महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा बुधबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेललाई देशभरका सञ्चारमाध्यममा भएको क्षति विवरण बुझाइएको हो ।
What you should know
काठमाडौँ — नेपाल पत्रकार महासंघले भदौ २३ को जेन-जी आन्दोलन र २४ को प्रदर्शनका क्रममा सञ्चारमाध्यमहरूमा भएको क्षति विवरण नेपाल सरकारलाई बुझाएको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा बुधबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेललाई देशभरका सञ्चारमाध्यममा भएको क्षति विवरण बुझाइएको हो । महासंघका अनुसार आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ । महासंघले यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पुगेको जनाएको छ ।
त्यस्तै, महासंघका संरचनामार्फत संकलन गरिएको तथ्यांकअनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसम्बद्ध कर्मचारी गरी ३८ जनाको निजी सम्पत्ति तथा सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको छ । यसबाट १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको महासंघको विवरणमा उल्लेख छ ।
घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका पाँच जना पत्रकार गोलीका छर्रा लागेर घाइते भएका छन् । तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण रोजगारीसमेत गुमाउनुपरेको महासंघले जनाएको छ ।
सचिव रमेश खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'नेपालको सञ्चारजगत्ले यस घटनाबाट भोग्नुपरेको क्षति केवल आर्थिक हिसाबले मात्र मापन गर्न सम्भव छैन । कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेर पनि पुनः प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ ।'
हालसम्म संकलन गरिएको विवरणअनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी कुल क्षति ७७ करोड ७७ लाख रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मन्त्री खरेलले क्षति पुगेका सञ्चार संस्था र निजी सवारी जलेका पत्रकारलाई राहत दिने विषयमा सरकार सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
