सरकारले संघीय संसद्लाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छ : सभामुख घिमिरे

सरकारले संघीय संसद्लाई आफूमातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाइ

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

Government is trying to impose invisible restrictions on the federal parliament: Speaker Ghimire

काठमाडौँ — सभामुख देवराज घिमिरेले संघीय संसद्लाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । संघीय संसद सचिवालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनको सान्दर्भिकता नभएको जिकिरसमेत गरे ।

सभामुख घिमिरेले सरकारले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी घटाउने कामप्रति पनि असन्तुष्टि व्यक्त गरे । सरकारले संघीय संसद्लाई आफूमातहतको कुनै एउटा शाखाको जस्तो व्यवहार गर्नु उचित नभएको सभामुख घिमिरेको भनाइ थियो । 

सभामुख घिमिरेको भनाइ

२७ भदौमा गएर संसद्लाई नै विघटन गरिएको छ । यसको सोझो सान्दर्भिकता देखिँदैन र छैन । यो संसदीय व्यवस्थामाथिको प्रहार हो । पछिल्लो समय सरकारले संसद् र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रूपमा अदृष्य बन्देज लगाउने प्रयास गरिरहेको छ । म सभामुखको हैसियतले स्पष्ट शब्दमा भन्न चाहन्छु–संसद्को सरकारको अधिनमा रहने कुनै एउटा शाखा होइन र हुन सक्दैन ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद् आफैंमा पूर्ण स्वायत्त निकाय हो । संसद्को बजेटमा अर्थ मन्त्रालयले कैँची चलाउनु, कर्मचारीको सेवा, सुविधा र दरबन्दीमा प्रशासनिक बाधा पुर्‍याउनु भनेको अप्रत्यक्ष रूपमा व्यवस्थापिकालाई कार्यकारीले नियन्त्रण गर्ने उल्टो प्रयास हो ।

संसद्को आर्थिक र प्रशासनिक साँचो सरकारको हातमा मात्रै हुने हो भने यो संसद्ले कसरी सरकारमाथि निष्पक्ष निगरानी र सन्तुलित कामहरू गर्न सक्दछ ? यो अहिले तत्काल छलफल, बहस र तुरुन्त कार्यान्वयनमा सुधार गर्नुपर्ने विषय हो भन्ने कुरा म राख्न चाहन्छु ।

कान्तिपुर

Link copied successfully