ताम्रत लेइनले भने, 'विद्यार्थीहरूले पनि विश्वविद्यालयलाई राजनीतिक शक्तिबाट स्वतन्त्र बनाउने मूल्य तिर्नुपर्छ ।'
What you should know
लुम्बिनी — इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेइनले विश्वविद्यालयभित्रका समस्या समाधान नगर्ने हो भने समाजका अन्य समस्या पनि समाधान नहुने बताएका छन्। यस्ता चुनौती समाधान गर्ने माध्यम पनि विश्वविद्यालयहरू नै भएको उनको भनाइ छ।
'विश्व शान्ति कार्यक्रम' अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा शुक्रबार भएको संवादमा ताम्रतले विश्वविद्यालयका अनेक समस्या औंल्याए। 'विश्वविद्यालयहरू राजनीतिक बनेका छन्, गतिशीलता हराइरहेको छ, नयाँ अनुसन्धान कम उत्पादन भइरहेको छ,' उनले भने, 'यस्तै अन्य समस्या पनि बढिरहेको छ भने विश्वविद्यालयहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छैनन्।'
सबैभन्दा पहिला विश्वविद्यालयहरू स्वतन्त्र र स्वशासित हुनुपर्ने उनको भनाइ थियो। 'कुनै पनि राजनीतिक शक्तिमा निर्भर हुनुहुँदैन। तर, धेरै विकासशील देशहरूमा यही समस्या देखिन्छ,' पूर्वप्रधानमन्त्री ताम्रतले भने, 'विश्वविद्यालयभित्र नै समस्या छ, समाज वा अन्य बाह्य पक्षहरूमा होइन।'
विश्वविद्यालयहरू पूर्ण शैक्षिक स्वतन्त्र र राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने उनले पटकपटक दोहोर्याए। विश्वविद्यालयभित्र स्वतन्त्र विचारलाई प्रोत्साहन दिँदै अनुसन्धानका काम स्वतन्त्र रूपमा अगाडि बढ्नुपर्नेमा वास्तविकता त्योभन्दा फरक रहेको उनले बताए। धेरैजसो विश्वविद्यालय राजनीतिक शक्तिमा निर्भर रहेको भन्दै उनले धनी व्यक्तिर वा समूहहरूले पनि आफ्नै हितका लागि प्रयोग गर्न सक्ने जोखिम रहेको औंल्याए।
विश्वविद्यालयमा बलियो र दूरदर्शी नेतृत्व भए मात्रै वास्तविक अध्ययन, अनुसन्धान र नवप्रवर्तनको केन्द्रको रूपमा स्थापित हुन सक्ने ताम्रतले बताए।
विश्वविद्यालयमा थप गम्भीरता र प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले विद्यार्थी राजनीतिको पनि प्रसंग उप्काए। 'विश्वविद्यालयका विद्यार्थीहरूले पनि विश्वविद्यालयलाई राजनीतिक शक्तिबाट स्वतन्त्र बनाउने मूल्य तिर्नुपर्छ,' उनले भने, 'हाम्रो विश्वविद्यालय कुनै पनि राजनीतिक शक्तिबाट स्वतन्त्र हुनुपर्छ भन्ने अधिकार विद्यार्थीको हो।'
कुनै संस्था निर्माण र मानिसको ज्ञान परिवर्तनमा शिक्षाको केन्द्रीय भूमिका रहने भन्दै पूर्वप्रधानमन्त्री ताम्रतले भने, 'तर, नेपाल, इथियोपिया र अफ्रिकाका अन्य देशहरूमा पनि विश्वविद्यालयहले धेरै चुनौती भोगिरहेका छन्।'
