झण्डै ४ दशक दुर्गमका बालबालिकालाई आकाश चुम्ने लक्ष्य लिन सिकाउने ‘हेडसर’ उपरकोटीलाई हेलिकप्टरमा चढाएर विद्यार्थी र अभिभावकले बिदाईको हात हल्लाए ।
What you should know
गोरखा — धार्चे–२ रुन्चेत स्थित गण्डकी माविको प्राङ्गण मंगलबार सदाको दिन भन्दा भिन्न थियो । विद्यार्थी, अभिभावक हातमा खादा माला लिएर ३७ वर्षसम्म कखरा सिकाउने ‘हेडसर’ इन्द्र बहादुर उपरकोटीलाई बिदाई गर्न लामबद्ध थिए ।
सेवा निवृत्त बनेका उपरकोटीको बिदाई भिन्न पनि थियो । झण्डै ४ दशक दुर्गमका बालबालिकालाई आकाश चुम्ने लक्ष्य लिन सिकाउने ‘हेडसर’ उपरकोटीलाई हेलिकप्टरमा चढाएर विद्यार्थी र अभिभावकले बिदाईको हात हल्लाए । २०४५ फागुन १९ गते स्थापना भएको विद्यालयलाई प्रावि, निमावि हुँदै ३ वर्षअघि माविसम्म बनाउन उपरकोटी सफल बनेका थिए ।
३७ वर्ष लगातार प्रध्यानाध्यापक बनेका उपरकोटीको सम्मान स्वरुप हेलिकप्टर उडाएर बिदाई गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप गुरुङले बताए । ‘हाम्रो तीन पुस्ता उहाँले पढाउनुभयो,’ उनले भने, ‘भूतपूर्व विद्यार्थी र अभिभावले उहाँको बिदाई कसरी गर्ने भन्ने सल्लाह गरेरर हेलिकप्टरको व्यवस्थापन मिलाएका हौं ।’
हेलिकप्टरको खर्च भूपू विद्यार्थी र अभिभावकले स्वस्फुर्त: रुपमा संकलन गरेको उनले सुनाए । हेलिकप्टरका लागि मात्र दुई लाख ५ हजार रुपैयाँ खर्च लागेको स्थानीयले बताए ।
‘विदेशमा रहेका पूर्व विद्यार्थीहरुले दुई हजार, पाँच हजार जति सकिन्छ उति संकलन गरेर व्यवस्थापन मिलाएका थियौं,’ उनले भने, ‘हिजो मंगलबार हेलिकप्टरबाट काठमाडौंसम्म र आज चितवन घरसम्म पुग्ने गरी व्यवस्थापन मिलाएका छौं ।’ गोरखा नरपालिका घर भए पनि उपरकोटी केही समय देखि चितवको भरतपुर बस्दै आएका छन् ।
उपरकोटीले गण्डकी माविमा अंग्रेजी र गणित विषय अध्यापन गराउँदै आएका थिए । गण्डकी माविमा रुन्चेतसहित धार्चे–१ ह्युल्चोक, धार्चे–३ उहिया, दुङ्ला, खोर्लावेसीदेखिका विद्यार्थीहरु अध्ययनका लागि आउने गर्छन् ।
