मन्त्री घिसिङले जेनजी आन्दोलनपछि बनेको यो सरकारले गराउने आगामी निर्वाचन देशको भविष्यका लागि निर्णायक हुने बताए ।
काभ्रे — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनपछिको सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने बताएका छन् ।
सोमबार काभ्रेको बनेपामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले अब बन्ने सरकार कस्तो हुन्छ भन्ने कुरा महत्वपूर्ण रहेकाले त्यसकाे नेतृत्व उज्यालो नेपालले गर्ने दाबी गरे ।
देशलाई सही दिशामा लैजान सबै शक्ति एक भएर अगाडि बढ्नुपर्ने उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘अबको निर्वाचनपछि बन्ने सरकार कस्तो हुन्छ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ, त्यो सरकारको नेतृत्व उज्यालो नेपाललाई दिनुपर्छ ।’ उनले सबै किसिमका राजनीतिक, सामाजिक तथा वैयक्तिक शत्तिहरूलाई एकजुट गर्दै अगाडि बढ्नुपर्ने बताए ।
उनका अनुसार अहिले प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्नुपर्ने महत्वपूर्ण चरणमा पार्टी पुगेको छ । ‘यो सानो कुरा होइन, तर असम्भव पनि होइन, चुनौतीहरू आउँछन्,’ उनले भने, ‘तर चुनौतीको सामना गर्दा ठूलो परिणाम हासिल गर्न सकिन्छ ।’
मन्त्री घिसिङले जेनजी आन्दोलनपछि बनेको यो सरकारले गराउने आगामी निर्वाचन देशको भविष्यका लागि निर्णायक हुने बताए । ‘अबको निर्वाचनपछि बन्ने सरकारले देशको दिशा तय गर्नेछ, त्यसैले उज्यालो नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्ने छ,’ उनले भने ।
