शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको तिलौराकोटबाट बुधबार बिहान १० बजे यात्रा थालिने भारतीय अध्येता तथा महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल कार्यक्रमका को-अडिनेटर दीपक आनन्दले बताए ।
What you should know
लुम्बिनी — नेपाल, भारतसहित १३ देशका एक सय भिक्षुणी महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेलमा यात्रा गर्दैछन् । नयाँ पर्यटन प्रडक्टका रूपमा विकास गरी आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न नेपाल र भारतका पर्यटन उद्यमीले यसबारे पहल थालेका हुन् ।
शाक्यवंशीय राजा शुद्धोदनकी महारानी महाप्रजापति गौतमी ५ सय शाक्य महिलालाई लिएर भिक्षुणी बन्न भारतको वैशाली गएको बाटो पछ्याउँदै अहिले सय जना महिलाले यस रुटमा यात्रा गर्न थालेका हुन् ।
शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको तिलौराकोटबाट बुधबार बिहान १० बजे यात्रा थालिने भारतीय अध्येता तथा महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेल कार्यक्रमका को-अडिनेटर दीपक आनन्दले बताए । तिलौराकोटमा केही महिला भिक्षुणी बनेर यात्रा सुरु गर्दै छन् ।
तिलौराकोट, निग्रोधाराम हुँदै लुम्बिनी, रामग्राम र थाडीघाट (सुस्ता) पुगेर टोली सुनौली फर्किने र त्यहाँबाट भारत प्रवेश गर्नेछ । भारतमा वाल्मिकीनगर, नन्दनगढ, लौरिया अरेराज, केसरिया हुँदै वैशाली पुगेर यात्रा समापन हुनेछ । ३ सय किलोमिटरको यात्रा एक साता लगाएर पूरा गरिँदैछ । यात्रामा नेपाल, भारत, थाइल्याण्ड, अमेरिका, क्यानाडा, भियतनाम, सिंगापुर र अस्ट्रेलिया लगायत १३ मुलुकका भिक्षुणी सहभागी हुने छन् । भिक्षुणीहरू दैनिक ५/७ किमि हिँड्ने र त्यसपछि बसमा यात्रा गर्दै एक सातामा यात्रा पूरा गर्ने कार्यक्रम रहेको कोअडिनेटर आनन्दले बताए । यस यात्रामा नेपाल र भारतका ६५ एवं अन्य देशका ३५ भिक्षुणी सहभागी हुँदै छन् । यात्रा पुस ८ मा समापन हुनेछ 
‘नेपालका पर्यटन इलमी विक्रम पाँडेकाजीसँग मिलेर महाप्रजापति गौतमी ग्रेट रिनाउन्सेसन ट्रेलका बारेमा लामो अध्ययन गर्यौं,’ कोअडिनेटर आनन्दले भने, ‘त्यसपछि शान्तिप्रेमीका लागि नयाँ आयाम थप्न कार्यक्रम गर्ने निर्णयमा पुगेका हौं ।’
ईसापूर्व छैटौं शताब्दीमा महाप्रजापति गौतमीले गरेको यस रुटको यात्रा ऐतिहासिक मानिने लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले बताए । ‘त्यही यात्रा ब्यूँताउन मैले लामो समयसम्म अध्ययन अनुसन्धान गरेँ,’ उनले भने, ‘अहिले यसरी कार्यक्रम गर्न पाउँदा शान्ति पर्यटनको नयाँ अध्याय सुरु भएको महसुस गरेको छु ।’
लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेसनल भारतको संयोजनमा युनाइटेड थेरावाद भिक्षुणी संघ इन्टरनेसनल, नव नालन्दा महाविहार, डिम्ड युनिभर्सिटी नालान्दा र नेपालको बुद्ध सर्किट्स डटकमले कार्यक्रम आयोजना गरेका हुन् । यो यात्राको सफलतापछि दुई देशको पर्यटन प्रवर्द्धनमा राम्रो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
राजा शुद्धोदनको मृत्युपछि महामाया प्रजापति गौतमी पनि भिक्षुणी बन्न चाहेकी थिइन् । तर, छोरा बुद्धले भिक्षुणी बनाउन इन्कार गरे । त्यसपछि बुद्धको प्रमुख शिष्य आनन्दमार्फत महामायाले आफूहरूलाई भिक्षुणी बनाउन पुनः आग्रह गरिन् । त्यसपछि ५ सय जना शाक्य महिला तिलौराकोटबाट यात्रा गरेर वैशाली पुगेर भिक्षुणी संघमा सामेल भएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।
