डा. सन्दुक र उनको टिमद्वारा सूर्यमतीजस्तै दृष्टि गुमाएका १२ सय ५१ जनाको शल्यक्रिया
What you should know
लुम्बिनी — मायादेवी मन्दिर बिहानी कुहिरोले हल्का धुमिलिएको थियो । ५० वर्षीया सूर्यमती कोहर वरिष्ठ नेत्ररोग विशेषज्ञ सन्दुक रुइतको अघिल्तिर चुपचाप बसिरहेकी थिइन् । घामको झुल्को सूर्यमतीको टाउकोमाथि आइपुग्ने बेलामा रुइतले भने, ‘अब सुस्तरी आँखा खोल्नुस् त ?’ सूर्यमतीले त्यसपछि जे देखिन्, त्यसले उनको अनुहार खुसीले धपक्कै बलेको थियो । उनले डाक्टर रुइतलाई अँगालो हालिन् । रुइत पनि मुसुक्क मुस्काए ।
पाँच वर्षदेखि मोतियाविन्दुले गर्दा दृष्टिविहीन भएकी सूर्यमती आँखा शिविर चलेको छ भन्ने सुनेर १३ किलोमिटर अटो रिक्सा चढेर सन्दहवा गाउँबाट लुम्बिनीको मायादेवी मन्दिर परिसर आइपुगेकी थिइन् । २० मिनेट लगाएर डा. सन्दुक र उनको टिमले सूर्यमतीको आँखाको शल्यक्रिया गर्यो । सुस्तरी आँखा खोलेपछि त्यहाँ खुसीको माहोल छायो ।
यो सबै दृश्य हेरिरहेका सूर्यमतीकी छोरी शशिकला र भतिजी इन्दु दुवैका आँखा रसाए । त्यहाँ अनोठौ मौनता थियो । तर सबैको अनुहारमा अनोठौ खुसी छचल्किरहेको थियो । सूर्यमतीले खुसीले भरिएको स्वरमा अनुहार उज्यालो पार्दै भनिन्, ‘मैले अन्तिम पटक देख्दा तिमीहरू यति साना थियौ । कति ठूलो भइसकेछौ ।’ सूर्यमतीले त्यो भनिरहँदा छोरी इन्दु र भतिजी शशिकलाले खुसीका आँसु रोक्न सकेनन् । कुहिरोले ढाकेको मायादेवीको मन्दिर यो भावुक क्षणको साक्षी बन्यो ।
सूर्यमतीले पछिल्ला पाँच वर्ष पूरै अन्धकारमा बिताइन् । छामछाम छुमछुम गर्दै हिँड्नुपर्ने, घरबाहिर कतै जानुपरे अरूको सहारामा खोज्नुपर्ने अनि उज्यालो र खुसीका सबै खबरहरू थाहा पाएर पनि अनुभूतिशून्य भएर बाँच्नुपर्ने कहर उनका निम्ति कहिल्यै भुल्न नसक्ने दुःखहरू थिए । तर त्यो बिहानपछि उनको जीवनमा सबै खुसी फर्किएजस्तो भयो । उनले छोराको विवाहको खुसी, नातिनातिना हुँदाको खुसी र छोरी अनि भतिजा–भतिजीहरू हुर्कंदाका प्रत्येक क्षण देख्न नपाएकोमा थकथकी सुनाइन् ।
पाँच वर्षअघि सूर्यमतीका आँखा बिस्तारै धमिलो हुँदै गएको थियो । तर उनले सञ्चो भइहाल्छ नि भनेर पर्खिंदै गइन् । मधुमेह रोगसँग जुधिरहेकी सूर्यमतीलाई लिएर उनका पति रक्षाराम बुटवल, भैरहवाका केही अस्पतालमा नगएका पनि होइनन् । तर मधुमेह भएकाले तत्काल शल्यक्रिया सम्भव भएन ।
उनले सुनाए, ‘यतिका वर्षसम्म श्रीमतीको आँखाको उपचार किन नगराएको भनेर सबैले सोध्छन् । तर मैले सम्भव भएसम्म गरेकै हो । २०/२५ हजार खर्च पनि भयो तर सम्भव भएन ।’
गरिबीसँग जुधिरहेका रक्षाराम साइकल मर्मत पसल चलाएर गुजारा गरिरहेका छन् । दुई छोरी र दुई छोरा हुर्काउने दायित्व यही कमाइका भरमा उनले धान्दै आएका थिए । कमाउन दुई छोराहरू खाडी पसे पनि उनीहरूले रक्षारामलाई दुःखबाट बाहिर निकाल्ने गरी कमाइ गरिसकेका छैनन् ।
सूर्यमतीको आँखाको ज्योति फर्केपछि हामी उनीसँगै उनको घर पुग्यौं । जस्ताले छाएको र टाटीले बेरेको घरमा हामी पुग्दा विद्युत् प्राधिकरणका कर्मचारीहरू बिजुलीको पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेर फर्कंदै थिए । संयोग पनि कस्तो, सूर्यमतीको आँखाको ज्योति फर्केकै दिन उनको घरको बिजुली निभ्यो । एक वर्षदेखि बिजुलीको बिल नतिरेपछि शुल्क जरिवानासहित १४ हजार भइसकेको रहेछ । अनि प्राधिकरणका कर्मचारीहरूले लाइन काटेका रहेछन् ।
श्रीमतीले आँखा देख्ने खबरले रक्षाराम पनि पुलकित थिए । भित्ता समातेर, अरूको सहारामा हिँड्ने श्रीमती अब आफैं हिँड्न सक्छे भन्ने कुराले उनी औधी खुसी देखिन्थे । उनले खुसी व्यक्त गर्दै डाक्टरको टोलीसहित सबैलाई धन्यवाद दिए ।
सूर्यमतीकै हेरचाहका लागि छोरी शशिकला र भतिजी इन्दुले स्कुल नै छोड्नुपरेको रहेछ । सूर्यमतीले भावुक हुँदै भनिन्, ‘मेरै कारण छोरीहरूले पढाइ छोड्नुपर्यो । अब म ठीक भएँ । छोरीहरूलाई फेरि स्कुल पठाउँछु ।’
आँखा देख्न छाडेपछि समाजले हेर्ने दृष्टिकोण फरक भएको तीतो अनुभव पनि उनले सुनाइन् । भनिन्, ‘पहिले जस्तो व्यवहार गर्दैनथे । समाजले पनि हेप्थ्यो ।’ उनले बितेको ५ वर्ष सम्झिन पनि नचाहेको र त्यसलाई एउटा डरलाग्दो सपनाका रूपमा बिर्सन खोजेको बताइन् ।
मंसिर १९ देखि २३ गतेसम्म तिलगंगा आँखा प्रतिष्ठानले लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीसँगको सहकार्यमा पाँचदिने निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । डाक्टर सन्दुक र थाइल्यान्डबाट आएको टोलीले गरेको यो शिविरमा सूर्यमतीजस्ता १ हजार २ सय ५१ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।
