यस अगाडि गरिएको ‘जियो फिजिक्स सर्भे’ले पहिचान गरेको भन्दा नयाँ स्थानमा उत्खनन् गर्दा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला परेको पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए ।
What you should know
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा बुद्धकालीन समयका बस्तु र संरचना फेला परेका छन् ।
पुरातत्व विभागले गरेको उत्खनन्मा बुद्धकालीन सहरका थप संरचना फेला परेका हुन् । यस अगाडि गरिएको ‘जियो फिजिक्स सर्भे’ले पहिचान गरेको भन्दा नयाँ स्थानमा उत्खनन् गर्दा कुषाणकालीन तामाका सिक्का र विभिन्न पुरातात्विक सामग्री फेला परेको पुरातत्वविद् भाष्कर ज्ञवालीले बताए ।
‘यस अगाडि पनि हामीले यो क्षेत्रमा उत्खनन् गर्दा बुद्धकालीन समयको सहरका संरचना फेला पारेका थियौं । त्यसैले यो क्षेत्रलाई महत्वपूर्णस्थलको रुपमा हामीले राखेका छौं,’ ज्ञवालीले भने,‘अहिलेको उत्खनन्मा पर्खालका अवशेष, प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहना र कुषाणकालीन तामाका सिक्का फेला परेका छन् ।’
अघिल्लो वर्ष भएको उत्खनन्मा चक्र आकारमा व्यवस्थित सहरको संरचनामा जमिनमूनि भेटिएको बस्तुलाई बेलायत लगेर परीक्षण गरिएको थियो । अध्ययनका क्रममा पण्डितपुरमा भेटिएका संरचना इसापूर्व छैटौं शताब्दीका भएको पुष्टि भएको पुरातत्व विभागले जनाएको छ ।
करिब ६० बिगाहा क्षेत्रफलमा फैलिएको पण्डितपुर क्षेत्रमा अहिले बस्ती तथा खेती छ । नीजि जग्गा भएकाले यसलाई अधिग्रहण गर्नुपर्ने भए पनि बजेट अभावमा हुन सकेको छैन् । फेला परेका पुरातात्विक बस्तुको संरक्षणको लागि जग्गा अधिग्रहण गरेर संरक्षण गर्ने योजना भए पनि बजेट अभाव रहेकाले केन्ऽ सरकारले यसमा ध्यान दिनुपर्ने रामग्राम विकास कोषले जनाएको छ ।
स्थानीयले भने राज्यले जग्गा अधिग्रहण गर्दा उचित क्षतिपुर्ति दिनुपर्ने माग गर्दै आइरहेका छन् । रामग्राम नगरपालिकाले गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धको मावली दाबी गरिएको पण्डितपुरलाई मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योजना बनाए पनि बजेट अभावमा कार्यान्वयन हुन सकेको छैन् ।
‘ऐतिहासिक क्षेत्रको विकासमा स्थानीय तहले मात्र चाहेर हुादो रहेनछ । यस क्षेत्रमा काम गर्दा लुम्बिनी विकास कोष, पुरातत्व विभागको अनुमति लिनुपर्नेलगायतका धैरै प्रक्रिया छन्,’ रामग्राम नगरपालिका प्रमुख धनपत यादवले भने,‘कि संघीय सरकारले यसको विकास र प्रवर्द्धनमा ध्यान दिनुपर्यो, होइन भने स्थानीय सरकारलाई सबै अधिकार दिनुपर्यो ।’
यो क्षेत्रमा भेटिएको बस्तुको वैज्ञानिक परीक्षणमा छैटौं शताब्दीको संरचना भेटिएकाले पण्डितपुर महत्वपूर्ण पुरातात्विकस्थल भएको पुष्टि भएको छ । पण्डितपुरलाई कोलीय गणराज्यको राजधानीका साथै बुद्धको मावलीस्थलको रुपमा दाबी गरिँदै आएको छ । बौद्धकालदेखि मुस्लिम (मुगल) समुदायको बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको छ । जसमा छैटौं शताब्दीका संरचना भेटिएकाले यो निकै प्राचीन बस्ती भएको पुरातत्व विभागको निष्कर्ष छ ।
