राष्ट्रपतिका राजनीतिक विज्ञद्वारा राजीनामा

प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनका साथै कांग्रेसको महाधिवेशनलाई मध्यनजर गरेर आफूले राजीनामा दिएको पत्रमा उल्लेख छ ।

पुस १, २०८२

विनोद घिमिरे

Presidential political expert resigns

धनकुटा — राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत  थिए । 

राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनका साथै कांग्रेसको महाधिवेशनलाई मध्यनजर गरेर आफूले राजीनामा गरेको पत्रमा उल्लेख गरेका छन् । ‘म मूलधारको राजनीतिमा आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छु,’ उनले पत्रमा भनेका छन् । 

पुर्ख्यौली घर धनकुटाको मुगा भएका थापा २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता राजेन्द्रकुमार राईसँग पराजित भएका थिए । थापालाई कांग्रेस धनकुटाले राष्ट्रियसभामा उम्मेदवार सिफारिस गरेको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully