सगरमाथासहित हिमाल सफा गर्न ५ वर्षे योजना स्वीकृत

नयाँ कार्यविधि पर्यटन मन्त्रालयले तयार पारेको हो र यसलाई सर्वोच्च अदालतले सगरमाथा सफाइबारे जारी गरेको परमादेशअनुसार कार्यान्वयन गरिनेछ ।

मंसिर २९, २०८२

सुरज कुँवर

Five-year plan approved to clean mountains including Everest

What you should know

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नयाँ पाँच वर्षे हिमाल सफाइ कार्यविधि (२०८२–२०८६) स्वीकृत गरेका छन् । 

नयाँ कार्यविधि पर्यटन मन्त्रालयले तयार पारेको हो र यसलाई सर्वोच्च अदालतले सगरमाथा सफाइबारे जारी गरेको परमादेशअनुसार कार्यान्वयन गरिनेछ ।

पर्यटन सचिव मुकुन्द निरौलाले मन्त्री सिन्हालाई आइतबार पेस गरेको रणनीतिअनुसार, सगरमाथासहित ८ हजारभन्दा अग्लासहित आरोहण हुने हिमचुचुराहरूमा आरोहीहरूले छोड्ने फोहोर र मलमूत्र व्यवस्थित रूपमा संकलन र व्यवस्थापन गरिनेछ । 

नयाँ कार्यविधि विशेषगरी सगरमाथा, ल्होत्से र अन्य खुला हिमालमा स्वच्छता कायम गर्न केन्द्रित छ ।

नेपाल सरकारले सन् २०१९ देखि नेपाली सेना, स्थानीय तह र गैरसरकारी संस्थाहरूको सहभागितामा हिमाल सफाइ अभियान सञ्चालन गर्दै आएको छ । नयाँ कार्यविधिले यस अभियानलाई अझ व्यवस्थित बनाउँदै, स्थानीय निकाय, सेना र सरोकारवालाहरूबीचको समन्वय सुनिश्चित गर्ने लक्ष्य राखेको छ । आरोहीहरूले हिमालबाट  फोहोर अनिवार्य रूपमा फर्काउनुपर्ने, फोहोर व्यवस्थापन, वर्गीकरण, संकलन, प्रशोधन र निष्कासनका लागि आवश्यक पूर्वाधार र प्रविधिको सुनिश्चितता, नेपाली सेना, स्थानीय निकाय, गैरसरकारी संस्था र आरोहीहरूलाई प्रत्यक्ष संलग्न गराइ उचित पारिश्रमिक र बिमा सुनिश्चित गर्नु पर्ने छ । पर्यावरण संरक्षणका लागि यो कार्यविधिले हिमाली क्षेत्रको जैविक विविधता र वातावरणीय स्वच्छता कायम राख्ने उपायहरू पनि सुझाएको छ । सामुदायिक जागरूकताका लागि आरोही र स्थानीय जनतामा हिमाल सफाइ तथा फोहोर व्यवस्थापनबारे चेतना फैलाउने कार्यक्रम पनि यसमा समेटिएका छन् ।

मन्त्री सिन्हाले हिमाल नेपालकै पहिचान भएकाले फोहोरमुक्त हिमाल र स्वच्छ वातावरण सुनिश्चित गर्नु सबैको कर्तव्य हुने जनाउँदै आफ्नो पद बहालीमा यो पहिलो निर्णय गरेका थिए ।

यसअघि, सगरमाथा सफाइबारे सर्वोच्च अदालतले सरकारले प्रकृतिलाई संरक्षण गर्नुपर्ने आदेश दिइसकेको थियो । नयाँ कार्यविधिले त्यस परमादेशलाई व्यवहारमा उतार्ने मार्ग तयार गरेको छ । नेपालका हिमालहरू पर्यटनका मात्र केन्द्र होइनन्, जलवायु र जलस्रोत संरक्षणका लागि पनि महत्त्वपूर्ण मानिन्छन् ।

हिमाल आरोहणका कारण हिमालमा फोहोर बढ्दै गएको, आरोहीहरूले छोड्ने पोसाक, जुत्ता, अक्सिजन सिलिन्डर, प्लास्टिक, खपत गरिएका क्यान र प्रयोग गरिएका डोरी हिमालमा थुप्रिँदै गएका छन् । 

हिमालको फोहोर व्यवस्थापनका लागि सन् १९५३ बाट सफाइ अभियान सुरु भएको थियो । सन् २०००–२००७ मा जापानी आरोही केन नेगुची नेतृत्वमा सगरमाथा सफाइ अभियान दोस्रोपटक भएको थियो । सन् २००८ देखि २०१९ मा एसियन ट्रेकिङ, नेपाली सेना र स्थानीय निकायको सहकार्यमा सगरमाथा र ल्होत्सेमा सफाइ अभियान चलेको थियो । सन् २०११ मा आरोहीहरूले सगरमाथा आधार शिविरदेखि ८,७०० मिटर उचाइसम्म ८.१ मेट्रिक टन फोहोर संकलन गरेका थिए । सन् २०१९–२०२४ मा नेपाली सेनाको सफा हिमाल अभियान अन्तर्गत १,१९,०५६ केजी फोहोर र १२ मानव शव संकलन भएका थिए ।

हाल खुम्बु क्षेत्रमा सगरमाथा प्रदूषण नियन्त्रण समिति र स्थानीय शेर्पा समुदायको सहकार्यमा आधार शिविर माथिका क्षेत्रमा फोहोर व्यवस्थापन भइरहेको छ । आरोहीहरूले मलमूत्र संकलनका लागि पुप ब्याग अनिवार्य प्रयोग गरिरहेका छन् । साथै, फोहोर व्यवस्थापन शुल्क पनि लागू गरिएको छ।

ईसिमोडको अध्ययन अनुसार, हालको तापक्रम र कार्बन उत्सर्जनको दर कायम रह्यो भने शताब्दीको अन्त्यसम्म हिमशृंखलाको ६४ प्रतिशत हिस्सा पग्लने अनुमान छ । सगरमाथा आरोहीहरूले पनि हिमताल र हिमनदीको आकारमा परिवर्तन भएको अनुभव पनि गरेका छन् ।

नयाँ कार्यविधिले आगामी पाँच वर्षमा हिमाल सफाइ अभियानलाई प्रभावकारी, दिगो र व्यवस्थित बनाउने लक्ष्य राखेको  सचिव निरौलाले बताए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully