फिल्म : सञ्चार मन्त्रालयमा राख्ने कि संस्कृति मन्त्रालयमा? 

आखिर विधेयकका महत्त्वपूर्ण मुद्दामध्येमा फिल्मकर्मीले मन्त्रालयको विषयलाई नै किन बहसको केन्द्रमा राखिरहेका छन् त ? किन फिल्मकर्मी फिल्मलाई संस्कृति मन्त्रालय अन्तर्गत नै राख्न चाहन्छन् । अनि, संचारमन्त्रीले सञ्चारतिरै राख्नुपर्ने अडान किन लिइरहेका छन् ?

मंसिर २५, २०८२

रीना मोक्तान

Film: Should it be placed in the Ministry of Communications or the Ministry of Culture?

What you should know

काठमाडौँ — चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि समिति, सरकार र सरोकारवालाबीच विधायन व्यवस्थापन समितिमा बसेको त्रिपक्षीय बैठकमा एउटा रोचक दृश्य देखियो ।

सरोकारवालातर्फका निर्देशक मनोज पण्डितले सञ्चारमन्त्री जगदीश खरेलतर्फ हेर्दै भने - हामी फिल्मलाई सांस्कृतिक उत्पादन मान्छौं । त्यसैले फिल्मलाई सञ्चार नभई संस्कृति मन्त्रालयअन्तर्गत राखिदिनुस् । झट्ट हेर्दा कुनै 'कोर्टरुम ड्रामा'मा वकिलले प्रधानन्यायधिसतर्फ हेर्दै आफ्नो पक्षको अन्तिम भनाईं राखेको जस्तो देखिने यो दृश्य कुनै फिल्मको भन्दा कम थिएन ।  पण्डितको कुरा सुनिसकेपछि गम्भिर भएर सरोकारवालालाई सुनिरहेका मन्त्री खरेलले फिल्ममा प्रविधि जोडिने हुँदा यसलाई सञ्चारमै राख्नुपर्ने अडान लिए । 

समिति, सरकार र सरोकारवालाबीचको बैठकमा मात्रै होइन यसअघिका दुई बैठकमा समेत फिल्मलाई कुन मन्त्रालयमा राख्ने ? भन्ने खालका छलफल भएका छन् । सरकार र सांसदबीच भएको सैद्धान्तिक छलफलमा तारामान स्वाँरले यो विषय उठाएका थिए । 'सैद्धान्तिक रुपले नै उठाउनुपर्ने अर्को विषय हो- यो फिल्म क्षेत्रलाई कुन मन्त्रालय अन्तर्गत राख्ने ? विश्वको अभ्यास हेर्दा कतै सञ्चार मन्त्रालयअन्तर्गत राखेको देखिन्छ त कतै पर्यटन संस्कृतितर्फ राखेको । हाम्रो देशमा बहसचाहिँ के छ भने यसलाई पर्यटन तथा संस्कृति मन्त्रालयअन्तर्गत राख्नुपर्ने भन्ने छ । हामी यसमै प्रस्ट हुनुपर्छ,' स्वाँरले भनेका थिए ।

त्यो छलफलमा पनि खरेलले सञ्चारभित्रै फिल्मलाई गाभ्नुपर्ने बताएका थिए ।  श्रीकृष्णप्रसाद अधिकारीलगायतका केही सांसदले पनि त्यतिबेला यो विषय छोए । त्रीपक्षीय बैठकपछि समिति दफावार छलफलको लागि तयार देखिन्छ । फिल्मसँग सम्बन्धित ११ संस्थाले समिति र सञ्चार मन्त्रालयमा पेश गरेको ९६ बुँदाको सुझावमै पनि फिल्मलाई सांस्कृतिक पक्षबाट व्याख्या गरिएको पाइन्छ । 

आखिर विधेयकका महत्त्वपूर्ण मुद्दामध्येमा फिल्मकर्मीले मन्त्रालयको विषयलाई नै किन बहसको केन्द्रमा राखिरहेका छन् त ? किन फिल्मकर्मी फिल्मलाई संस्कृति मन्त्रालय अन्तर्गत नै राख्न चाहन्छन् । अनि, सञ्चारमन्त्रीले सञ्चारतिरै राख्नुपर्ने अडान किन लिइरहेका छन् ? के फिल्म क्षेत्रको विकासमा यो क्षेत्र कुन मन्त्रालयअन्तर्गत छ भन्ने विषयले अर्थ राख्छ र ? फिल्मकर्मी किन सञ्चारअन्तर्गत राखिएको फिल्मलाई उखेलेर संस्कृतिमा गाभ्न चाहन्छन् त ? 

Film: Should it be placed in the Ministry of Communications or the Ministry of Culture?‍सरकारले फिल्म क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि आफूहरुले फिल्मलाई संस्कृतितर्फ लैजाउनुपर्ने माग राख्दै आएको बताउँछन्, निर्देशक पण्डित । 'फिल्मलाई राज्यले कसरी हेर्ने ? भन्ने दृष्टिकोण परिवर्तन होस् भन्ने हो । फिल्म सांस्कृतिक प्रोडक्ट नै हो । यो त संस्कृति मन्त्रालयअन्तर्गत नै हुनुपर्छ भनेर म लामो लडाइँ लड्नेवाला छु, ' पण्डितले भने, 'सञ्चार त सत्ताको हतियार हो । तर संस्कृति त जनताको हो ।'

खासमा फिल्म क्षेत्रमै पनि अहिले यो क्षेत्र कुन मन्त्रालय नजिक छ भन्ने चर्चा चल्न थालेको छ । विधेयकमाथि दिइएको सुझावले फिल्मलाई सांस्कृतिक उत्पादनका रुपमा विकास गर्दे जानेमा पण्डित ढुक्क देखिन्छन् । संस्कृति मन्त्रालयमा फिल्मलाई लगिहाले फिल्म बुझ्ने नै संस्कृतिमन्त्री हुनुपर्नेमा मनोजको भनाइ छ । ‘त्यस्तो मन्त्रीले फिल्मलाई हस्तक्षेप गर्नुपर्ने प्रशासनिक क्षेत्रका रुपमा भन्दा पनि सिर्जनाको रुपमा हेर्नेछ । अहिले त पत्रकारिताको एक भागकै रुपमा फिल्मलाई हेरिएको छ । फिल्मले त पत्रकारिताले झैं समाचार, सूचना दिँदैन,’ पण्डित भन्छन्, ‘यो त अनुभूति दिने माध्यम हो । त्यसैले यो सांस्कृतिक उत्पादन हो । सञ्चारले अहिलेसम्म फिल्मलाई प्रसारणका रुपमा हेर्दै आएको छ ।’ 

अहिले त पत्रकारिताको एक भागकै रुपमा फिल्मलाई हेरिएको छ । फिल्मले त पत्रकारिताले झैं समाचार, सूचना दिँदैन- मनोज पण्डित, निर्देेशकविधेयकमाथि प्रश्न उठाउँदै आइरहेका निर्देशक नवीन सुब्बा फिल्म अभिव्यक्तिको माध्यम भएकाले यसलाई अन्य संगीत, साहित्यजसरी नै व्यवहार गर्नुपर्ने बताउँछन् । ‘नेपालका जति पनि अभिव्यक्तिका माध्यम छन्, जस्तै साहित्य, संगीत र चित्रकला । ती सबै संस्कृति अन्तगर्त नै छन् । तर, हाम्रो बुझाई अझै पनि फिल्म सञ्चार हो भन्नेमा छ । फिल्म सञ्चार होइन अभिव्यक्ति नै हो,’ सुब्बाले भने, ‘अर्को त फिल्म त बनिसकेपछि सांस्कृतिक धरोहरको रुपमा रहन्छ नि । आमा, माइतिघर, सिन्दूर भन्ने फिल्म त सांस्कृतिक सम्पदा नै हो । मन्दिरजसरी नै यो पछिसम्म रहिरहन्छ । त्यसैले फिल्म संस्कृतिमा जानुपर्छ ।’ 

यथास्थितिवादमै रमाउँदा फिल्मलाई पहिल्यैदेखि राखिएको मन्त्रालयअन्तर्गत नै हेर्ने बानी परेको निर्देशक सुब्बा सुनाउँछन् । उनी फिल्मलाई प्रविधिका रुपमा व्याख्या गर्दैनन् । कारण फिल्म प्रविधि होइन, यसलाई प्रयोग गर्दै भनिने अभिव्यक्ति हो । सुब्बा थप्छन्, ‘जस्तै एआई आउँछ । हो, एआई प्रविधि हो । तर, फिल्मले त्यो एआईलाई प्रयोग गरेर अभिव्यक्ति दिने हो । यसका लागि प्रविधि बन्ने होइन कि यसलाई प्रयोग मात्रै गर्ने हो ।’ 

फिल्मलाई सञ्चारका रुपमा हर्दा राज्यले त्यसमाथि सेन्सर गर्न खोज्ने नवीन सुनाउँछन् । त्यसैले पनि अहिले फिल्ममाथि सेन्सर बोर्डले कैंची चलाउँदै आएको छ । सेन्सर बोर्ड मात्रै होइन फिल्मका विभिन्न चरणमा हुने सेन्सर यही मानसिकता, यही अभ्यासले हुँदै आएको हो । संस्कृतिका अन्य विधामाथि सेन्सर नहुने हुँदा फिल्मलाई यही मन्त्रालयमै सार्नुपर्ने सुब्बाको तर्क छ । ‘जस्तै गीतको सेन्सर हुँदैन । साहित्यको सेन्सर हुँदैन । त्यसैले फिल्मलाई संस्कृतिमा लैजाउनुपर्छ ।’ 

निर्देशक सुब्बाको विश्वको अभ्यास हेर्दा पनि फिल्मलाई संस्कृतितर्फ राखेहरुको फिल्म क्षेत्रको विकास अन्यको दाँजोमा अगाडि रहेको धारणा राख्छन् । जस्तै, अहिले संगीत र फिल्मलाई सौम्य शक्तिका रुपमा विकास गरिसकेको कोरिया हेरौं । कोरियाले फिल्मलाई संस्कृति, र पर्यटन मन्त्रालयअन्तर्गत नै राखेका छन् । जापानै पनि फिल्मलाई यही मन्त्रालयअन्तर्गत राखिएको छ । अमेरिकामै पनि फिल्ममाथि सेन्सर हुँदैन । अधिकांश युरोपियन देशहरुमा पनि फिल्मलाई संस्कृतिकै रुपमा हेरिन्छ । न कुनै सूचनाको रुपमा ।

तर, बेलायतदेखि त्यसको उपनिवेश रहेको छिमेकी राष्ट्र भारतमै पनि फिल्मलाई सञ्चारमन्त्रालयमा राखेको छ । अन्य देशहरुको तुलनामा फिल्म निर्माण, यसको प्रभाव र विश्व बजारमाथिको पकडमा बेलायत र भारतीय फिल्मको अवस्था कस्तो छ ? त्यसैले पनि फिल्मलाई राखिने मन्त्रालयले यसको विकासमा खास अर्थ राख्ने सुब्बाको तर्क छ ।  ‘जहाँ-जहाँ फिल्मलाई संस्कृति अन्तर्गत राखिएको छ त्यहाँ उत्कृष्ट फिल्महरु बनेका छन् । दोस्रो विश्वयुद्धतिर फिल्मलाई सञ्चारका रुपमा उपयोग गर्दा बेलायततिर फिल्मलाई यो अन्तर्गत राख्दै आएको अभ्यास भेटिन्छ,’ सुब्बा भन्छन्, ‘तर फिल्म सञ्चार होइन, यसले उद्योग, पर्यटन, व्यापार थुप्रै कुरा छुन्छ । तर, त्यसको मुख्य केन्द्रमा अभिव्यक्ति हुन्छ ।’ 

विधायन समितिमा सरोकारवालाका रुपमा पुगेका निर्देशक दीपेन्द्र गौचन फिल्मलाई जुन मन्त्रालय अन्तर्गत राखिए पनि यसको विकासका लागि चलचित्र विकास बोर्डलाई स्वायत्त बनाइदिनुपर्ने विचार राख्छन् । गौचनलाई लाग्छ, फिल्म क्षेत्रको विकास गर्न चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म यसलाई जुनसुकै मन्त्रालयमा अन्तर्गत राखिए पनि फरक पर्दैन । ‘मन्त्रालय जुनसुकैमा भए पनि विकास बोर्ड स्वायत्त भएर काम गर्न सक्नु पर्‍यो । फिल्म क्षेत्रको विकासका लागि काम गर्न बोर्ड स्वतन्त्र भयो भने यो जुनसुकै मन्त्रालयमा राखे पनि फिल्मको विकास हुने थियो,’गौचनले भने, ‘प्रमुख त बोर्डले फिल्म क्षेत्रको विकास गर्नुपर्ने कामहरु गर्नुपर्‍यो । त्यसो भयो भने यसलाई कहाँ राख्ने भन्ने कुराले फरक पार्दैन ।’ 

फिल्मकर्मी शान्ता नेपाली फिल्मको बहसलाई सञ्चार र संस्कृतिमा मै सिमित गर्नुको साटो फिल्मको अन्य मिहिन मुद्दातर्फ लैजानुपर्ने बताउँछिन्  । फिल्मलाई जुनसुकै मन्त्रालय अन्तर्गत राखिए पनि बोर्डलाई स्वायत्त गरिदिए अधिकांश समस्या हल हुने उनको धारण छ । ‘पहिला त बोर्ड स्वायत्त हुनुपर्‍यो । जुन मन्त्रालयमा राखे पनि फिल्मकर्मीलाई सरकारले संरक्षण गर्नुपर्‍यो, फिल्म निर्माणमा सहयोग गर्नु पर्‍यो । त्यसमा बोर्डले भूमिका खेल्नुपर्‍यो,’शान्ता भन्छिन्, ‘बोर्डले स्वतन्त्र भएर काम गर्ने वातावरण हुनुपर्‍यो ।’

सम्बन्धित समाचार 

चलचित्र विधेयक : विधायन व्यवस्थापन समितिबाट फिर्ता लैजाने कि, संशोधन गरेर अघि बढाउने ?

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully