आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रमा १५० गणकहरू खटिएका छन् ।
What you should know
चितवन — चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणक आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिनेछ । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामरा राखिने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए । एउटा भागमा दुई साता क्यामरा राखिनेछ । 'चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको हो,' उनले भने, 'यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाइन्छ ।'
बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चारचार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका छन् ।
ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए । 'ग्रिडबाट क्यामरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामरा राखिनेछ । ती क्यामराले बाघको फोटो खिच्छ,' सूचना अधिकारी मगरले भने । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताए ।
'हरेक बाघको पाटा फरक–फरक हुने गर्छ । पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यसलाई एउटै ब्लक बनाइनेछ,' उनले भने ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।
