वनमन्त्री चौलागाईले गरे बाघ गणनाको उद्घाटन

जंगलमा बाघ ओहाेरदोहहाेर गर्ने सम्भावित बाटो पहिचान गरी स्वचालित क्यामेरा दुई तर्फ राखेर बाघ गणना हुँदै आएको छ ।

पुस १, २०८२

रमेशकुमार पौडेल

Forest Minister Chaulagain inaugurated the tiger census

What you should know

चितवन — वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले मंगलबार बिहान राष्ट्रिय बाघ गणनाको आ‍ैपचारिक उद्घाटन गरेका छन् ।

सौराहा वन क्षेत्रमा बाघ गन्न राखेका स्वचालित क्यामेराको 'स्वीच अन' गरेर मन्त्री चौलागाईले यो पटकको बाघ गणना सुरू भएको घोषणा गरे ।

बाघ गणनाको अन्तिम नतिजा बाघ दिवसका दिन आउँदो जुलाई २९ मा सार्वजनिक गर्ने योजना रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ईकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए ।

क्यामेरा ट्रयापिङ विधि अर्थात जंगलमा बाघ ओहाेरदोहहाेर गर्ने सम्भावित बाटो पहिचान गरेर स्वचालित रूपमा फोटो खिच्ने क्यामेरा दुई तर्फ राखेर बाघ गणना हुँदै आएको छ ।

सन् २००९ देखि हरेक चार/पाँच  वर्षको अन्तरालमा यसरी बाघ गणना हुँदै आएको छ । गणनामा २५० जना खट्ने छन् । फिल्डमा क्यामेरा राख्नेदेखि क्यामेराबाट फोटो डाउनडोड गरेर संख्या एकिन गर्ने प्राविधिध यसमा सामेल हुने छन् । फिल्डमा तीन महिना र बाँकी समय प्राविधिक विश्लेषणमा लाग्ने आचार्यले बताए ।

गणनाका लागि ११ सय क्यामेरा प्रयोग हुने छन् । क्यामेराबाहेक करिब तीन करोड रूपैयाँ बाघ गणनामा खर्च हुने आचार्यले बताए ।

बाघ पाइने मुख्य क्षेत्रहरू चितवन पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा लालझाडी कम्प्लेक्समा सघन गणना हुने छ । बागमती नदीपारि तराइको क्षेत्र कोशीटप्पुसम्म पनि बाघको उपस्थिती अनुगमन हुने आचार्यले बताए । 'राष्ट्रिय बाघ सर्वेक्षण २०८२  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भूसंरक्षण विभाग, प्रदेश सरकार, नेपाली सेना, संरक्षण साझेदार संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालको सहयोगमा सम्पन्न हुने छ,' निकुञ्ज विभागले मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसअघि सन् २०२२ मा भएको राष्ट्रिय बाघ सर्वेक्षणमा देशभर ३५५ बाघ भेटिएका थिए । जसमध्ये सबैभन्दा धेरै चितवनमा १२८ बाघ थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully