मलेसियामा थप ४९ कागजातविहीन विदेशी श्रमिक पक्राउ

उनीहरूसँग वैध यात्रा कागजात नरहेको र तोकिएको बसोबास अवधि नाघिसकेको पाइएको विभागले जनाएको छ।

मंसिर २८, २०८२

कान्तिपुर संवाददाता

49 more undocumented foreign workers arrested in Malaysia

काठमाडौँ — मलेसियाको अध्यागमन प्रहरीले जोहोर राज्यमा सञ्चालन गरिएको विशेष अभियानमा मलेसिया बस्ने आवायीय अनुमति नभएका (कागजातविहीन) ४९ जना विदेशी श्रमिक पक्राउ परेका छन्।

टामन जोहोर जया क्षेत्रमा रहेका १६ वटा सटर र आवासीय घरमा विभागले शनिबार आकस्मिक रूपमा ‘अप्स सापु’ अभियान सञ्चालन गरेको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार अध्यागमन निर्देशक दातुक मोहद रुस्दी मोहद दारुसका अनुसार पक्राउ परेकाहरु २० देखि ४९ वर्षसम्मका छन्।

अनुगमनका क्रममा सबै पक्राउ परेकासँग वैध यात्रा कागजात नरहेको र उनीहरूले तोकिएको बसोबास अवधि नाघिसकेको पाइएको विभागले जनाएको छ। छापा मार्ने क्रममा केही व्यक्तिले भागेर छतमा लुकेर बच्ने प्रयास गरे पनि सबैलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सेटिया ट्रोपिका अध्यागमन थुनुवा केन्द्रमा राखिएको छ। उनीहरू आप्रवासन ऐन १९५९/६३ उल्लंघन गरेको आशंकामा अनुसन्धानमा छन्।

जोहोर अध्यागमन विभागले राज्यलाई कागजातविहीन आप्रवासीमुक्त बनाउने उद्देश्यसहित यस्ता कारबाहीहरू निरन्तर जारी रहने जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully