निर्वाचनलाई लिएर कुनै शंका नपालौं : सञ्चारमन्त्री 

निर्वाचन आयोग कार्यालयमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँगको अन्तर्क्रियामा उनले सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय सबै कार्ययोजना बनाएर चुनावी तयारीमा लागिरहेको बताए ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

Let's not have any doubts about the election: Communications Minister

What you should know

काठमाडौँ — सरकारका प्रवक्ता सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुनेमा कुनै शंका नपाल्न आग्रह गरेका छन् ।

सरकार, निर्वाचन आयोग र सुरक्षा निकाय सबै कार्ययोजना बनाएर चुनावी तयारीमा लागिरहेको उनले उल्लेख गरेका छन् ।

निर्वाचन आयोग कार्यालयमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँगको अन्तर्क्रियामा मन्त्री खरेलले राजनीतिक दल पनि चुनावी तयारीमा जुटिसकेकाले निर्वाचन अब महोत्सवमा परिणत हुन लागेको बताए । ‘छोटो समयमा आयोगले महत्त्वपूर्ण तयारीहरू पूरा गरेको छ । सबै सरोकारवाला पक्षहरू निर्वाचनको महोत्सवमा समाहित हुँदै गएका छन् । यसले सकारात्मक माहोल निर्माण गरेको छ,’ उनले भने, ‘मतदाता नामावलीमा नाम दर्ता गराउन लाखौं मतदातामा देखिएको उत्साहले जनता पनि चुनावका लागि तयार रहेको सन्देश दिइसकेको छ ।’ उनले निर्वाचनलाई आवश्यक राजनीतिक, कानुनी र प्राविधिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

राजनीतिक दलको सहभागिता बिनाको सरकार तथा संवैधानिक निकाय निर्वाचन आयोगले कसैको प्रभाव र दबाब बिना भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेमा ढुक्क हुन उनले आग्रहसमेत गरे । निर्वाचनका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग आयोगलाई उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

उनले निर्वाचन अत्यन्तै महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘पैसा नहुने मानिस उम्मेदवार नै नहुने, उम्मेदवार भए जित्नै नसक्ने स्थिति बनेको छ,’ आयोग पदाधिकारीलाई उनको आग्रह थियो, ‘यसलाई कसरी कडाइका साथ नियन्त्रण गर्न सकिन्छ । यसपटक गरौं । सरकारको साथ रहन्छ ।’ भ्रष्टाचारको मूल जड निर्वाचन महँगो हुनु पनि रहेको उनको भनाइ थियो । उनले यसपटकको निर्वाचनलाई एउटा मानकका रूपमा स्थापित गरेर जान सकिने गरिने आचार संहिताको पालनामा कडाइ गर्न आग्रह गरेका थिए । बढीभन्दा  बढी मतदातालाई मतदान केन्द्रमा ल्याउन तथा मतदाता मैत्री मतदान केन्द्र निर्माणमा जोड दिन उनले आयोगको ध्यानाकर्षण गराए । मतदान केन्द्रमा मतदाताले प्रयोग गर्न मिल्ने गरी शौचालय, अपांगतामैत्री वातावरण लगायतका व्यवस्थापन गर्न उनले आयोगलाई आग्रह गरे । 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले राजनीतिक कार्यक्रम तथा प्रचार प्रसारमा बालबालिकाको प्रयोगमा रोक लगाउन, महिला मतदाताको सहभागिता बढाउन तथा महिलालाई निर्वाचनबाट नेतृत्वमा ल्याउने गरी आयोगले भूमिका खेलिदिनुपर्ने आग्रह गरिन् । महिलाका लागि मतदाता शिक्षा कार्यक्रममा सहकार्य गर्नका लागि मन्त्रालय तयार रहेको उनले बताइन् । 

कान्तिपुर

Link copied successfully