प्रधानमन्त्री कार्यालयबाट कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठको नाम शीतल निवास पठाइएको छ
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न थालेकी छिन् । पछिल्लो पटक प्रधानमन्त्री कार्कीले ४ जना मन्त्री थप्न थालेकी हुन् ।
प्रधानमन्त्री कार्यालयबाट ४ जनाको नाम राष्ट्रपति भवन शीतल निवास पुगिसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार थपिने मन्त्रीहरूमा कुमार इङ्नाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।
इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
इङ्नाम अधिवक्ता हुन् । त्यस्तै चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे 'सपादलक्ष कर्णाली' नामक पुस्तक लेखेका छन् । शुक्रबार दिउँसो नै नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी छ ।
