'कतारमा खगेन्द्र र रुद्रकलीको सुखद बास होस्'

दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरियो, कतार एयरवेजको कार्गो विमान भैरहवाबाट उड्यो

पुस २, २०८२

दीपेन्द्र बडुवाल

'May Khagendra and Rudrakali live happily in Qatar'

What you should know

भैरहवा — चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार साँझ कतार लगिएको छ । चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा हुर्किनेछन् ।

दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर बिदाइ गरिएको थियो । बुधबार साँझ साढे ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । 

हात्ती हस्तान्तरणका लागि बुधबार विमानस्थलमा उपस्थित सरकारी अधिकारी र संरक्षणकर्मीले खगेन्द्रप्रसाद र रुद्रकलीको नयाँ घरमा सुखको बास होस् भनेर कामना गरे । ‘आफूले पालेका जनावर उपहार दिँदा मुटु टुक्रिएजस्तो भएको छ,’ वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले भने, ‘छोरी अन्माएजस्तै भयो ।’ दुवैको नयाँ घरको बास सुखद बनोस् र सन्तान वृद्धि होस् भनेर शुभकामना दिए । 

बिदाइ कार्यक्रममा सहभागीले कतारमा हात्तीको स्वास्थ्य सुधार र संख्या वृद्धि भएको हेर्ने धोको रहेको बताए । ‘हात्ती दान नेपाल र कतारबीच गहकिलो सम्बन्धको प्रमाण पनि हो,’ मिश्रले भने, ‘मुलुकले पहिलोपटक हात्ती उपहार दिएको हो । हात्ती हुर्काउन योगदान गर्ने माहुतेदेखि कर्मचारी र चितवनका स्थानीयलाई धन्यवाद ।’ 

'May Khagendra and Rudrakali live happily in Qatar'कतारमा वातानुकूलित वातावरण हुने भएकाले हात्तीलाई ‘स्ट्रेस’ नहुने संरक्षणकर्मीले बताए । नेपालबाट जाने दुई माहुते र एक जना भेटेरीनरी प्राविधिकले एक महिनासम्म कतारमै बसेर हात्तीको स्याहार–सुसार र रेखदेखबारे त्यहाँका नागरिकलाई सिकाउने छन् । परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् २०२४ अप्रिलमा कतारका अमिरको राजकीय नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले हात्ती उपहार प्रदान गर्ने निर्णय गरेकामा अहिले त्यसको कार्यान्वयन गरिएको बताए । 

‘अहिले हामी यहाँबाट बिदाइ गर्दैछौं,’ उनले भने, ‘बिहीबार कतारको राष्ट्रिय दिवसका दिन हात्तीले कतारी जमिन छुनेछन् ।’ नेपालले सन् १९७७ जनवरी २१ बाट कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । उक्त सम्बन्ध स्थापना भएको अर्को वर्ष ५० वर्ष पूरा हुँदैछ । ‘कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्ने बेला उपहारस्वरूप हात्ती प्रदान गरिएको छ,’ उनले भने, ‘यसले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।’ 

'May Khagendra and Rudrakali live happily in Qatar'निकुञ्ज विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बुधबार रातिबाट कतार खगेन्द्र र रुद्रकलीको नयाँ घर हुने बताए । हात्ती उपहार दिनुले नेपाल र कतारबीच हात्तीजस्तै बलियो सम्बन्ध रहेको प्रस्ट भएको उनले बताए । हात्ती हस्तान्तरण गर्नुपूर्व कतारमा रहेको चिडियाखाना पुगेर नेपाली प्राविधिक टोलीले अध्ययन गरेको थियो । उक्त टोलीले हात्ती राख्न सकिने रायसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रहेर हस्तान्तरण गरिएको पौडेलले बताए । उनका अनुसार ७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन केन्द्रमा जन्मिएको थियो । 

'May Khagendra and Rudrakali live happily in Qatar'

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कानुनबमोजिम साइटिस प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र जारी गर्नेलगायतका आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर दुवै हात्तीलाई कतारको दोहा पठाइएको उल्लेख छ ।

हात्ती हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक चिरञ्जीवी पोखरेल, राष्ट्रपति चुरे संरक्षण कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका प्रमुख, सुरक्षा प्रमुख र कतारी दूतावासका प्रतिनिधि सहभागी थिए । 

दीपेन्द्र

Link copied successfully