निर्वाचनपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री सिन्हाको भनाइ
What you should know
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् । १९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित एक गरेको एक कार्यक्रममा मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
त्यसका लागि संसद् सेवाका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने समेत उनको भनाइ छ । उनले कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसद्को सुझाव अति उपयोगी हुने विश्वाससमेत व्यक्त गरे ।
मन्त्री सिन्हाले कानुन निर्माण गर्ने संघीय संसद्को कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरूको योगदान उल्लेख्य हुने पनि बताए ।
मन्त्री सिन्हाको भनाइ
‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसद्को विशेष सहयोगीको रूपमा रहेको संसद् सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो । संघीय संसद्को कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संघीय संसद् सेवाको भूमिका महत्त्वपूर्ण हुन्छ ।
कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता हो । हामी कानुन मन्त्रालयको तर्फबाट पनि एउटा कोसिस थालनी गरेका छौ । कानुनका शब्दहरू, कानुनका भाषाहरू सरल कसरी बनाउने ? त्यसका निमित्त के हुन सक्दछ भन्ने कुरोका अध्ययन अहिले भइरहेको छ । यसका लागि कानुन निर्माण गर्ने संस्था संसद्को भूमिका पनि अहम् रहन्छ । यसका यहाँहरूको त विशेष भूमिका रहन्छ । संसद्को भूमिकालाई प्रभावकारी बनाउन संसद् सेवा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ ।’
