चितवनमा भेला भएका भूमिहीन भन्छन्- 'लालपुर्जा हात पर्ला जस्तो हुने बेला आयाेग विघटन हुन्छ'

राष्ट्रिय भूमि अधिकार मञ्चले भूमि समस्या समाधान आयोगमा भूमिहीन दलितले ८८ हजार ८९५, भूमिहीन सुकुम्वासीले १ लाख ६८ हजार ४४१ र ८ लाख ७२ हजार १८१ अव्यवस्थित बसोबासीले निवेदन पेश गरेकाे जानकारी दिएकाे छ ।

पुस ३, २०८२

रमेशकुमार पौडेल

Landless people gathered in Chitwan say - 'The commission will be dissolved when it looks like it will get the red papers'

What you should know

चितवन — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–६ भाग्योदय टोलमा छ मायादेवी ठकुरीको घर । त्यहाँ आफु बस्दै आएको सात आना जमिनको लालपुर्जा पाउन नसक्दा उनी आफ्नो भाग्य र टोलको नाम बीच तालमेल नभएको बताउँछिन् ।

२०६७ सालमा उनका श्रीमानकाे नाममा त्यो जमिनको लालपुर्जा तयार भयो । तर त्यसमा अध्यक्षको सही र कार्यालयको छाप लगाउने साइत अझै जुरेको छैन । ‘त्योबेला सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्षले हस्ताक्षर गर्ने र छाप लगाउने भन्ने थियो । अब लालपुर्जा पाइने भयो भनेर खुसी नै थियौं तर खै कता हो मुद्दा पर्‍यो भनियो । त्यसपछि आजसम्म यत्तिकै छ,’ मायादेवीले सुनाइन् । 

सर्लाहीकी मायाले धादिङका शंकबहादुर ठकुरीसँग बिहे गरिन् । जन्मथलोमा जग्गा थिएन, भौतारिँदै यी दम्पती गैंडाकोट आए । गैंडाकोट नारायणी नदी किनार आडको ऐलानी जग्गामा उनीहरुले छाप्रो हाले । त्यहीँ नै तीन छोरी र एक छोराको जन्म भयो । 

देशमा कमाउने सम्भावना नभएपछि छोरा खाडीमुलुक गएका छन् । छोरीको बिहे भयो । श्रीमान् शंकबहादुर अझै पनि मजदुरी नै गर्छन् । ‘त्यहाँ बसेको ३० वर्षभन्दा बढी भयो, अब अन्यत्र कहाँ जाने । बसौं आफ्नो नाममा जग्गा छैन । उठाउला भन्ने डर सधैं छ,’ उनले भनिन् ।

भूमि समस्या समाधान आयोग बने पनि आफुहरुको समस्या सुनुवाइ नहुँदा उनी दिक्क छिन् । ‘म अहिले आन्दोलनमा नै छु । अब त मर्न परे पनि डर नलाग्ने भएको छ । बसेको सानो धर्सोको लालपुर्जा पाइदैन भने यो सरकार कसको सरकार ?’ मायाले प्रश्न गरिन् । 

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालमा आबद्ध भएर उनी भूमि अधिकार प्राप्तिको अभियानमा होमिएकी छन् । मञ्चको भरतपुर ठिमुरामा मंगलबारदेखि तीन दिनसम्म नवौं राष्ट्रिय परिषद् भेला भएको थियो । उक्त भेलामा माया जस्ता अरु पनि भूमिहीन पनि आएका थिए । जसले बस्दै आएको जग्गा पाउने आशामा दशकौं बिताइसकेका छन् । 

Landless people gathered in Chitwan say - 'The commission will be dissolved when it looks like it will get the red papers'

मिथिला–१० लालगढबाट आएका इच्छाराम परियारले त्यहाँको रातुखोला किनारमा बस्दै आएका भूमिहीनहरुको अवस्था सुनाए । ‘रातुखोला किनारमा ४०/४२ सालदेखि भूमिहीनहरु बस्दै आएका हुन् । एकपटक देवचन्द्र झा सकुमबासी आयोगका जिल्ला अध्यक्ष थिए । उनले १५ दिनभित्र लालपुर्जा बाँड्छु भन्दै नापी पनि गराएका हुन् । तर केन्द्रमा सरकार परिवर्तन भयो । झा पनि हटे । त्यसपछि पुर्जाको काम त्यत्तिकै भयो,’ परियारले भने ।

रातुखोला किनारका यस्ता २५० घरपरिवारले अब पुर्जा पाउने नपाउने निधो छैन । मिथिला–६ ढल्केबर वसी खोलाको छेउमा २०५५ सालदेखि बसेका रामविनोद ठाकुर बरही भन्छन्, ‘अब त खोला किनारको जग्गा बाँड्न मिल्दैन भन्छन् । त्यो जग्गा नम्बरी हैन, ऐलानी हो । खोलाले छाडेको नदी उकासको जमिन हो । यस्तो जमिन दिन मिल्दैन रे ।’

मोरङ सुन्दर हरैंचा–२ की नेप्लु माझीले आफुहरु २०५४ सालदेखि बस्दै आएको जग्गामा व्यक्तिले दाबी गरेको बताइन् । ‘ऐलानपुर भन्ने ठाउँमा एक विघाभन्दा बढी जमिनमा ३६ घरभन्दा बढी परिवार बसेका छौं । छाप्रो हाल्दा कोही आएनन् । एक्कासी तीन वर्षपछि मेरो जग्गा हो भन्दै मान्छे आए,’ नेप्लुले भनिन् । जग्गा मेरो हो भने पनि प्रमाण देखाउन नसकेको उनले सुनाइन् । 

रसुवा र ललितपुरमा बिर्ता प्रथाको मारमा परेकाहरु पनि परिषद्मा आएका थिए । ‘नेपाल एकीकरणका बेला सहयोग गर्नेहरुलाई पृथ्वीनारायण शाहले बिर्ता दिएका थिए । जुन बिर्ता प्रथा २०१६ सालमा उन्मुलन भएको हो । तर यस्तो बिर्ता कमाउँदै आएका रसुवामा हजारभन्दा बढी परिवार भूमि अधिकारका लागि संघर्ष गर्दै आएका छन्,’ रसुवाबाट आएका भवानीप्रसाद न्यौपानेले सुनाए ।

बिर्ता पीडितहरुले ३१ वर्षदेखि आन्दोलन गर्दै आए पनि सबैले न्याय पाउन नसकेको उनले सुनाए । ‘२०६६ सालमा ठूलै आन्दोलन भएको थियो । त्यसपछि डम्बर श्रेष्ठ भूमिसुधार मन्त्री हुँदा रसुवाका १६७ जनाले १५ सय रोपनी जतिको लालपुर्जा पाए । अहिले पनि धेरैले पाउन बाँकी छ,’ न्यौपानेले भने । 

ललितपुर गोदावरी नगरपालिका–१४ मा पनि बिर्ता समस्या रहेको रामकुमार केसीले बताए । ‘बिर्ता कि रैकर भन्ने चक्करले हामी हेरेको हेरै भयौं । २०६६/६७ सालतिर दर्ता खुल्यो । त्योबेला सबै प्रक्रिया पूरा गरेर लालपुर्जा निकाल्ने बेलामा यो रैकर प्रकृतिको रहेछ भनियो । ६८/६९ सालमा रैकरको दर्ता खुल्यो । त्योबेला जाँदा कहिले बिर्ता भन्ने कहिले रैकर भन्ने भनेर रोकियो,’ उनले भने । यो विवाद जिल्ला अदालत हुँदै सर्वोच्चसम्म पुगेर किनारा लागे पनि पुर्जा नबनेको उनले बताए । 

कोरोना कहरले धेरैलाई कारात्मक असर पार्‍यो । जलबिन्दुका कारण आँखाको दृष्टि गुमाएका यमप्रसाद जैसीको गुम्न लागेको थातथलो कोरोनाका कारणले नै अहिलेसम्म जोगिएको छ । सुर्खेत विरेन्द्रनगर–८ बसपार्कनजिक उनको बस्ने टहरो छ । रत्नराजमार्ग र क्याम्पसको बीचमा रहेको खाली जमिनमा उनले २०६० सालतिर टहरो हालेका थिए । अहिले त्यहाँ ४३ घर टहरा लहरै छन् ।

Landless people gathered in Chitwan say - 'The commission will be dissolved when it looks like it will get the red papers'

उक्त ठाउँका घर हटाउन नगरपालिकाले २०६८ सालमै सूचना निकालेको थियो । २०७२ तिर पनि क्याम्पसले पनि प्रयास गरेको यमप्रसादले सुनाए । २०७६ मा जिल्ला प्रशासनले सूचना निकालेर चैत १६ गतेभित्र बस्ती छाड्न भनेको थियो । ‘तर त्यहीँबेला कोरोना आएर चैत ११ गतेपछि लकडाउन भयो । अनि बस्ती उठाउन सुरु गरेनन् । अहिलेसम्म बस्दै आएका छौं । फेरि कहिले सूचना आउने हो ?’ उनले भने ।

सहरी सौन्दर्यसँग जोडिएको हुँदा प्रशासनले बस्ती उठाउन चाहेको उनले बताए । ‘जाजरकोटमा केही उपाए नभएर इन्डिया गएँ । जलबिन्दुले आँखाको ज्योति गुमेपछि यहाँ आएर बसेको हो । श्रीमती पनि जन्मजात दृष्टिविहीन हुन् । चार छोरी हुन् । एक जनाको बिहे भयो । एउटा छोरो भारत गएको थियो । दुई वर्षदेखि कुनै सम्पर्क छैन,’ यमप्रसादले सुनाए, ‘व्यक्तिको यस्तो पीर राज्यले सुन्दो रहेनछ ।’ 

गैंडाकोटकी मायादेवी ठकुरीले पनि चुनावमा भोट हालेर जिताएका सांसद, मेयर र वडाध्यक्षले नै चुनाव जितेपछि आफुहरुलाई नचिन्दा दुख लाग्ने गरेको गुनासो पोखिन् । ‘वडाध्यक्षले नै जग्गा पाउँदैनौं भन्छन् । आयोग बन्छ तर केही काम गरे जस्तो लाग्दैन । हाम्रो समस्या समाधान नहुने भए आयोग किन बन्ने ?’ मायाले भनिन् ।

Landless people gathered in Chitwan say - 'The commission will be dissolved when it looks like it will get the red papers'

राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले भूमि समस्या समाधान आयोगमा भूमिहीन दलितले ८८ हजार ८९५, भूमिहीन सुकुम्वासीले १ लाख ६८ हजार ४४१ र ८ लाख ७२ हजार १८१ अव्यवस्थित बसोबासीले निवेदन पेश गरको जानकारी दिए । तर २०७६ सालयता तीन वटा आयोग बने पनि ८ हजार ८४८ परिवारले मात्रै पुर्जा पाएको उनले बताए । आयोगलाई प्रभावकारी ढंगले काम गर्ने वातावरण बनाउन परिषद्ले माग गरेको पनि उनले जानकारी दिए । ठिमुरामा सम्पन्न परिषद्ले भूमिहीनका अधिकारसँग जोडिएका विषय समाधान गर्न मोही, गुठी र बिर्ता पीडित किसानको हकका लागि बलियो कानुन बनाउन माग गरेको पनि उनले बताए ।

बस्दै आएको ठाउँबाट सरकारका निकायले जर्बजस्ती हटाउन नहुने अडान पनि मञ्चले लिएको छ । नवौं परिषद्मा यसबारेमा पनि बहस भएको अध्यक्ष दर्जीले बताए । ‘हामी शून्य उठीबासको पक्षमा छौं । उचित विकल्प बिना देशको जुनसुकै स्थानमा बसेको भूमिहीन परिवारलाई उठीवास लगाउन पाइदैन । त्यस्तो जग्गा वन या सार्वजनिक क्षेत्रको हो या राज्यलाई विशेष प्रयोजनका लागि चाहिने नै हो भने उठाउनुअघि अन्यत्र सुरक्षित बासको प्रबन्ध होस्,’ उनले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully