दशरथ चन्द मेडिकल विश्वविद्यालयको उपकुलपतिका लागि तेस्रो पटकमा पर्‍यो दुई आवेदन

दुई पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए ।

पुस १, २०८२

सुदीप कैनी

Two applications received for the third time for the post of Vice-Chancellor of Dasharath Chand Medical University

What you should know

काठमाडौँ — धनगढीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपतिका लागि तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको छ ।

उपकुलपति एवम् रजिस्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीले उपकुलपतिका लागि केही आवेदन परेको र त्यसको रुजु हुन बाँकी रहेको बताए । समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा पाँच दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो । दुई पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए । ‘उपकुलपतिका लागि केही आवेदन परेको छ । सिलबन्दी गरेर आवेदन दिएकाले खोलेका पनि छैनौं,’ उनले भने, ‘रजिस्ट्रारका लागि १० जनाको आवेदन परेको थियो । रुजु सकेर सर्स्टलिस्ट सार्वजनिक गर्ने तयारीमा छौं ।’

सिफारिस समितिले उपकुलपतिका लागि १६ कात्तिकमा पहिलो पटक र ३० कात्तिकमा दोस्रो पटक दरखास्त आह्वान गरेको थियो । तर, एउटा पनि दरखास्त नपरेपछि २३ मंसिरमा समितिले तेस्रो पटक सूचना जारी गर्दै २८ मंसिरसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो । ‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन । त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तानले कृपया निवेदन दिनुहोस् । वा मलाई नै सम्पर्क गर्नुहोस्,’ शिक्षामन्त्री पुनले सार्वजनिक रूपमा आह्वान गरेका थिए ।

विश्वविद्यालय ऐनमा तोकिएको उपकुलपतिको योग्यता उपर्युक्त नभएको कारण दरखास्त नपरेको भन्दै सरोकारवालाहरूले आलोचना गरेका थिए । संघीय संसद्बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो ।

उपकुलपतिका लागि न्यूनतम योग्यतामा चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सोसरहको उपाधि प्राप्त गरेको हुनुपर्ने तोकिएको छ । प्राध्यापक पदमा कम्तीमा १० वर्षदेखि काम गरेको, ३५ वर्ष पूरा भई ६१ वर्ष पूरा नगरेको हुनुपर्ने तोकिएको छ ।

रजिस्ट्रारका लागि ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह बिष्ट, बैतडीका भीमबहादुर चन्द, कैलालीका पदमराज जोशी र बाराबाट शिला मैनालीको आवेदन परेको सिफारिस समितिले जनाएको छ । यीमध्येबाट ‘सर्टलिस्ट’ बनाई सिफारिस प्रक्रिया अघि बढाइनेछ । उपकुलपति र रजिस्ट्रार नियुक्तिको सिफारिसका लागि सरकारले अवस्थीको संयोजकत्वमा भारती जोशी र दीपक महरा सदस्य रहेको समिति गठन गरेको छ । अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने जोशी र महरालाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो ।

रजिस्ट्रारका लागि भने जुन कुनै विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ । उच्चशिक्षामा प्राध्यापन, प्राज्ञिक अनुसन्धान, स्वास्थ्य सेवा कार्यकारी प्रशासन, सरकारको पूर्वसचिव वा सो सरहको पदमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । समितिले उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि जारी गरेर प्रक्रिया अघि बढाएको छ ।

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully