न्याय माग्दै सुर्खेतबाट काठमाडौं आइन् ७ महिनाकी गर्भवती

आफूलाई जबर्जस्ती करणी गर्नेमाथि कारबाही हुनुपर्ने र शिशुको अधिकार सुरक्षित गर्नुपर्ने माग राख्दै उनी अनशनमा बसेकी हुन् ।

पुस १, २०८२

प्रकृति दाहाल

7-month pregnant woman comes to Kathmandu from Surkhet seeking justice

What you should know

काठमाडौँ — जबर्जस्ती करणीबाट गर्भ रहेपछि न्याय माग्दै सुर्खेतबाट २५ वर्षीया एक महिला काठमाडौं आएकी छन् । दार्चुलाका भूपेन्द्रसिंह ठगुन्नाले आफूमाथि जबर्जस्ती करणी गरेको उनको आरोप छ । सात महिनाकी गर्भवती उनी काठमाडौं आएलगत्तै माइतीघरमा मंसिर २५ देखि २७ गतेसम्म अनशन बसेकी थिइन् । ठगुन्नामाथि कारबाही हुनुपर्ने र शिशुको अधिकार सुरक्षित गर्नुपर्ने माग राख्दै उनी अनशनमा बसेकी थिइन् ।

तर, अनशनमा बस्दा पेटको बच्चा चल्न छोडेपछि प्रहरीले गत आइतबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएको थियो । 

सामाजिक सञ्जालबाट चिनजानी हुँदै उनीहरू चार वर्षअघि काठमाडौंमा भेटेका थिए । ‘म काठमाडौंमा बसेर ब्याचलर पढ्दै थिएँ, त्यहीबेला हाम्रो भेट भएको हो,’ ती महिलाले कान्तिपुरसँग भनिन् । काठमाडौं छाडेर सुर्खेत गएपछि त्यहाँ पनि ठगुन्ना कोठामै आएर बारम्बार हातपात तथा बलात्कार गर्ने गरेको उनको दाबी छ ।

दुई वर्षअघि राष्ट्रिय मानवअधिकार आयोगमार्फत उनले सुर्खेतस्थित जिल्ला र उच्च दुवै अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । दुवै अदालतले ठगुन्नालाई सफाइ दियो । त्यसपछि पनि ठगुन्नाले आफूमाथि निरन्तर हिंसा गर्न नछाडेको ती महिलाको दाबी छ ।

गर्भ बसेपछि उनले पुनः न्याय माग्दै सरकारी वकिलको कार्यालय, मानवअधिकार आयोग र महिला आयोग जस्ता निकायमा हारगुहार गरिन् । ‘तर कतैबाट न्याय नपाएपछि अनशन बस्न बाध्य भएकी हुँ,’ महिला भन्छिन्, ‘पहुँच र शक्तिको आडमा मलाई धम्काउने, डर देखाउने गरेका छन्, उसको परिवारबाट मार्नेसम्मको धम्की आइरहन्छ ।’ न्याय नपाएसम्म सडकबाटै आफू लडिरहने बताउँदै उनी थप्छिन्, ‘म मरे मर्छु तर ऊ जेल नजाउन्जेल सडकमा नै लडिरहन्छु ।’

थापाथलीस्थित प्रसूति अस्पतालका प्रवक्ता सुकुमाया लामाले हाल उनी र गर्भ दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको जानकारी दिइन् । सुर्खेत जिल्ला प्रहरी निरीक्षक दीपक मंग्रातीका अनुसार एक वर्ष अगाडि दुवै जना ‘लिभिङ टुगेदर’मा बसेको देखिन्छ ।

‘जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका बेलासम्म ती पुरुष सर्वोच्च अदालतमा कार्यरत रहेकोमा पछि प्रहरीले बर्खास्त गरिसकेको छ,’ मंग्रातीले भने, ‘पक्राउ गरेर उनलाई अदालतमा उपस्थित गराइएको थियो, महिलाले इन्कारी बयान दिएपश्चात् छाडिएको हो ।’ त्यसपछि महिलाले पुनः १३ भदौमा मुद्दा दर्ता गरेपछि अदालतबाट पक्राउ पुर्जी लिएर युवकको खोजी गरिरहे पनि उनी फरार रहेको मंग्रातीले बताए ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully