छिटो कानुन संशोधन गरिदिन आयोगको आग्रह

राजनीतिक दलले जनसंख्याका आधारमा दलित, आदिवासी जानजाति, खस-आर्य, मधेसी, थारू र मुस्लिमको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ ।

पुस १, २०८२

राजेश मिश्र

Commission urges urgent amendment of law

What you should know

काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची तयार गर्न र नतिजा निकाल्न २०७८ को जनगणना अनुसारको समावेशी समूहको जनसंख्या प्रतिशत खुलाएर छिटो कानुन संशोधन गरिदिन सरकारलाई आग्रह गरेका छन् । 

मंगलबार छलफलका लागि आयोगमा आएका तीनजना मन्त्रीहरूसँग प्रमुख आयुक्तको उक्त आग्रह थियो । आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन पुस १३ र १४ को समय दिएको छ । समयको चाप रहेकाले द्रुत गतिमा प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ लाई संशोधन गरिदिन भण्डारीले मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

राजनीतिक दलले जनसंख्याका आधारमा दलित, आदिवासी जानजाति, खस-आर्य, मधेसी, थारू र मुस्लिमको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा २८(५) मा समानुपातिक बन्दसूचीसम्बन्धी प्रावधान उल्लेख छ । ऐनको अनुसूची–१ मा २०६८ को जगणना अनुसार उम्मेदवारको बन्दसूचीका लागि समावेशी आधार तोकिएको छ । त्यहाँ पुरानो जनगणनाअनुसारको दलित, आदिवासी जनजाति, खास-आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसंख्या प्रतिशत उल्लेख छ । ऐनमा उल्लेखित समावेशी समूहको जनगणना प्रतिशतअनुसार २०७४ र २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दलहरूले बन्दसूची तयार गरेका थिए । त्यही आधारमा निर्वाचन र परिणाम घोषणा गरिएको थियो ।

२०७८ मा भएको जनगणनाको रिपोर्ट सार्वजनिक भइसकेकाले जनसंख्याको पछिल्लो प्रतिशतअनुसार प्रतिनिधित्व गराउनु पर्ने भएकाले ऐनमा संशोधन आवश्यक रहेको भण्डारीले बताए । प्रतिनिधिसभा निर्वाचन ऐनको अनसुची–१ मा २०६८ को जनगणनाअनुसार समावेशी समूहको जनसंख्या प्रतिशत लेखिएको छ । त्यसलाई २०७८ को जनगणनाअनुसार बनाउन कानुन संशोधन आवश्यक छ । आयोगले गत ३ मंसिरमै गृह मन्त्रालयलाई कानुन संशोधन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । एक महिना हुन लाग्दासम्म कानुन संशोधन भएर आएको छैन । 

समानुपातिक बन्दसूची बुझाउने समय नजिकिँदै गएकाले आयोग दवाबमा छ । ‘नयाँ जनगणना भएर रिपोर्ट आइसकेको स्थितिमा पुरानो जनसंख्या प्रतिशतअनुसार जान सकिने स्थिति रहँदैन । त्यसले कानुनी प्रश्न पनि उठ्ला,’ प्रमुख आयुक्त भण्डारीले भनेका थिए, ‘नयाँ प्रतिशत निर्धारण भएर कानुनमा समेटिएर नआउँदा त्यस अनुसारको बन्दसूची बनाउन दलहरुलाई भन्न सकिएको छैन ।’

कानुनमन्त्री अनिल सिन्हाले समानुपातिकतर्फ समावेशी प्रतिनिधित्वका विषयमा जनगणनाअनुसारको प्रतिशत निकाल्ने काम भइरहेको बताए । उनले त्यसअनुसार अध्यादेश ल्याएर कानुन संशोधन गर्ने गृहकार्यमा सरकार लागिरहेको बताएका थिए । सरकारका तीनजना मन्त्री तथा आयोगका तीनजा पदाधिकारीसहितका अधिकारीहरुबीच मंगलबार कान्तिपथस्थित आयोगको कार्यालयमा निर्वाचन तयारीबारे अन्तर्क्रिया भएको थियो । त्यसमा समानुपातिक निर्वाचन प्रणालीतर्फ जनसंख्याको आधारमा समावेशी समूहको प्रतिनिधित्वका गराउने सम्बन्धमा कानुनी व्यवस्थाका विषयलाई आयोगले प्राथमिकताका साथ उठाएको थियो । 

आयोगमा कानुनमन्त्री सिन्हासहित, सञ्चारमन्त्री जगदीश खरेल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ पुगेका थिए ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully