रवि लामिछाने र छविलाल जोशीको मुद्दा १ नम्बर इजलासमा

मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलले सुनुवाइ गर्दै

पुस ३, २०८२

घनश्याम गौतम

Ravi Lamichhane and Chhabilal Joshi's case in Bench No. 1

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा हुने भएको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा मुद्दा परेको हो ।

यसअघि मंसिर २५ गते तोकिएको पेशी ‘हेर्न नमिल्ने’ मा परेर स्थगित भएको थियो । त्यसअघि मंसिर ११ गते तोकिएको पेशी लामिछानेका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।

रवि लामिछाने र छविलाल जोशीले विगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने जिल्ला अदालतको आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ उक्त इजलासमा तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको बिहीबारको पेशी कात्तिक १३ गतेपछिको निरन्तर सातौँ पटकको पेशी हो । यस अवधिमा लामिछानेतर्फबाट दुई पटक र जोशी तर्फबाट एक पटक पेशी स्थगित भएको छ ।

कानुनअनुसार मुद्दामा पक्ष र विपक्ष दुवैबाट दुई–दुई पटकसम्म पेशी स्थगित गर्न पाउने व्यवस्था छ । तर, यस मुद्दामा सरकारी पक्षबाट भने पेशी स्थगित गरिएको छैन ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully