ्नो गाउँमा सडक पुथातिरबाट भन्दा देउखोला हुँदै सिस्ने–२ तर्फबाट आउँदा सहज र छरितो हुने बताइन् । ‘अहिले देउखोलासम्म त गाडी आउँछन् तर त्यहाँबाट दिनभरीको पैदल यात्रा पछि घर पुगिन्छ,’ उनिले भनिन् ‘भीरको बाटो छिचोलेर नदी अनि पहिरोको डरसँग जुँधेर यात्रा गर्नुपर्छ । सजिलो छैन ।’ 

यातायातको सुविधा नपुगेका भेगमा सडक पुर्‍याउन आफुहरुले प्रदेश र संघ सरकारसँग सक्दो समन्वय र पहल गरिरहेको बताउँदै सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले भने, ‘देउखोलाबाट वडा–१ र २ लाई सडक सञ्जालसँग जोड्का लागि सबैभन्दा पहिला सानीभेरीमा पुल बन्न जरुरी छ । यसका लागि लुम्बिनी प्रदेश सरकार मार्फत काम सुरु गर्ने तयारी छ । यो कामलाई गति दिन हामी लागि परेका छौं ।’ 

Even the sick are supported by the people in the slums of Rukum East, waiting for the road.

पुथाउत्तरगंगा गाउँपालिका–५ का अध्यक्ष एवम् प्रवक्ता टीकासाई घर्तीले पनि ठूलो लागतमा काम गर्नुपर्ने भएकाले पालिका एक्लैले यो काम गर्न बजेटको अभाव हुने बताए । ‘मुख्यतः दाङ–रोल्पा हुँदै रुकुम पूर्वको मैकोटसम्म जोड्ने सहिद मार्गको काम चाडो सकिन जरुरी छ,’ उनले भने ‘कठिन पहाड छिचोल्न र नदीहरुमा पुल बनाउनका लागि धेरै बजेटको जरुरत पर्छ । यसका लागि ठूलो योजना चाहिन्छ । पालिकाले सकेको काम गरिरहेको छ, तर पुगिरहेको छैन ।’ 

सडक सुविधा पुगेपछि स्थानीयको दैनिकी सहजसँगै ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्ने पुथाउत्तरगंगा र सिस्ने गाउँपालिका क्षेत्रको पर्यटन विकासमा पनि ठूलो टेवा पुग्ने अपेक्षा स्थानीयको छ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully