अध्ययन भन्छ- 'सामाजिक सञ्जालले बालबालिकाको एकाग्रतामा समस्या'

स्वीडेन र अमेरिकामा गरिएको अध्ययनले १० देखि १४ वर्षका बालबालिकामा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले ध्यान केन्द्रित गर्ने क्षमता कमजोर बनाएको देखाएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Study says - 'Social media causes problems with children's concentration'

What you should know

काठमाडौँ — बालबालिकाहरूमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता (कन्सन्ट्रेसन लेभल) मा क्षति पुर्‍याइरहेको एक अध्ययनले देखाएको छ ।

यसले ‘एटेन्सन डिफिकिट हाइपरएक्टिभिटी डिसअर्डर’ (एडीएचडी) का घटना बढ्दै गरेको अनुसन्धाताहरूको दाबी छ । एडीएचडी बालबालिकामा हुने एक सामान्य मस्तिष्क रोग हो जसले ध्यान केन्द्रित गर्न समस्या निम्त्याउँछ ।

स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युट र अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीले तयार पारेको अध्ययनले बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमतामा ह्रास हुँदै आएको उल्लेख छ । अध्ययनका लागि १० देखि १४ वर्ष उमेर समूहका ८ हजार ३ सयभन्दा बढी अमेरिकी बालबालिकाको विकास प्रक्रियालाई नजिकबाट नियालेको अनुसन्धाताहरुको दाबी छ ।

अध्ययनअनुसार ९ वर्षको उमेरमा दैनिक करिब ३० मिनेट सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकाले १३ वर्ष पुग्दा दैनिक अढाई घण्टासम्म प्रयोग गर्छन् ।

कारोलिन्स्का इन्स्टिच्युटका संज्ञानात्मक न्युरोसाइन्सका प्रोफेसर टोर्केल क्लिङबर्गले भने, ‘हाम्रो अध्ययनले सामाजिक सञ्जालले नै बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमतालाई असर गरिरहेको देखाउँछ ।’ 

क्लिङबर्गका अनुसार, सामाजिक सञ्जालमा आउने म्यासेज र नोटिफिकेसनले तथा कुनै म्यासेज आयो कि भनेर मनमा आइरहने विचार नै मानसिक रूपमा ध्यान भंग गर्ने माध्यम हो । क्लिङबर्गले अमेरिकामा सन् २००३ देखि २००७ मा ९.५ प्रतिशत रहेको एडीएचडीको दर सन् २०२०-२०२२ मा ११.३ प्रतिशत पुगेको सन्दर्भ दिँदै यसको केही हिस्सा सामाजिक सञ्जालको बढ्दो प्रयोगले निम्त्याएको हुन सक्ने बताए ।

अध्ययनअनुसार बालबालिकाले दैनिक सरदर २.३ घण्टा टेलिभिजन वा अनलाइन भिडियो हेर्ने, १.४ घण्टा सामाजिक सञ्जालमा बिताउने र १.५ घण्टा भिडियो गेम खेल्ने गरेको भेटिएको हो । भिडियो गेम खेल्नु वा टीभी-युट्युब हेर्नुलाई एडीएचडीसँग सम्बन्धित लक्षणसँग जोड्न सकिँदैन । तर, सामाजिक सञ्जालको प्रयोगले समयसँगै बालबालिकामा उनीहरुको धीरता घट्दै गएको देखिन्छ । 

अध्ययनले भनेको छ, 'यसको प्रभाव व्यक्तिगत तहमा सानो देखिए पनि ठूलोस्तरमा असर पारेमा यसले डरलाग्दो परिणाम दिन सक्छ ।' यो अध्ययन 'पेडियाट्रिक्स ओपन साइन्स' जर्नलमा प्रकाशित छ ।

कान्तिपुर

Link copied successfully